बैंकिङ्ग करिअर – २

१४ हजारको अफर छाडेर सय रुपैयाँमा वित्तीय क्षेत्रमा छिरेका शाक्य

१४ हजारको अफर छाडेर सय रुपैयाँमा वित्तीय क्षेत्रमा छिरेका शाक्य

‘इच्छाशक्ती चाहिन्छ, असम्भव केही छैन’


काठमाडौं – आफूभित्र चाहना र दृढ इच्छाशक्ति भएमा संसारमा केही पनि असम्भव छैन । आफूभित्रको चाहनालाई बुझेर व्यक्तिले मिहिनेत गरेमा सफलता प्राप्त गर्न ठुला कष्ट गर्नै पर्दैन । जब आफ्नो लक्ष्यमा विश्वास राखेर कडा मिहिनेत गरिन्छ, तब असम्भव विषय पनि सहजरुपमा सम्भव बन्न पुग्छन् । यसको उत्कृष्ट उदाहरण हुन् – नबिल बैंकका सिनियर डेपुटी सीईओ सुजित शाक्य ।

बाल्यकालमा पढाइप्रति खासै रुचि नराख्ने शाक्य आफ्ना लागि नभएर बुबाममिका लागि पढेको बुझ्थे । ‘कक्षा १ सम्म पढ्दा सधैँ भागेर खेल्न जान मन लाग्थ्यो,’ बाल्यकाल स्मरण गर्दै भन्छन्, ‘पाटनमा रहेको श्री चण्डी विद्याश्रमबाट अध्ययन सुरु भएको थियो ।’ बुबाले विद्यालय छाड्नसाथ पछाडिको ढोका छिचोलेर बुबाभन्दा छिटो घर पुग्ने गरेको उनको भनाइ छ ।

पढाइप्रति छोराको अरुचि देखिएपछि बुबाले नवरत्न प्राइमरी स्कुल नामक निजी विद्यालयमा भर्ना गरिदिए । त्यसपछि पढाइमा बिस्तारै ध्यान जान थालेको बताउने शाक्यले कक्षा ६ सम्म अरनिको बोडिङ्ग स्कुलमा पढेर कक्षा ७ देखि सेन्ट जेभियर्स जावलाखेलमा भर्ना भए । पहिले पढाइमा मन नगर्ने शाक्य कक्षा १० पुग्दा पढ्नुपर्छ भनेर पढाइप्रति सकारात्मक बनिसकेका थिए । सेन्ट जेभियर्सबाट विद्यालय तहको पढाई सकेका उनी ११ र १२ पढ्न भारत गए । भारतको नोयडामा कमर्स र बिकमर्स गरेर डिग्रीका लागि लखनाउ पुगे र एमबिए गरे ।

‘सुरु–सुरुमा भारतको वातावरणमा घुलमिल गर्न मलाई निकै समस्या भयो,’ उनले भने, ‘भारत जानुअघि घर छाडेर निस्केको थिइन । पहिलो पटक नै घर छाडेर देश बाहिर जानुपर्यो ।’ घरपरिवारको याद आउँदा साथीभाइको परिवारसँग घुलमिल हुने गरेको स्मरण गर्दै शाक्य थप्छन्, ‘भारतमा साथी मिजासिला थिए ।’ उनले भारतमा पढ्दैगर्दा संगितप्रति पनि रूची देखाउँथे ।

मध्यमवर्गीय परिवारमा हुर्केका शाक्यकी आमाले टेलर (सिलाईबुनाई) को काम गर्थिन् । आमाको कमाइले घर खर्च धान्नुपर्ने भएकाले सानैदेखि परिवारकाे दुःखबारे शाक्य जानकार थिए । उनकाे बुबाकाे कपडा पसल थियाे । उनलाई बुबाले बिदाको दिन पसलको जिम्मेवारी सुम्पिन्थे । भारतमा कमाउँदै पढ्न थालेका शाक्य असम्भव नै छैन भन्ने सोच राख्थे ।

विभिन्न खेलमा रुचि तथा सहभागिता जनाउने उनी बाल्यकालमा अन्य बालबच्चाजस्तै डाक्टर र इन्जिनियर बन्ने सपना बुन्थे ।जबकि, गणित र विज्ञानमा भने चासो शून्य थियो । ‘सुरुमा वित्तीय क्षेत्रमा शून्य रुची रहे पनि बुबाका लागि पत्रपत्रिकाका समाचार पढ्दापढ्दै यस क्षेत्रमा चासो बढेको हो,’ उनले सुनाए ।

