काठमाडौं – देशमा सञ्चालनमा रहेका लघुवित्त र सहकारी संकटबाट उन्मुक्ती नपाउँदै विकास बैंकमा समस्या देखापर्न थालेको छ । यतिबेला देशभरका सहकारीमा समस्या आउँदा लाखौं सर्वसाधारणको बचत जोखिममा छ । झण्डै ७ खर्ब रुपैयाँ हाराहारी रकमको हिसाबकिताब मिल्न सकेको छैन । यही समयमा देशभरका लघुवित्तमा समेत संकट कायम छ ।
सर्वसाधारणको घरदैलोसम्म पुग्ने भन्दै स्थापित सहकारी र लघुवित्तमाथि आइपरेको संकट नटर्दै विकास बैंकमा यस्तै प्रकृतिको समस्या देखापर्न थालेको हो । तर, सहकारी केन्द्रीय बैंकको नियमन बाहिर रहँदा खुलमखुला नियम मिच्ने मौका पाएका थिए । यता लघुवित्तहरु भने राष्ट्र बैंकको नियमनमा रहेपनि ऋणीले ऋण नतिरिदिँदा समस्या जटिल बन्दै गइरहेको स्थिती छ ।
यही कठिन समयमा नेपाल राष्ट्र बैंकको पुष १० गते बसेको सञ्चालक समिति बैठकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गर्ने निर्णय गर्यो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको केन्द्रीय बैंकले बताएको हो ।
राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, कमजोर संस्थागत सुशासन, आर्थिक हिनामिनाको आशङ्का, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको लगायतका कारण देखाउँदै कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको जनाएको छ । ‘निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ्ग प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकाले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी यस बैंकको नियन्त्रणमा लिएको हो,’ केन्द्रीय बैंकले प्रेस विज्ञप्तीमा भनेको छ ।
राष्ट्र बैंकले संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको छ । सो समूहमा उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र किशोर कुशवाहालाई सदस्य तोकेको छ । राष्ट्र बैंकले केही समयअघि बैंकलाई न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४० प्रतिशतभन्दा बढी भएको भन्दै शीघ्र सुधारात्मक कारबाही गरेको थियो । कारबाही गर्दा पनि बैंकको स्थिती खस्किँदै गएसँगै केन्द्रीय बैंकले समस्याग्रस्त संस्था घोषणा गरेको हो ।
बोर्डले रोक्यो शेयर कारोबार
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेयता नेपाल धितोपत्र बोर्डले बैंकको शेयर कारोबार रोक्का गरेको छ । बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबारदेखि कम्पनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का भएको जनाएको हो । बैंकको शेयरमूल्य प्रतिकित्ता ८१० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
कर्णालीको चालु आर्थिक वर्ष २०८१/८२ को असोजसम्म बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ करोड ८ लाख ३५ हजार रुपैयाँ रहेको छ । यता बैंकको सञ्चित नाफा भने २० करोड ३४ लाख २९ हजार रुपैयाँ ऋणात्मक छ । बैंकले असोजसम्म ५ अर्ब २१ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ कर्जा लगानी गरेको तथ्यांकले देखाउँछ ।
अब के हुन्छ ?
केन्द्रीय बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेसँगै यतिबेला बैंकिङ्ग क्षेत्रले सबैको ध्यान खिचेको छ । केन्द्रीय बैंकले अर्को व्यवस्था नभएसम्मका लागि बैंकको व्यवस्थापन नियन्त्रणमा लिएको जनाएको छ । कर्णाली डेभलपमेन्ट समस्याग्रस्त घोषणा गर्दा यता कतिपय बचतकर्तालाई आफ्नो बचत के होला भन्ने किसिमको त्रास उत्पन्न भएको छ ।
केन्द्रीय बैंकले उनीहरुको केही समय लागे तापनि सबै बचत फिर्ता हुने बताएको छ । प्रवक्ता रामु पौडेलले राष्ट्र बैंकका टोलि बैंक चलाउन गएको भन्दै बचतकर्ताहरुले अध्ययनमा सहयोग गरेमा छिटो पैसा फिर्ता हुने बताउँछन् । उनले बचतकर्ता आत्तिनुपर्ने अवस्था नभएको बताउँदै आत्तिनुपर्ने अवस्था नै भएको भए केन्द्रीय बैंकले बैंक चलाउनेसम्मको निर्णय नगर्ने पनि बताए ।
पौडेलले राष्ट्र बैंकको टोलिले पहिलो कामको रुपमा बचतकर्ताको पैसा फिर्ता गराउने बताए । त्यस्तै, टोलिले दोस्रो चरणमा सम्पत्तिको अवस्था, वित्तीय अवस्था, बैंकको आन्तरिक अवस्था अथवा बाह्य अवस्थाबारे बुझ्ने बताए । उनले भने, ‘बैंकको दायित्वका अवस्था र बैंकको विभिन्न सूचकहरुको अवस्था हेरेर संस्थालाई कसरी अगाडी बढाउँने भन्ने कुराको निर्णय हुन्छ ।’ कर्णाली डेभलपमेन्ट बैंकले अपराधिक घटना घटाएको कुरा आएकाले पनि केन्द्रीय बैंकले यो निर्णय लिएको बताउँदै एउटा बैंकको समस्यालाई लिएर बैंकिङ्ग क्षेत्रमा नै समस्या आउने भन्ने नहुने तर्क गरे ।
पूर्व बैंकर देवेन्द्र प्रताप शाह केन्द्रीय बैंकले ‘टेकओभर’ गर्दैमा आत्तिहाल्न नपर्ने बताउँछन् । उनले कुनै एक बैंकलाई समस्याग्रस्त घोषणा गर्दैमा बैंकिङ्ग क्षेत्रलाई असर नपर्ने बताए । ‘हाल अन्य बैंकहरुको वित्तीय अवस्था राम्रो नै देखिएको छ त्यसले तत्काल अन्य बैंकहरु समस्यामा पर्ने देखिँदैनन्’ बैंकिङ्ग समाचारसँग उनले भने, ‘एउटा बैंक समस्याग्रस्त हुँदैमा अन्यमा पनि समस्या पर्छ कि भनेर सोच्नुपर्ने बेला भएको छैन।’
प्रतिक्रिया