खेलकुद  राष्ट्रिय अर्थतन्त्रको  बलियो आधार होः प्रधानमन्त्री  

खेलकुद  राष्ट्रिय अर्थतन्त्रको  बलियो आधार होः प्रधानमन्त्री  


बैंकिङ्ग समाचार, काठमाडौं ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद राष्ट्रको गौरव र राष्ट्रिय अर्थतन्त्रको  बलियो आधारस्तम्भ भएको बताएका छन् । काठमाडौँको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स सङ्घको आयोजनामा आयोजित १६औँ एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा यस्तो बताएका हुन् ।  आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ ।

उनले खेलको महत्वलाई ठीक ढङ्गले बुझ्न सक्नेले मात्रै  राष्ट्रको सही नेतृत्व गर्न सक्ने तथा जनआकाङ्क्षा सम्बोधन गर्न सक्ने उल्लेख गरे । खेलक्षेत्र विविधतामा एकता, सुशासन, दिगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकामा हामी सबैले गौरव गर्नैपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रधानमन्त्रीले अगाडि भने, “खेल कूटनीतिमार्फत ठूला–ठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएको, ठूल्ठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका र आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनःमिलनका आधार खडा भएको छ ।” उनले खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको समेत स्पष्ट पारे । 

कुनै समय खेलकुदलाई शारीरिक र मानसिक स्फूर्तिको माध्यमका रूपमा मात्र लिइने गरेको भए पनि अहिले समय फेरिएको भन्दै प्रधानमन्त्री दाहालले आजको युगमा खेलकुद राष्ट्रको गौरव बढाउने माध्यमका रूपमा समेत विकास भएको बताए । खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधारका रूपमा चित्रण गर्दै प्रधानमन्त्रीले सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न तथा अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।  

प्रधानमन्त्री प्रचण्डले भो, “खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ । साथै एथलेटिक्सको विकासका निम्तिसमेत राज्यले उचित ध्यान दिनेछ ।”
प्रधानमन्त्रीले दुई दशकभन्दा लामो समयपछि नेपाललाई एसियन क्रस कन्ट्री च्याम्पियनसीपको आयोजनाको अवसर दिने एसियन एथलेटिक्स एसोसिएसन परिवारलाई सरकारको तर्फबाट धन्यवाद दिए । उनले आगामी दिनमा समेत नेपाल सो संस्थाको उच्च प्राथमिकतामा पर्ने  विश्वाससमेत व्यक्त गरे । 

प्रतियोगितालाई शानदाररूपमा सफल पार्न भूमिका खेल्ने सरकारी र गैरसरकारी क्षेत्रका सबै संस्था र प्रतिनिधिप्रति प्रधानमन्त्रीले  आभार प्रकट गरे । च्याम्पियनसीपमा भाग लिने नेपालसहित ११ देशका खेलाडीमा प्रतियोगितामा राम्रो प्रस्तुतिको अपेक्षासहित उनले शुभकामना व्यक्त गरे ।