१४ हजारको जागिर छाडेर, १०० रुपैयाँमा वित्तीय क्षेत्र प्रवेश

सुजितले भारतमा एमबिए तहको शिक्षा लिँदै गर्दा नेपालमा यसको माग उच्च थियो । भारतमा एमबिए गरेर फर्केपछि उनलाई लुम्बिनी एअरवेज र क्लब हिमालयनबाट जागिरको अवसर आएको थियो । ‘१९९६ को समयमा १२/१४ हजार तलब सुविधा दिन्छौँ भनेका थिए’ सुजित सम्झिन्छन्, ‘सानोमा डाक्टर इञ्जिनियर भनेपनि बिकमर्स गरेपछि आफ्ना लागि वित्तीय क्षेत्र नै उपयुक्त भन्ने निष्कर्षमा म पुगेको थिएँ ।’

ती अवसर छाडेर शाक्यले सुरुमा नेपाल श्रीलंका मर्चेण्ट बैंकमा ‘इन्टर्न’ सुरु गरे । त्यो समयमा नेपालमा भर्खरै क्यापिटल मार्केटको सुरुवात हुँदै थियो । उनले ६ महिना ‘इन्टर्नसिप’ गरे । उनले त्यतिबेला प्रतिदिन १ सय रुपैयाँ पाउँथे । शाक्य केही समयपछि ‘ट्रेनी इन्भेष्मेन्ट एनालिस्ट’मा प्रमोसन भए ।

त्यसक्रममा उनले मासिक ३/४ हजार रुपैयाँ कमाउन थाले । सुजितलाई १४ हजारको जागिर छाडेर न्यून सेवा सुविधामा काम सुरु गरेको भनेर गाली गर्नेहरूको जमात ठुलै थियो । तर, उनी पैसाभन्दा पनि ‘एक्सपोजर’को खोजीमा थिए । मर्चेण्ट बैंकमा हुँदा ‘फिल्ड’को कामका लागि श्रीलंका पुगेका शाक्य नेपाल फर्किने क्रममा हिमालयन बैंककाे अफर आयो ।

अफरलाई आत्मसात गर्दै आवेदन दिए र प्रतिस्पर्धाबाट ब्राण्च म्यानेजर (बीएम) का रुपमा नामै निकाले । यस्तै रिलेशनसीप अफिसर, रिलेशनसिप मेनेजर लगायतका पदमा बसेर हिमालय बैंकमा उनको साढे ८ वर्ष बित्यो । उनले श्रीलंका मर्चेण्ट बैंकमा काम गरेकाले पनि हिमालयन बैंकमा काम गर्न केही सहज भयाे । हिमालयन बैंकमा काम गर्नेक्रममा लक्ष्मी बैंकबाट आएको उत्कृष्ट अवसरलाई अंगाले र डेपुटी म्यानेजरका रुपमा त्यतातर्फ लागे । त्यसक्रममा उनले कर्पोरेट बैंकिङ्ग, संस्था लायबलिटि र विराटनगर मार्केट हेरे ।

यस क्रममा विशाल ग्रुपले बैंक अफ एसिया स्थापना गर्यो । यो समूहसँग लक्ष्मी बैंकमा काम गर्ने क्रममा नै शाक्यको सम्बन्ध सुमधुर बनेको थियो । ‘चिफ बिजनेस अफिसर’का अवसर आएपछि लक्ष्मी बैंक छाड्ने निधो गर्दै नयाँ अवसरको खोजीमा सो बैंक प्रवेश गरे । बैंक अफ एसिया नेपालको पहिलो स्टार्टअप बैंक भएकाले धेरै विषय सिक्न र जान्न पाएको शाक्यको भनाई छ। ‘मलाई बैंक अफ एसियामा काम गर्दा धेरै सिक्ने अवसर मिल्यो,’ शाक्य थप्छन् ।

उनले काम गरिरहेकै समयमा बैंक अफ एसिया एनआईसी बैंकसँग मर्जमा गयो । मर्जरको केही समय उनी हालको एनआइसी एशिया बैंकमा बिताएपछि तत्कालीन सिभिल बैंकमा पुगे र २ वर्ष अनुभव बटुले । सुजित विभिन्न उत्तरचाढावकाबीच बैंकिङ्ग करिअरमा पाइला चालिरहेका थिए । यही समयमा उनले विभिन्न संस्था परिवर्तन गर्दै विभिन्न भूमिकामा रहेर काम गरिसकेका थिए । उनी सिभिल बैंकमा करिअर सुरु गरिरहेका थिए ।

