ब्याजदर घटाउन लागिपरेका छौं: पवनकुमार गोल्यान

ब्याजदर घटाउन लागिपरेका छौं: पवनकुमार गोल्यान


बैंकिङ समाचार ,काठमाडौ ।

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले बैंकको ब्याजदर घटाउन  आफुहरु लागिपरेको बताएका छन् ।
मंगलबार सिबिफिनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोल्यानले यस्तो बताएका हुन् । 

ब्याजदर कम गर्न सकिएन भने बैंकहरुले ग्राहक नै नपाउने स्थिति बन्ने चिन्ता समेत उनले व्यक्त गरेका छन्।उनले भने, ‘यदि ग्राहक नै भएनन् भने बैंकको के काम । बैंक पनि बाच्न सक्दैनन् ,त्यसैले ब्याजदर घटाउन हामी लागिपरेका छौँ ।’ 

गोल्यानले नेपालको कुनैपनि क्षेत्रले ११ प्रतिशत बैंकको ब्याज तिर्न नसक्ने भन्दै बैंकको ब्याज एकल अंकमा ल्याउन आवश्यक रहेको बताए । बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्ने बताएका छन् । 
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा दुवै जनाले ब्याजदर घटाउने विषयमा समर्थन जनाएको अध्यक्ष गोल्यानले  बताएका छन् । गभर्नर अधिकारीले बैठकमा तीन महिनाभित्र बैंकको ब्याज एकल अंकमा आउने जानकारी दिएको गोल्यानले बताए । 

त्यस्तै,उनले केही फटाहाका कारण बैंकका सोझासाझा ग्राहकहरूलाई समेत ऋण तिर्नु पर्दैन भन्ने भ्रम परेको गुनासो गरेका छन् । 
उनले बजारमा तरलताको मात्रा केही बढे सबै क्षेत्रमा सहजता सिर्जना हुने बताउँदै उनले अर्थ सचिव, प्रधानमन्त्री र अर्थमन्त्रीले संयुक्तरुपमा निर्माण व्यवसायीहरूको बाँकी रहेको भुक्तानी चैत्र मसान्तभित्रमा गरिसक्ने प्रतिवद्धता गरेबाट आफूहरू आशावादी बनेको समेत जानकारी दिएका छन्  । 

अध्यक्ष गोल्यानले स्थानीय कच्चा पदार्थबाट उत्पादन हुने उद्योगहरूलाई प्रवर्द्धन गर्न र आयात प्रतिस्थापन गर्न बैंकहरुले कम ब्याजदरमा ऋण प्रवाह गर्नु पर्ने पनि बताएका छन्। ब्याजदर कम गर्न गभर्नरले हिच्किचाउनु स्वभाविक भएको भन्दै उनले चर्को ब्याजदरले ठूला, मझौला र साना सबै खालका उद्योगहरू समस्यामा परेको तथ्यलाई पनि ध्यानमा राख्नु पर्ने बताए । 

समग्र मुलुकको अर्थतन्त्र ठिक नबन्ने हो भने बैंक वित्तीय संस्थाको समस्या समाधान नहुने बताउँदै उनले बैंक सञ्चालकहरूलाई धेरै नाफा नचाहिएको पनि जिकिर गरेका छन् ।