कर्मचारीलाई कालोमोसो दल्नु अमानवीय, अराजकताको पराकाष्ठा: अध्यक्ष लघुवित्त बैंकर्स संघ

कर्मचारीलाई कालोमोसो दल्नु अमानवीय, अराजकताको पराकाष्ठा: अध्यक्ष लघुवित्त बैंकर्स संघ


बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले कर्मचारीलाई कालो मोसो दल्नु अमानवीय र अराजकताकाको पराकाष्ठ भएको बताएका छन् ।

बुधबार  जाजरकोटमा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमोसो दल्ने र रकम समेत लुटेर भाग्ग्ने कार्यको बैंकर्स संघले निन्दा गरेको छ ।

लघुवित्त वित्तीय संस्थाहरुले ग्रामीण क्षेत्रका विपन्न महिलाहरुलाई विगत ३० बर्षदेखी विनाधितो कर्जा उपलब्ध गराएर जीवनस्तर माथि उकास्न निरन्तर लागिरहेको र यस क्षेत्रमाथि भएको उक्त कार्य अमानवीय भएको संघले  बुधबार  विज्ञप्ति नै निकाले छ । 

‘जाजरकोट जस्तो अति विकट क्षेत्रमा गरिबी न्यूनीकरण र महिला शक्तिकरणका लागि अहोरात्र खटिने लघुवित्तका कर्मचारी माथि भएको यो कारवाही अमानवीय र अराजकताको पराकाष्ठा हो । यसको जति नै निन्दा गरे पनि कमै हुन्छ नै, यसले राज्यको सुरक्षा प्रणालीमा पनि प्रश्न उठाएको छ’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संघले लघुवित्त तथा अन्य बैंक वित्तीय संस्थाका कर्मचारीहरुलाई यो विषम परिस्थितीमा सजग, सचेत र संयमतापूर्वक आफ्ना ग्राहक सदस्य, अभिभावक र स्थानीय निकायसँग समन्वय गरी कार्य गर्न पनि अपिल समेत गरेको छ ।
संघका अध्यक्ष प्रकाश राज शर्माले देशमा अराजकताको अवस्था सिर्जना भएको भन्दै यस्तो परिस्थतिमा कत्ति पनि विचलित नभई आफ्नो सुरक्षाको ख्याल गर्न पनि लघुवित्तकर्मीहरुलाई अनुरोध गरेको छ ।