नयाँ नोटको अर्थतन्त्रः राज्यकोषको २ अर्ब जोगिने, खुद्रा नोट व्यवस्थापनमा सहज

नयाँ नोटको अर्थतन्त्रः राज्यकोषको २ अर्ब जोगिने, खुद्रा नोट व्यवस्थापनमा सहज


काठमाडौं – नेपाल राष्ट्र बैंकले यो वर्ष ‘बोल्ड डिसिजन’ गर्यो । विगतका वर्षहरुको पदचाप नपछ्याउने निर्णय गर्दै दसैं र तिहारमा नयाँ नोट नबाँड्ने निर्णय गर्यो । जसकारण, यसपालि सर्वसाधारणले विगतका वर्षहरुमा झै दसैंमा नयाँ नोट प्रयोग गर्न पाएनन् ।

यसबाट प्रत्येक वर्षको दसैं र तिहारमा नयाँ नोटको प्रयोग गर्दै आइरहेका सर्वसाधारणको मनोभावमा ठेस पुगेको देखिन्छ । कतिपय सर्वसाधारण भने नयाँ नोटको साटो राष्ट्र बैंकले सुकिला नोट बाँड्दा खुसी नै देखिन्छन् । जे होस् यस वर्ष सर्वसाधारणले विगत बिर्सिएर नयाँ नोटको साटो सुकिलो नोटबाट दक्षिणा लेनदेनदेखि खुद्रा नोटका रुपमा प्रयोग गर्नुपरेको छ ।

राष्ट्र बैंकको यो निर्णयले सर्वसाधरणको विचार दुई भागमा बाँडिएपनि राज्यकोषको अर्बौ रुपैयाँ जोगिने निश्चित छ । प्रत्येक वर्ष दसैं र तिहारमा नयाँ नोट वितरण गर्दा अतिरिक्त २ अर्ब रुपैयाँ हाराहारी खर्च हुने केन्द्रीय बैंकको आँकलन छ । यो तथ्यांक अन्तिम नभएपनि यही हाराहारीको खर्च सरकारी कोषबाट खेर जाँदै आइरहेको थियो ।

खासगरी, दसैंका लागि भनेर वितरण गरिएको ५, १०, २०, ५० र १०० का नोटको प्रयोग खुद्रा सटही र तास खेल्ने प्रयोजनका लागि मात्रै प्रयोग हुँदै आएको थियो । जसकारण, यी नोटहरुमा दसैं र तिहारमा अत्याधिक प्रयोग हुने रंग लाग्ने गर्छ । यस्तै, तास खेल्न प्रयोग हुँदा नोट मैलो र पुरानो समेत हुन्छ ।

तर, दसैं र तिहार सकिएपछि ती सबैजसो नोटमध्ये ६० देखि ७० प्रतिशत नोट बैंकमा फिर्ता आउँछन् र, बैंकमा प्रत्येक वर्ष यसरी नै ठूलो मात्रामा नोट जम्मा हुँदै जाने र राष्ट्र बैंकले नयाँ नोट छाप्दै जाने प्रचलन विगतमा थियो । र, बैंकमा बजारबाट फिर्ता आएका ती खुद्रा नोट ३/४ वर्ष राखेर राष्ट्र बैंकले धुल्याउने गर्छ । फलस्वरुपः राज्य कोषको अर्बौ रुपैयाँ खर्च हुन्छ ।

यही कारण अतिरिक्तरुपमा खर्च भइरहेको राज्यकोषको रकम जोगाउने लक्ष्यसहित केन्द्रीय बैंकले यो वर्ष नयाँ नोट नबाँड्ने निर्णय गरेको डेपुटी गर्भनर बमबहादुर मिश्र बताउँछन् । यस्तै राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलकाअनुसार दशैंको समयमा बजारमा पठाएका नोटहरुको परिमाणलाई हेर्दा विगत ३ वर्षमा ९० प्रतिशतभन्दा बढी नोटहरु दशैंको समयम नै वितरण हुँदै आएको छ ।

पौडेलले नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्दा बढी खर्च हुने भएकाले नोट नछापेको बताए । उनले बजारमा धेरै सुकिला नोटहरु रहेका कारण नयाँ नोट छापेर खर्च बढाउन नचाहेको बताए । उनले विगत ३ वर्षदेखि एक पटक मात्रै प्रयोग भएका नयाँ नोटहरु आगामी २ वर्षसम्म पुग्ने सुकिला नोट राष्ट्र बैंकको विभिन्न कार्यालयमा संकलन भएर बसेको बताए ।

योसहित कहिले–कहिले बाँडेन नयाँ नोट ?
नेपाल राष्ट्र बैंकले २०६०/६१ देखि नयाँ नोेट सटहीको सुविधा दिएको थियो । त्यसअघि पनि केन्द्रीय बैंकले सिमित मानिसहरुलाई भने नयाँ नोट दसैंमा प्रदान गर्दै आएको थियो । वर्षेनी ६० देखि ७० अर्ब रुपैयाँ बराबरका नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिने गरेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले २०७७ सालमा पनि नयाँ नोट बाडेको थिएन ।

सो समयमा कोरोना भाइरसको संक्रमण बढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भीडभाड बढ्न सक्ने र जसबाट संक्रमणको जोेखिम बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट नबाड्ने बताएको थियो । त्यसपछि, केन्द्रीय बैंकले यो वर्ष भने बजारलाई पुग्ने खुद्रा नोट प्रर्याप्त मात्रामा भएका कारण दशैंको समयमा नोट निष्काशन नगरेको हो ।

खुद्रा नोट व्यवस्थापनमा सहज
राष्ट्र बैंकले यो पटक दसैंमा नयाँ नोट नदिने भएसँगै खुद्रा नोट व्यवस्थापनमा सहज हुने भएको हो । नयाँ नोट नछाप्दा नगद नोटको मात्रा घट्दा बैंकहरूले थुप्रै नोटको व्यवस्थापन गर्नुपर्दैन । नगदको कमी हुँदा चोरी र वित्तीय अनियमितताको सम्भावना कम हुने राष्ट्र बैंकको आँकलन छ । खुद्रा पैसा नछाप्दा व्स्थापनमा आउने सुविधाहरूले बैंकहरुलाई पनि थप प्रभावकारी र लाभदायक बनाउँन सहयोग पुग्ने कतिपयको बुझाई छ ।

पहिले पहिले नेपाल राष्ट्र बैंकले दसैंमा नयाँ नोट वितरण गरेपछि चाडपर्व सकिएलगतै बैंकहरुमा आउँदा बैंकहरुलाई खुद्रा पैसा व्यवस्थापनमा निकै गाह्रो हुने गरेको थियो । बजारमा गएका जति सकै खुद्रा पैसा एकैपटक बैंक तथा वित्तीय संस्थामा आउँदा व्यवस्थापनमा समस्या आउने गरेको कतिपय बैंकरहरुले बताउँदै आएका छन् ।