मिटरब्याजी पीडितको समस्या तत्काल समाधान गरियोस्ः प्रदीप पौडेल

मिटरब्याजी पीडितको समस्या तत्काल समाधान गरियोस्ः प्रदीप पौडेल


बैंकिङ समाचार,काठमाडौं ।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याजी पीडितहरुको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले राज्यले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने, न्याय माग्न पटक पटक काठमाडौं आउनुपर्ने बाध्यता रहेको भन्दै राज्यले नै छलकपट गरेको बताएका छन्  ।

बुधबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पौडेलले ११ दिन हिँडेर काठमाडौं आएका पीडितहरुको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । पीडितहरु न्याय माग्न काठमाडौं आउने र सम्झौता हुने गरेको भए पनि माग सम्बोधन नभएको उनले भनेका छन् । मिटरब्याज आर्थिक मात्र नभइ सामाजिक अपराध भएको भन्दै न्यायपूर्ण समाजमा स्वीकार हुन नसक्ने उनको भनाई छ ।

सिरहा र महोत्तरीका मिटरब्याजी पीडितहरु ११ दिन पैदल हिँडेर आन्दोलनका लागि काठमाडौं आएका छन् । रौतहटबाट अर्को समूह पनि काठमाडौं आउने तयारीमा रहेको आफूले जानकारी पाएको सांसद पौडेलले बताएका छन् ।
‘नागरिक सधैं दुखमा पर्ने, आफ्नो जायज माग राख्न पनि काठमाडौं धाउनुपर्ने, राज्य टुलुटुलु हेरेर बस्ने, काठमाडौं आएपछि सम्झौता गर्ने तर कार्यान्वयन नहुने फेरि न्याय माग्दै पटक पटक धाइरहनुपर्ने’, पौडेलले भने, ‘कुनै जाली छट्टुले तानाबाना गरेको छलकपटक गरेको चक्रजस्तोमा नागरिक कतिन्जेल परिरहने ?’

यसअघि नवलपरासीका मिटरब्याजी पीडितले पटक पटक ६१ दिन धर्नामा बसेपछि सरकारले बनाएको कार्यदलले दिएको सुझाव पनि कार्यान्वयन नभएको सांसद पौडेलले बताएका छन् । उक्त सुझाव कार्यदलले मिटरब्याजीलाई गम्भीर आर्थिक अपराधको रुपमा स्वीकार गरे पनि त्यस अनुसार कानुन नबनाउँदा साहुकारहरुले किसानको जग्गा धमाधम हडपिरहेको बताएका छन् ।

‘जुनसुकै तहमा बिक्री गरेको भए पनि जमिनमाथि किसानको स्वामित्व कायम गर्ने, फर्जी तमसुकको आधारमा हडपिएको जमिन फिर्ता ल्याउने लगायत किसानसँग ५ बुँदे सहमति भएको थियो, अहिले कानुनको मस्यौदा गृहमा अड्किएको छ भन्ने सुन्नमा आएको छ’, उनले भने, ‘कानुनको मस्यौदा महिनौं थन्किदा साहु महाजनले छलकपट गरेर किसानको जग्गा लिलाम गरिरहेका छन् । सरकार आफैंले सुकुम्बासी उत्पादन गरिरहेको छ ।’

विपन्न नागरिकको आर्थिक अभाव, कानुनी ज्ञान र पहुँचविहीनताको दुरुपयोग गरेर ३ गुणा बढीको तमसुक गराएर किसानलाई भूमिबाट बेदखल गरिरहेको भन्दै पौडेलले न्यायपूर्ण समाजमा यो स्वीकार्य हुन नसक्ने बताएका छन् ।