नेपाल अर्थतन्त्र : विदेशमा रहेका नेपालीले आर्थिक समस्या सुधार्न कस्तो सहयोग पुर्‍याउन सक्छन् ?

नेपाल अर्थतन्त्र : विदेशमा रहेका नेपालीले आर्थिक समस्या सुधार्न कस्तो सहयोग पुर्‍याउन सक्छन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

विदेशमा रहेका नेपालीले विदेशी मुद्रा नेपाल पठाएर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्न सहयोग पुर्‍याउन सक्ने जानकारहरू बताउँछन्।

विदेशी विनिमय सञ्चितिमा आएको ह्रास नेपालमा तरलता अभाव देखिनुको एउटा कारक भएको उनीहरूको भनाइ छ।

नेपाल राष्ट्र बैंकका भूतपूर्व कार्यकारी निर्देशक नरबहादुर थापा लगानीयोग्य पुँजी अभावले देशको अर्थतन्त्रमा थप चाप ल्याउन सक्ने आकलन गर्छन्।

अभावले मुलुकको अर्थतन्त्रलाई थप अप्ठ्यारोमा पार्न सक्छ। यस्तो बेलामा बिदेसिएका नेपालीहरूले यहाँको खातामा रकम जम्मा गरे विदेशी मुद्रा सञ्चितिमा परेको दबाव कम हुन सक्छ, उनले भने।

कसरी पठाउन रकम सकिन्छ ?

विदेशमा कमाइ गरिरहेका नेपालीहरूले नेपाली खाता वा डलर खातामा रकम पठाएर विदेशी मुद्राको चापको स्थितिमा सुधार ल्याउन सक्ने थापा बताउँछन्।

अहिले विदेशमा रहेका नेपालीहरूले रेमिट्यान्सको रूपमा पठाएको नेपाली रकम बैंकमा रहे १२.०३ प्रतिशतसम्म ब्याज प्राप्त हुन्छ।

नेपालमै रहेकाले जम्मा गर्दा ब्याजदर ११.०३ रहेको छ। यदि कसैले विदेशी मुद्रा नै बचत गर्छु भनेको अवस्थामा बैंकहरूले पाँच प्रतिशतसम्म ब्याज उपलब्ध गराएका छन्।

यसरी जम्मा गरिने रकमले देशको तरलता अभावमा भरथेग गर्ने र रकम जम्मा गर्ने व्यक्ति स्वयंलाई पनि लाभ हुने थापा बताउँछन्।

राष्ट्र बैंकका भूतपूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी भन्छन्, विदेशमा सोही रकम जम्मा गर्दा ब्याजदर एक वा आधा प्रतिशतमा सीमित छ। जापानजस्तो मुलुकमा त ब्याजदर नेगेटिभ छ। नेपालमा राख्दा आकर्षक ब्याज पाइन्छ ।

त्यसैले विदेशमा बसेकाले नेपालमा पैसा राखे उनीहरूको आम्दानी पनि बढ्छ र तरलताको अभाव कम गर्न पनि मद्दत पुग्छ ।

नेपालमा रकम पठाउँदा औपचारिक माध्यमको प्रयोग गर्नु पर्ने विषयमा दुवै पूर्व अधिकारीहरू एकमत छ।

हुन्डीको प्रयोग किन गलत ?

विदेशमा रहेका नेपाली कामदारले अनौपचारिक माध्यमबाट रकम पठाउने क्रम बढ्नुले पछिल्ला महिनाहरूमा नेपाल भित्रिने रेमिट्यान्समा कमी आएको हुनसक्ने विज्ञहरूको धारणा छ।

कोभिड १९ महामारीको समयमा रेमिट्यान्सकै कारण देशको तरलता र वैदेशिक मुद्रामा कमी आउन नदिए पनि पछिल्लो समय विप्रेषण वृद्धिदरमा कमी आएको थापा बताउँछन्।

त्यति ठूलो स्वास्थ्य संकटको बेलामा विदेशमा रहेका नेपालीहरूले रकम पठाएर पुर्‍याएको योगदान उल्लेख्य छ। तर अहिले रेमिट्यान्सको वृद्धिदर घट्नुले पनि विदेशी मुद्रामा चाप बढाएको छ, उनले भने।