अनि छिरे नबिल बैंक

सिभिल बैंकमा करियर अघि बढाउँदै गर्दाको समयमा नबिल बैंकले डेपुटी सीईओको लागि एउटा आह्वान गरेको थियो । उनले त्यसका लागि निवेदन दिए । नबिलले उनको अन्तर्वार्ता पनि लियो पनि । तर, विभिन्न समस्याले सो समयमा उनले नबिल बैंकमा जागिर गरेनन् । यसबिच उनले जनता बैंकमा काम गरेका थिए । जनतामा काम गर्दै गर्दा ग्लोबल र जनता मर्जमा गए । त्यसको केही समयमा नबिलले उनलाई फेरि अफर गर्यो र उनी डेपुटी सीईओकारुपमा नबिल प्रवेश गरे ।

आफ्नो जिम्मेवारी ध्यानपूर्वक गर्ने र नेतृत्वको अभिलासा नराखे पनि डिसीईओ बनेको बताउँछन् । अब सीईओ बन्नेबारेको प्रश्नमा जवाफ दिन्छन्, ‘यो विषयमा सोचेको छैन ।’ उनले सही समयमा ठुलो पदको अफर आउने भन्दै हतारिन नहुने बताए ।

उत्कृष्ट बैंकर बन्न चाहिन्छ तालिम

सुजित एक उत्कृष्ट बैंकर बन्न विभिन्न किसिमका तालिमहरूको आवश्यक पर्ने बताउँछन् । प्राविधिक क्षमताको लागि तालिम आवश्यक पर्ने उनको भनाई छ । उनले बैंकको व्यवसायमा ‘ब्यालेन्ससिट म्यानेज’, ‘स्ट्रेस म्यानेजमेन्ट’ लगायतका तालिम बैंकरलाई दिनुपर्ने बताए । सुजित आफूले विभिन्न पद सम्हाल्न पनि तालिम आवश्यक पर्ने बताउँछन् । उनले बैंकरको क्षमता वृद्धि गर्न पनि तालिम आवश्यक पर्ने बताउँछन् । उनी ‘नेटवर्किङ्ग’ले गर्दा ‘लिडरसिप’ विकास गर्न पनि सजिलो हुने बताउँछन् । एउटा बैंकरले नेटवर्किङ्ग गर्न जान्नुपर्ने उनी बताउँछन् । सुजित बैंक राम्रो बनाउन राम्रो रणनीति र कार्यान्वयन चाहिने बताउँछन् ।

पैसा किन आवश्यक छ ?

सुजित पैसा सबैथोक नभए पनि जीवनमा पैसाको महत्त्व हुने बताउँछन् । पैसाको महत्त्व छैन भन्ने कथा सत्य नभएको भन्दै पैसा महत्त्वपूर्ण हुने कुरामा कुनै शंका नभएको बताउँछन् । ‘बैंकरलाई सामाजिक प्रतिष्ठा पनि आवश्यक छ,’ उनी भन्छन्, ‘बैंकिङ्ग क्षेत्रमा निकै समय दिनुपर्दा परिवारलाई दिने समय पनि व्यवस्थापन गर्न सिक्नुपर्छ ।’

नयाँ बैंकरहरुले ६ महिना वा १ वर्ष भित्रै यस क्षेत्रमा आफू रहने/नरहने विषयमा निर्णय गर्नुपर्ने शाक्य बताउँछन् । उनले अनुभव मात्रै बटुल्ने लक्ष्यसहित बैंकिङ्ग क्षेत्र प्रवेश नगर्न सुझाव नै दिन्छन् र भन्छन्, ‘पहिलेको तुलनामा नेपालको बैंकिङ्ग क्षेत्रले फड्को मारेको छ । हाल ‘सस्टेनेबल बैंकिङ्ग’का विषय जोडतोडेले उठिरहेको छ । हरेक ५ वर्षमा बैंकिङ्ग क्षेत्रले नयाँ फड्को मारेको छ।’

बैंकिङ्ग क्षेत्र व्यवसायीक क्षेत्र भएकाले काम गर्दा नियमहरू पालना गर्नुपर्ने उनको भनाई छ । ‘अहिले बैंकिङ्ग क्षेत्र यो स्थितिमा आइपुग्नुमा नियामक निकाय नेपाल राष्ट्र बैंकको ठुलो योगदान छ,’ उनले भने । उनले बैंकसँग भएको पैसा बैंकको नभएर बचतकर्ताको रहेको भन्दै बैंकिङ्ग क्षेत्रमा राम्रो सुपरिवेक्षण भएको बताए ।

याे पनि :