११ दिन हिडेर काठमाडौ आएका मिटरब्याज पिडितलाई महानगरपालिकाले छिर्न दिएन खुल्लामञ्च

११ दिन हिडेर काठमाडौ आएका मिटरब्याज पिडितलाई महानगरपालिकाले छिर्न दिएन खुल्लामञ्च


बैंकिङ समाचार,काठमाडौं । 
तराईबाट न्याय माग्दै हिडेरै काठमाडौँ आइपुगेका मिटरब्याज पिडितहरुलाई काठमाडौँ महानगरपालिकाले खुल्लामञ्च प्रवेशमा रोक लगाएको छ । तराईबाट हिडेरै हिजो आइतबार काठमाडौँ आईपुगेका उनीहरु आज मातातिर्थदेखि मार्च गर्दै खुल्लामञ्च पुगेका हुन् ।

मिटरब्याजी पिडितहरुले खुल्लामञ्च मार्च गर्ने र त्यही नै रात कटाउने योजना बनाएका छन् । तर काठमाडौँ महानगरले खुल्लामञ्चको मूल गेट नै बन्द गरेर उनीहरुलाई खुल्लामञ्चमा प्रवेश रोक लगाएका छ । यतिबेला पिडितहरु खुल्लामञ्च अगाडी नै नाराबाजी गरिरहेका छन् भने प्रहरीको बाक्लो उपस्थिति रहेको छ । खुल्लामञ्च भित्र जान नदिएसम्म खुल्लामञ्च बाहिर नै धर्ना दिने मिटरब्याज पिडितहरुले बताएका छन् ।

पीडितहरुलाई विभन्नि राजनीतिक दल र दलका संगठनले पनि साथ दिइरहेका छन् । केही दिन पीडित खुलामञ्चमा बस्ने र सरकारसँग निर्णायक वार्ता गरेर फर्किने बताइरहेका छन् ।

उनीहरुले काठमाडौँका मेयर बालेन्द्र साह मधेस मुलकै व्यक्ति भएर पनि मधेसीको भावना बुझ्न नसकेको भन्दै मेयर बालेन्द्र साहविरुद्ध नाराबाजी गरिरहेका छन् ।
उनीहरूले मिटर ब्याज लगाउने साहु महाजनलाई गिरफ्तार गर्नुपर्ने, बालेन्द्र साहले राजीनामा दिनुपर्ने, न्याय दिनुपर्ने माग गरेका छन् ।

मिटरब्याज विरुद्धको सङ्घर्ष समितिको नेतृत्वमा बर्दिबासबाट ११ दिन लगाएर सोमबार काठमाडौँ छिरेका हुन् । सरकारले वार्ताको लागि बोलाएको भए पनि कानून बनेर न्याय नपाएसम्म नफर्किने उनीहरुको अडान रहेको मिटरब्याज पिडित संघर्ष समितिका सदस्य कुमार बर्तौलाले बताएका छन् । 

आइतबार गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले पिडितहरुलाई भेटेरै वार्तामा आउन आग्रह गरेका थिए। यद्यपि पीडितहरुले भने वार्ताभन्दा पनि कानून बनाएर न्याय नदिएसम्म आन्दोलन जारी राख्ने जवाफ दिएका छन् ।

यसअघि पनि गृह मन्त्रालयले उनीहरुलाई मकवानपुरबाटै फर्काउने कोशिस गरेको थियो । तर विगतमा पनि न्याय दिने भन्दै निर्णय भएको तर वर्ष वित्दासम्म अवस्था उस्तै रहेपछि काठमाडौँसम्म नै आएर पुनः आन्दोलन गर्न बाध्य भएको बर्तौलाले बताएका छन् ।