यस अवस्थालाई सुधार गर्न नेपालीहरूले बचत बढाएर बैंकिङ्ग वा अन्य औपचारिक माध्यममार्फत आफ्नो कमाइ पठाउन सक्ने बताए।

कसैले हुन्डीको सहयोग लिइरहेको छ भने त्यसको प्रयोग बन्द गरी आधिकारिक माध्यमबाट रकम पठाउनु पनि हालको स्थितिमा देशका लागि ठूलो सहयोग ठहर्छ, उनले सुझाए।

हुन्डीको प्रयोग गर्दा देशमा नेपाली रुपैयाँ भित्रन्छ। सो कार्यबाट विदेशी मुद्रा भित्रने क्रम प्रभावित हुने र अपचलन बढ्ने सिवाकोटीको तर्क छ।

अधिकांश वस्तु तथा सेवा खरिद र आयात गरेर धानिएको देशमा रेमिट्यान्स नआउनुले अभाव निम्त्याउने र रेमिट्यान्स नआउनुको प्रमुख कारण गैरकानुनी माध्यमको प्रयोग हुनु तर्फ उनी संकेत गर्छन्।

हुन्डी गैरकानुनी हो। त्यसको प्रयोग अपराध त हो नै साथै कानुनी माध्यमबाट पैसा नपठाउँदा देशमा बस्नेहरूले आयात गरेर खान नसक्ने अवस्था आउन सक्छ ।

त्यसैले मनी ट्रान्सफर वा बैंकमार्फत नेपालमा पैसा पठाए अहिलेको अवस्थामा देशलाई सहयोग हुने उनी बताउँछन्।

उल्लेखित माध्यमबाट पठाएको रकम राष्ट्र बैंकलाई दिइन्छ। र राष्ट्र बैंकले सटही गरी विदेश जानेहरूलाई वा विदेशबाट सामान किनेर ल्याउनेहरूलाई उपलब्ध गराउँछ।

गैरआवासीय नेपालीको पाटो

गैरआवासीय नेपालीहरूले नेपालमा लगानी बढाउनुले पनि मुलुकको अर्थतन्त्रलाई आड दिने जानकारहरूको ठहर छ।

राष्ट्र बैंकले समेत गैरआवासीय नेपाली वा विदेशी लगानीकर्तामार्फत लगानी भित्राएर विदेशी मुद्रा सञ्चितिमा आएको सङ्कुचन कम गर्न सक्ने जनाएको छ।

यस कदमले संकटको समयमा विदेशी मुद्रा प्राप्त गर्न मद्दत त गर्छ नै। त्यसका अतिरिक्त विदेशी पुँजी र प्रविधि नेपाल भित्राउन सहयोग पुग्छ। देशभित्रै रोजगारका अवसरहरू पनि सिर्जना हुन सक्छन् थापाले बताए।

कुनै बेला १४ देखि १५ महिनाको लागि वस्तु तथा सेवाको आयात धान्न सक्ने गरी उपलब्ध विदेशी विनिमयको सञ्चिति अहिले घटेको छ। हाल मुलुकसँग साढे छ महिनाको मात्र आयात धान्न सक्ने क्षमता रहेको सिवाकोटी बताउँछन्।

त्यसलाई नियन्त्रण गर्नका निम्ति विभिन्न आयात र विदेशी मुद्रा खर्च गर्ने कुरामा पनि नियन्त्रण गरिएको उनको बुझाइ छ।

विदेशमा रहेका नेपालीले पुर्‍याउन सक्ने अन्य योगदान
लामो समयदेखि विदेशमा रहेका नेपालीहरू स्वदेश भ्रमणमा आउनुले पनि टेवा पुग्ने बताइन्छ।

