विदेशमा गएका नेपालीले आवेदन भर्ने अन्तिम दिन आज, स्थानीयले भने वैशाख २२ गतेसम्म आवेदन दिन सक्ने

विदेशमा गएका नेपालीले आवेदन भर्ने अन्तिम दिन आज, स्थानीयले भने वैशाख २२ गतेसम्म आवेदन दिन सक्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।

रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले चैत २३ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित स्थानीयले भने आगामी वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको १० प्रतिशतले हुने २ करोड ८० लाख बराबरको २ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो ।

 त्यस्तै दोस्रो चरणमा जारी हुने सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने  ५६ लाख बराबरको ५६ हजार कित्ता आईपीओ कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको हो । आयोजना प्रभावित स्थानीयको हकमा खोटाङ जिल्ला केपीलासगडी गाउँपालिका (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाउँ विकास समिति) का सम्पूणर् वडाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार ८०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, सेञ्चुरी कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूणर् सी(आस्बा सदस्य बैंक तथा वित्तीय संस्था मेरो शेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले खोटाङ जिल्लामा ३ मेगावाट क्षमताको माथिल्लो रावा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त आयोजनाबाट २०७७ साल असोज १४ गतेदेखि व्यापारिक विद्युत् उत्पादन गर्दै आएको हो ।

उक्त आयोजनाको कुल लागत ६४ करोड ६५ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५५ लाख पैयाँ छ । यस आयोजनाको विद्युत उत्पादन अनुमति बहाल रहने अवधि २९ वर्ष ११ महीना बाँकी रहेको छ ।