राष्ट्र बैंकले दिएन नयाँ नोट, सुकिला नोट हातमा लिएका सर्वसाधरण के भन्छन् ?

राष्ट्र बैंकले दिएन नयाँ नोट, सुकिला नोट हातमा लिएका सर्वसाधरण के भन्छन् ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले यही असोज १३ गतेदेखि सुकिला नोट वितरण गर्न थालेको छ । केन्द्रीय बैंकले यो वर्षदेखि दशैंमा नयाँ नोट वितरण नगर्ने भएसँगै सुकिला नोटको वितरण सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ्ग विभागसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज तथा धनगढीस्थित कार्यालयबाट सुकिलो नोट साट्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको जुनकुनै बैंक तथा वित्तीय संस्थामामार्फत सुकिलो नोट साट्न सक्नेछन् । एकजना व्यक्तिले पाँच, दश, बीस, पचास र एक सय रुपैयाँ दरका नोटसहितको १८ हजार पाँच सय रुपैयाँसम्म साट्न पाउनेछन् ।

नेपाल राष्ट्र बैंकले बजारमा गएर प्रयोगमा आइसके पनि प्रयोग गर्न योग्य पैसालाई सुकिला नोटकारुपमा वितरण सुरु गरेको हो । केन्द्रीय बैंकले प्रयोग गर्न योग्य नरहेपछि त्यस्ता नोटलाई सङ्कलन गरी जलाउने गर्ने गर्छ । तर, यो पटक नयाँ नोट नदिँदा नोट छपाई, ढुवानी, नोट च्यातिने र काम नलाग्ने अवस्थाका नोट जलाउनेसम्मको खर्चमा कटौती हुने केन्द्रीय बैंकको दाबी छ ।

चाडपर्वमा वितरण गरिएको नयाँ नोटमा दशैं र तिहारमा प्रयोग हुने नोटमा रंग लाग्ने गर्छ । जसकारण नोटको आयु छिट्टै सकिन्छ र राज्यकोषमा भार पर्छ । नेपाल राष्ट्र बैंकले यस वर्ष नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्दा कतिपय खुशी देखिए पनि कतिपयको भने सो व्यवस्थाप्रति गुनासो रहेको छ । यस्तै केही सर्वसाधारण भने राज्य र केन्द्रीय बैंकले लिएको नयाँ नीति निकै स्वागतयोग्य रहेको बताउँदै आएका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलकाअनुसार नेपाल राष्ट्र बैंकले दशैंको समयमा बजारमा पठाएका नोटहरुको परिमाणलाई हेर्दा विगत ३ वर्षमा ९० प्रतिशतभन्दा बढी नोटहरु दशैंको समयमा वितरण भएका छन् ।

पौडेलले दशैको समयमा बजारमा गएका नोटहरु बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंकको बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभाग तथा नेपाल राष्ट्र बैंकको विभिन्न कार्यालयमा थुप्रिने गरेको भन्दै विगत ३ वर्षदेखि एक पटक मात्रै प्रयोग भएका नयाँ नोटहरु आगामी २ वर्षका लागि पुग्नेगरी जम्मा भएका कारण सुकिला नोट वितरण गरिएको बताए ।

‘दशैंमा प्रयोग गरिएन भने सुकिला नोट नष्ट गर्नुपर्ने हुन्छ र नयाँ नोट छपाई गर्नुपर्ने हुन्छ ।’ उनले भने, ‘नयाँ नोट छाप्दा २ अर्ब लागत थप लाग्ने हुन्छसक्छ त्यसैले सुकिला नोट वास्तवमा नयाँ नोट नै बजारमा पठाएका हौं ।’

नेपाल राष्ट्र बैंकले असोज १३ गते अर्थात् पहिलो दिन नै १ करोड ८० लाख सुकिला नोट सटही गरेको छ ।