उनीहरूले खर्चका लागि लिएर आउने विदेशी मुद्राले मद्दत गर्ने थापाको बुझाइ छ।

त्यस्तै विदेशमा बसेर नेपालको प्रचारप्रसार गर्न सकिन्छ। त्यस्ता प्रचारले पर्यटन र नेपालमा लगानीका लागि प्रेरित गर्न सक्छ। तत्काल नेपालमा संकटको स्थिति नभए पनि चापको बेलामा सहयोग हुन सक्छ उनले भने।

विश्वव्यापी रूपमै अर्थतन्त्रमा सिथिलता आएको बेलामा नेपाल त्यसबाट अछुतो नरहनुलाई विज्ञहरू स्वाभाविक ठान्छन्।

झन् संसारभर मूल्य वृद्धि भएको बेला नेपाल जस्तो आयातकेन्द्रित देश बढी चापमा पर्ने सिवाकोटीको बुझाइ छ।

राज्यले कसरी प्रोत्साहन दिन सक्छ

अर्थतन्त्र असजिलो अवस्थामा पर्दा राज्यलाई सहयोग पुर्‍याउन सक्ने आप्रवासी नेपालीहरू प्रोत्साहित हुनु आफैमा अन्यौलपूर्ण अवस्था भएको जानकार बताउँछन्।

विदेशबाट रकम जम्मा गर्दा प्राप्त हुने आकर्षक ब्याजदरले पनि मानिसहरू प्रोत्साहित हुन सक्ने सिवाकोटीको विश्वास छ।

तर त्यसका लागि उक्त रकम विदेशबाट औपचारिक माध्यमबाट आएको प्रमाण हुनुपर्छ र तीन वर्षको अवधिभित्र पठाएको हुनुपर्छ।

त्यस्तै विप्रेषण पठाउँदा पठाउने खर्च लाग्छ। राज्यले त्यसरी रकम पठाउँदा लाग्ने महसुल कम गर्न पर्ने विज्ञहरूको सुझाव छ।

असार मसान्तयता आर्थिक परिसूचकमा आएको गिरावट

३.६% मुद्रास्फीति (असार मसान्त)

७.१४% मुद्रास्फीति (फागुन मसान्त)

११.७५ अर्ब डलरविदेशी मुद्रा सञ्चिति (असार मसान्त)

१.२३अर्ब रुपैयाँ बचत शोधनान्तर (असार मसान्त)

९.५८ अर्ब डलरविदेशी मुद्रा सञ्चिति (फागुन मसान्त)

२५८अर्ब रुपैयाँ घाटा शोधनान्तर (फागुन मसान्त)
स्रोतः नेपाल राष्ट्र बैंक 
न्यूनतम शुल्कमा विप्रेषण पठाउन सके अनौपचारिक माध्यमको प्रयोगमा रोक आउँछ थापाले भने।

त्यस्तै नेपालमा आएको रकम सहजै, सस्तो र छिटो सहरी क्षेत्रबाट गाउँघरसम्म पुर्‍याउन सक्ने व्यवस्था हुनुपर्ने जानकारहरू बताउँछन्।

व्यक्तिगत रूपमा ल्याइने विलासी सामानहरूमाथि भने राज्यले नियन्त्रणको प्रयास गर्दागर्दै समस्या यथावत् रहेको सिवाकोटीको दाबी छ।

नियमानुसार नेपालीहरू विदेशबाट आउँदा ल्यापटप र फोनलगायत सामग्री एउटा मात्र ल्याउन पाइने भनिएको छ।

तर उनका अनुसार मानिसहरूले एकै पटक लुकाएर वा भन्सार शुल्क तिर्ने गरी एकभन्दा बढी मोबाइल र ल्यापटप बोकेर आउँछन्।

यसरी ल्याउने व्यक्ति वा सामान पाउनेलाई त फाइदै गर्ला तर राज्यलाई नोक्सानी गर्छ। सामान नल्याएर बदलामा नगद ल्याएको भए देशलाई पैसा आउँथ्यो। विदेशी मुद्राको सञ्चिति बढ्थ्यो सिवाकोटीले भने।

उनका अनुसार हाल विलासिताको सामानको साटो विदेशी मुद्रा नै पठाउनुले पनि अर्थतन्त्रमा टेवा पुर्‍याउन सक्छ।

वीवीसी