मिटरब्याजी विरूद्ध संयुक्त रूपमा लडौंः मुख्यमन्त्री यादव

मिटरब्याजी विरूद्ध संयुक्त रूपमा लडौंः मुख्यमन्त्री यादव


बैंकिङ समाचार,काठमाडौं ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याजी पीडितका समस्या समाधानका लागि संयुक्त रूपमा लड्न आह्वान गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री यादवले आन्दोलन मधेशबाट उठेपनि देशकै समस्या भएको उल्लेख गरेका छन् । एकातिर बैंकले ऋण नदिने, दिएपनि चर्को ब्याज लगाउने अर्कोतिर साहुहरूको अत्याचार द्रव्य पिवाशी प्रवृत्ति देखिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

‘ठूलो वेदना बोकेर काठमाडौं पुग्नुभएका मिटरब्याज पीडित हाम्रा दाजुभाइ दिदीबहिनीहरू, तपाईंको हरेक पाइलामा हाम्रो साथ छ, तपाईंको आँसुको हरेक थोपामा हाम्रो पनि सरोकार र दायित्व छ। हामी जिम्मेवारीबाट भाग्न सक्दैनौं, भाग्दैनौं पनि तथापि यो प्रदेशको मात्र समस्या होइन्,’ विज्ञप्तिमा भनिएको छ ।

मुख्यमन्त्री यादवले केन्द्र सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन गरेको पहलको स्वागत गरेको बताएका छन् । उनले विदेश जान वा अध्ययन गर्न वा अन्य भइपरी गर्जो टार्न ऋण खोज्ने नागरिकहरूलाई मिटरब्याजीहरूबाट बचाउँदै कसरी सहयोग र सहकार्य गर्न सकिन्छ भन्नेबारे गृहकार्य गरी ठोस नीति बनाउन जरूरी रहेको उल्लेख गरेका छन् ।

‘एकातिर बैंकले ऋण नदिन अनेक अड्चन खडा गर्ने, दिए पनि चर्को ब्याज लगाउने अर्कोतिर मजबुरीको फाइदा उठाई गाउँघरका कतिपय साहुकारहरूमा अत्याचार नै गर्ने द्रव्य पिचाशी प्रवृत्ति देखिएको छ। शोषणविरूद्ध केन्द्र, राष्ट्र बैंक तथा प्रदेश समेतले मिलेर संयुक्त रूपमा काम गर्न विशेष अधिकार सम्पन्न शक्तिशाली आयोग गठन गर्न जरूरी रहेको छ । जनताले न्याय मागिरहेका छन्, न्याय पाउनुपर्दछ। बैंकले बाटो खोल्नुपर्दछ । आम जनताले सहज र सुलभ रूपमा ऋण प्रवाह गर्नुपर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।