नमस्ते पेको सिइओमा पोखरेल

नमस्ते पेको सिइओमा पोखरेल


बैकिङ्ग समाचार, काठमाडौं ।

नमस्ते पेको प्रमुख कार्यकारी अधिकृतमा प्रवीणराज पोखरेल नियुक्त भएका छन् । शुक्रबार नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको सञ्चालक समितिबाट प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति पाएका पोखरेलले आइतबारबाट कार्यभार सम्हालेका छन् । 

कार्यभार सम्हाल्दै पोखरेलले बैंकमा खाता भएका र डिजिटल शिक्षा पाएका मानिसहरूलाई मात्र नभई बैंकमा खाता नै नभएकालाई पनि आधुनिक सेवाहरू उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने कार्यमा कम्पनीलाई अघि बढाउने बताए । कम्पनीका सक्षम जनशक्तिको टोलीसँग हातमालो गरेर अघि बढ्ने उनको भनाइ छ । नेपाल डिजिटल पेमेन्टका पूर्वप्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले विस्तृत अनुसन्धान, कडा छनोट र भर्ती प्रक्रियापछि, बोर्डले संगठनको नेतृत्व लिनका लागि उत्कृष्ट व्यक्ति भेट्टाएको बताए ।

 नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेल विभिन्न बैंकहरू, वित्तीय संस्था, भुक्तानी प्रणाली र फिनटेक कम्पनीहरूमा २७ वर्षभन्दा बढीको अनुभव भएका व्यक्ति रहेको कम्पनीले जनाएको छ । यसअघि पोखरेलले एफवान सफ्ट इन्टरनेसनल र एमएन नेपाल लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिसकेको जनाइएको छ । साथै, उनले ग्लोबल आइएमई बैंक, नबिल बैंक, बैंक अफ काठमाडौं र हिमालयन बैंकमा वरिष्ठ व्यवस्थापन र मध्य व्यवस्थापन पदहरूमा काम गरिसकेको जनाइएको छ ।