प्रभु र महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

प्रभु र महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक


बैंकिङ समाचार, काठमाडौं । 
प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले संयुक्त रूपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बिमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रूपमा प्रकाशित क्यालेन्डर सार्वजनिक गरेका हुन् ।  

नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनीहरूका लागि ०७९ चैतभित्र पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउन निर्देशन दिएपछि प्रभु र महालक्ष्मी लाइफ मर्जरका लागि सहमत भएका थिए । ०७९ असार ३० गते मर्जर सम्झौता गरेका दुवै कम्पनीको भारतीय बिमांकीबाट मूल्यांकन प्रतिवेदन आउन ढिलो भएपछि एकीकृत कारोबार केही ढिलो हुन गएको जनाइएको छ ।  

मर्जरका लागि आन्तरिक गृहकार्य अन्तिम चरणमा रहेका दुवै कम्पनीको ०८० सालको क्यालेन्डर संयुक्त रूपमा निकाली केही ढिलो भए पनि मर्जर सम्पन्न हुने विश्वास दिलाउन चाहेको मर्जर समितिले जनाएको छ । क्यालेन्डर सार्वजनिक कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेशलाल कर्ण, महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं उपस्थित रहेको जनाइएको छ ।