केन्द्रीय बैंकको ऋणीलाई राहत दिने नीतिले लघुवित्त क्षेत्रमा झनै समस्या

केन्द्रीय बैंकको ऋणीलाई राहत दिने नीतिले लघुवित्त क्षेत्रमा झनै समस्या

'नियामक ग्राहकमैत्री बनेपछि घट्यो नाफा'


काठमाडौं – लघुवित्त वित्तीय संस्थाहरूलाई सहजीकरण गर्ने लक्ष्यसहित नेपाल राष्ट्र बैंकले लिएको लचिलो नीतिले खासै प्रभाव नपरेको देखिएको छ । केन्द्रीय बैंकले विभिन्न व्यवस्थाहरूमा हेरफेर गरेर लघुवित्त वित्तीय संस्थाको आर्थिक अवस्था सुधार गर्ने गरी नीति लिएको भएतापनि त्यसो नभएको पाइएको हो ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाकाल यता सुस्ताएको लघुवित्त क्षेत्रको अवस्था सुधारको नीति पनि लिएको थियो । राष्ट्र बैंकले लघुवित्तका ऋणीहरुलाई सहजता प्रदान गर्ने गरी सर्कुलर नै जारी गरेको थियो । केन्द्रीय बैंकले ऋणीलाई सहजता प्रदान गर्दा पनि हाल लघुवित्त संस्थाको अवस्थामा असर पुगेको देखिएको हो ।

केन्द्रीय बैंकले लघुवित्तका लागि सर्कुलर नै जारी गरेर संस्थाहरुले खराब सूचीमा राखेको ऋणीले कर्जाको सावा र ब्याज तिरेपछि खराब सूचीबाट हटाउन सिफारिस गर्नुपर्ने भएको छ । वित्तीय संस्थाहरुले कर्जाको सावा र ब्याज नतिर्ने ऋणीलाई खराब सूचीमा राख्नका लागि सिफारिस गर्ने गरेका छन् ।

अबदेखि भने ऋण चुक्ता गरिसकेपछि खराब सूचीमा परेका ग्राहकलाई सो सूचीबाट हटाउन समेत संस्थाहरुले सिफारिस गर्नुपर्ने भएको छ । जबकी, हालसम्म यो व्यवस्था राष्ट्र बैंकले गरेको थिएन। साथै, राष्ट्र बैंकको निर्देशनको अधीनमा रही कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गरेमा समेत सम्बन्धित संस्थाले ऋणीलाई खराब सूचीबाट हटाउन कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नुपर्ने भएको छ ।

केन्द्रीय बैंकले पुन लघुवित्तका ऋणीलाई कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न दिएर राहत प्रदान गरेको थियो । केन्द्रीय बैंकले पटक–पटक लघुवित्तका ऋणीलाई कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गरेर ऋणीलाई राहत दिँदा लघुवित्त संस्थाको नाफामा भने गिरावट आउन थालेको छ ।

नियामक ग्राहकमैत्री बनेपछि घट्यो नाफा
नेपाल राष्ट्र बैंकले ग्राहकमैत्री नीति लिँदा लघुवित्त संस्थाहरुको नाफामा गिरावट देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाहरूको खुद नाफा १२.६४ प्रतिशतले घटेको छ । तीन महिनाको अवधिमा लघुवित्तको नाफा घटेर ५३ करोड २८ लाख रुपैयाँमा सिमित छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्त संस्थाहरूले ६१ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।

संस्थाहरुले सार्वजनिक गरेको तथ्याङ्कअनुसार धनात्मक नाफा रहेका ३१ वटा लघुवित्तमध्ये १६ वटा लघुवित्त संस्थाले मात्रै नाफा बढाएका हुन् । यस अवधिमा १९ वटा लघुवित्त संस्थाहरूले नोक्सानी बेहोरेका छन् । गत वर्षकोयो समयमा १५ वटा लघुवित्त संस्थाले मात्रै खुद नोक्सानी बेहोरेका थिए ।

खराब कर्जा पनि बढ्यो
लघुवित्त संस्थाहरुले सार्वजनिक गरेको तथ्यांकले लघुवित्तको खराब कर्जा बढेको देखाउँछ । वित्तीय विवरण सार्वजनिक गर्ने लघुवित्तमध्ये सबैभन्दा धेरै खराब कर्जा नेरुडे र्मिमिरे लघुवित्तको रहेको छ । सो संस्थाको खराब कर्जा १०.६२ प्रतिशतले बढेर १६.१४ प्रतिशत पुगेको छ । मर्जरपछि कर्मचारीहरुको विवादलाई मिलाउन नसक्दा नेरुडे मिर्मिरे लघुवित्तको वित्तीय अवस्थामा असर परेको हो ।

खराब कर्जा बढी हुनेको दोस्रोमा युनिक नेपाल लघुवित्त छ । सो संस्थाको खराब कर्जा ४.९७ प्रतिशत बिन्दुले बढेर १५.७९ प्रतिशत पुगेको हो । यस्तै, आत्मनिर्भर लघुवित्तको खराब कर्जा १४.४३ प्रतिशत कायम छ । एनआईसी एशिया लघुवित्तका अध्यक्ष समेत रहेका लघुवित्त बैंकर्स एशोशिएसनका पूर्व अध्यक्ष प्रकाशराज शर्मा केन्द्रीय बैंकको केही नीतिले पनि समस्या सिर्जना भएको बताउँछन् । उनले केन्द्रीय बैंकले कर्जा पुनसंरचना र पुन तालिकिकरण गर्ने नीति लिँदा लघुवित्त संस्थाहरुको नाफामा प्रभाव परेको उल्लेख गरे ।

‘अहिले लघुवित्त क्षेत्रमा मात्रै नभई समग्र वित्तीय क्षेत्र नै समस्यामा छ’ उनले भने, ‘ समस्याको समाधान पुनसंरचना र पुन तालिकिकरण होइन, यो त समस्यालाई छोप्ने तरिका मात्रै हो ।’