मुलुक आर्थिक मन्दीमा गएको कुरा सरकारले लुकायो : पूर्वअर्थमन्त्री पौडेल

मुलुक आर्थिक मन्दीमा गएको कुरा सरकारले लुकायो : पूर्वअर्थमन्त्री पौडेल


बैंकिङ्ग समाचार,काठमाडौं ।
नेकपा एमालेका सांसद् तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार अर्थतन्त्रका चुनौतिप्रति बेखवर रहेको बताएका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले पेश गरेको विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले देश मन्दीमा गइरहेको बेला सरकारले देशको अर्थतन्त्र मन्दीमा गएको कुरालाई नस्वीकारेको बताएका हुन् ।

पौडेलले भने,‘सरकार अर्थतन्त्रका चुनौतिप्रति बेखबर भएको मलाई महशुस भयो । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्याकंमा नेपालको अर्थतन्त्रको अवस्था मन्दीको छ भनेर औंल्याएको छ । देशको अर्थतन्त्र मन्दीमा गएको कुरालाई स्वीकार गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक छ ।’

नेपाली अर्थतन्त्र मन्दीमा भएको तथ्यलाई स्वीकार गर्दै बजेट प्रस्तुत हुनुपर्ने बताए । पौडेलले भने,‘सत्यलाई जस्ताको त्यसतै प्रस्तुत गर्नुपर्छ । प्रस्तुत सिद्धान्त र प्राथमिकता चुकेको छ । अर्थतन्त्रका परिसूचकहरु एकदमै कमजोर छन् । यसअघिको बजेटमा आर्थिक वृद्धिदर ८ प्रतिशत भनिएको थियो । तर, राष्ट्रिय तथ्याकं कार्यालयका अनुसार अहिले नेपालको आर्थिक वृद्धिदर २.१६ मा खुम्चिने प्रक्षेपण गरेको छ । ’

चालु आर्थिक वर्षको राजस्व परिचालन एकदमै कमजोर रहेको बताए । पौडेलले भने, निजी क्षेत्र अत्यन्तै त्रासमा बाँचिरहेको छ । लघुवित्त र सहकारी क्षेत्रको अवस्था अत्यन्तै विकराल छ । मुलुक आर्थिक मन्दीमा आएको छ । यदि हामीले सार्थक पहल लिन सकेनौं भने आर्थिक रुपमा नेपाल ठूलै जोखिममा पर्नेछौं । आर्थिक गतिविधि शिथलतामा आएको, सरकारको वित्त संकलनमा चाँप परेको जस्ता सामान्य पदावली प्रयोग गरिएको छ ।’ उनले नेपाली अर्थतन्त्रलाई कसले त्रासदीपूर्ण वातावरणमा पुर्‍यायो यस विषयमा छलफल जरुरी रहेको बताए।