काठमाडौं – लक्ष्यअनुसारको कर्जा प्रवाह नहुँदा र यसअघि नै प्रवाह भइसकेको कर्जा नउठ्दा बैंकिङ्ग क्षेत्र ‘स्ट्रेस’मा छ । समग्र बैंकिङ्ग क्षेत्र नै लक्ष्यअनुरुपको लगानी नहुँदा स्ट्रेसमा भएपछि यसमा आवद्ध बैंकर्समाथि तनाव नहुने कुरै भएन । यही कारण बैंक तथा वित्तीय क्षेत्रमा आवद्ध समग्र मानव संशाधन तनावमा देखिन्छन् ।
कोभिड–१९ महामारीयता भएका विभिन्न गतिविधिले निजी क्षेत्रमा कर्जा प्रवाह हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले निजी क्षेत्रमा १२ प्रतिशत कर्जा वृद्धिको लक्ष्य राखेको छ । जबकी, पहिलो त्रैमासिक अवधिसम्ममा साढे ६ प्रतिशत मात्रै कर्जा प्रवाह भएको छ ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई हालको मूख्य चुनौती भनेको कर्जा प्रवाह र ‘रिकभरि’ नै हो । कुनैपनि ऋणीले बैंक तथा वित्तीय संस्थामा समयमा नै भुक्तानी नगर्दा बैंकरहरुलाई मात्रै नभई संस्थालाई नै समस्या सिर्जना हुन्छ । समयमा नै ऋणीले कर्जा चुक्ता गर्न नसक्दा र नगर्दा कर्मचारीहरुमा मानसिक र व्यावसायिक दवाब सिर्जना भएको हो ।
पछिल्लो चरण बैंकिङ्ग क्षेत्रमा बढ्दो तरलता हुँदा पनि कर्जा लगानी किन भएन भन्ने विषयलाई लिएर कतिपय वित्तीय संस्थाले भने कर्मचारीसँग गोष्ठि समेत गर्दै आएका छन् । वित्तीय संस्थाले ‘रिकभरि’ र ‘ल्याण्डिङ्ग’का कारणहरु पहिचान गर्ने भन्दै शाखाका प्रमुखहरुसँग पनि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन् ।
ब्याजदर एकल दरमा आउँदा पनि छैन लगानी
कुनै समय दोहोरो अंकमा रहेको ब्याजदर एकल अंकमा झरिसकेको छ । तर, यता बैंक तथा वित्तीय संस्थाहरुबाट हुने लगानी पनि घटिरहेको छ । सामान्यतया बैंक तथा वित्तीय क्षेत्रमा ब्याजदर घट्दा लगानी बढ्नुपर्ने हो । तर, आर्थिक मन्दीका कारण त्यसो हुन सकेको छैन ।
बैंकको मुख्य उद्देश्य भनेको वित्तीय सेवाहरूको स्थिरता र लाभ सुनिश्चित गर्नु हो । बैंकबाट कर्जा लगानी नहुँदा बजारमा माग नबढ्दाको तनाव पनि बैंकरले नै झेल्नुपर्ने हुन्छ । कुनैपनि बैंकबाट बजारमा जाने लगानी कम हुँदा बैंकको सञ्चालक र व्यवस्थापनले बैंकरलाई लगानी बढाउन दवाब दिने गर्दछन् ।
हाल बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिने क्रम जारी छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने झण्डै ६ खर्ब हाराहारी तरलता जम्मा भएको अवस्था छ ।
उठ्दैन लगानी
यता बैंक तथा वित्तीय संस्थाले गरेको लगानी नउठ्दा बैंकरहरुलाई मानसिक तनाव सिर्जना भएको छ । ग्राहकमा गरेको लगानी समयमा नै नउठ्दा बैंकरको तनावको प्रमुख कारण समेत बन्ने गरेको छ । कुनैपनि एक बैंकले बजारमा गरेको लगानी उठाउन सक्दैन । जब बैंकले लगानी गर्ने कुरामा हिचकिचाउने गर्छ । बैंकमा हुने एक सर्कुलेसनलाई पनि रिकभरिले ठूला प्रभाव पारेको हुन्छ । बैंकबाट गएको लगानी नउठ्दा बैंकको नगद प्रवाह पनि प्रभावित बन्छ ।
नगद प्रवाह प्रभावित बन्दा बैंकको दैनिक अपरेशनलाई असर पुर्याउँछ । वित्तीय स्थिरता सुनिश्चित गर्नुपर्ने दवाब बैंकरमाथि हुने हुँदा बैंकरलाई तनाव सिर्जना हुन्छ । ग्राहकमा गरेको लगानी उठाउनेमा बैंकरको महत्वपूर्ण भूमिका रहन्छ । कुनैपनि बैंकरले कर्जा समयमा उठाउन सकेन भने उसको कमर्यक्षमता माथि नै प्रश्न समेत उठ्छ । बैंकरकाे कार्यको मुल्यांकन नकारात्मक रुपमा पनि हुन पुग्छ । ऋणीबाट रिकभरि गर्न नसक्दा बैंकरको कार्यदक्षतामा पनि नकारात्मक असर पुग्छ ।
ऋणीबाट रिकभरि नहुँदा नियामकले पनि प्रश्न उठाउने गर्दछन् । लामो समयसम्म ऋण उठेन भने केन्द्रीय बैंकले सो रकमलाई खराब कर्जाको रुपमा पनि हेर्ने गर्दछ । नेपाल राष्ट्र बैंकले निश्चत प्रतिशत खराब कर्जाको सिमा तोकिदिएको छ । राष्ट्र बैंकले कुनै पनि बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा बढी हुन नहुँने उल्लेख गरेको छ । यदि कुनैपनि बैंकको खराब कर्जा केन्द्रीय बैंकले तोकेभन्दा बढी सम्बन्धित बैंकलाई कारबाही गर्ने व्यवस्था गरेको छ ।
बैंकरले केन्द्रीय बैंकको नीति पालना गर्दै कार्य अघि बढाउनुपर्छ । कहिलेकाँही केन्द्रीय बैंकले कारबाही गर्दा वित्तीय जोखिम पनि पैदा हुन्छ जसले मानसिक तनाव बढ्छ । बैंकिङ्ग क्षेत्रमा झण्डै डेढ दशकदेखि कार्यरत एक वाणिज्य बैंकका कर्मचारी ‘रिकभरि’मा समस्या हुँदा तनाव बढ्दै गइरहेको बताउँछन् । ‘मैले यतिका समय बैंकिङ्ग क्षेत्रमा काम गरे अहिलेको जस्तो स्थिती भोग्नु नै परेको थिएन । अहिले त न लगानी छ, न त रिकभरि’ ती बैंकरले बैंकिङ्ग समाचारसँग भने ।
प्रतिक्रिया