काठमाडौं – बीमा कम्पनीकोतर्फबाट तलबी कर्मचारीको रुपमा नभई तोकिएको कमिसनका आधारमा बीमककोतर्फबाट काम गर्ने व्यक्तिलाई नै अभिकर्ता भनिन्छ । बीमाको पहुँच बढाउन अभिकर्ताको अहम भूमिका हुन्छ । बीमा अभिकर्ता बीमा व्यवसायका मेरुदण्ड हुन् भन्दा फरक पर्दैन । जीवन बीमा कम्पनीलाई मानिसहरूको पहुँचमा पुर्याउने प्रमुख भूमिका बीमा अभिकर्ताको हुन्छ ।
मानिसहरु समक्ष गई बीमा पोलिसीहरु बिक्री गरी जीवन बीमा कम्पनीको व्यवसाय फस्टाउने मुख्य भूमिका पनि अभिकर्ताहरूकै हो । बीमाका लागि बीमित माझ पुगेर जनचेतना दिनु नै अभिकर्ताको मुख्य पेसा हो । अभिकर्ताले बीमा उत्पादनको बिक्रीका साथै प्रत्येक वर्ष बीमितलाई बीमा नवीकरण गराउन तथा बीमासम्बन्धी अन्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।
बीमा अभिकर्ताको जिम्मेवारी
१. बीमा अभिकर्ताले बीमा प्राधिकरणबाट प्राप्त बीमाको किसिम समेत खुलेको बीमा अभिकर्ताको इजाजत पत्र सधै साथमा राख्नुपर्ने ।
२. बीमा अभिकर्ताले ग्राहकलाई प्रस्ताव फाराममा खुलाउनु पर्ने सम्पूर्ण विवरणहरू खुलाउन लगाई त्यससँग सम्बन्धित कागजात ग्राहकबाट लिई बीमक समक्ष पेश गर्नुपर्ने ।
३. बीमा अभिकर्ताले ग्राहकलाई बीमालेखमा उल्लेखित सम्पूर्ण सर्त एवं सुविधा बारे पूर्ण जानकारी गराउनुपर्ने ।
४. बीमा अभिकर्ताले ग्राहकको पेसा, सामाजिक हैसियत र स्तर बारे बीमकलाई सत्य जानकारी दिनुपर्ने।
५. बीमा अभिकर्ताले आवश्यकताअनुसार बीमकलाई अण्डरराइटिङ्ग कार्यका लागि आवश्यक पर्ने थप विवरण उपलब्ध गराउनुपर्ने ।
६. बीमा अभिकर्ताले बीमितले अनुरोध गरेमा निर्दिष्ट समयमा बीमा शुल्क बुझाउने, बीमालेख नवीकरण गर्ने, इच्छाइएको व्यक्ति परिवर्तन/चयन गर्ने, बीमालेख बापत ऋण लिने, दाबी गर्ने वा आवश्यक अन्य बीमा सम्बन्धी सेवा पु–याउन सहयोग गर्नुपर्ने ।
७. बीमा अभिकर्ताले ग्राहकलाई बीमाको प्रस्ताव स्वीकृति बारे बीमकको निर्णय अविलम्ब जानकारी गराउनुपर्ने ।
८. ग्राहकले बीमा अभिकर्तामार्फत बीमाशुल्क रकम बुझाएमा अविलम्ब त्यस्तो रकम बुझेको आधिकारिक भर्पाइ वा रसिद बीमा अभिकर्ताले ग्राहकलाई दिनुपर्ने र त्यस्तो बीमाशुल्क काबु बाहिरको अवस्थामा बाहेक सम्भव भएसम्म सोही दिन र सम्भव नभए भोलिपल्ट सम्म सम्बन्धित बीमकलाई दाखिला गर्नुपर्ने ।
अभिकर्ताले के गर्न हुँदैन ?
१. बीमा अभिकर्ताको इजाजत पत्र नवीकरण नगरी बीमा पोलिसी बिक्री गर्न नपाइने ।
२. बीमा अभिकर्ताले ग्राहक बारेको आफूलाई जानकारी भएको विवरणहरू सार्वजनिक गर्न नहुने ।
३ . ग्राहकप्रति दुर्व्यवहार गर्न हुँदैन ।
४ ग्राहकलाई बीमा गर्नको लागि जर्बजस्ति गर्न नहुने ।
५ ग्राहकलाई प्रलोभनमा पार्न आफूले प्राप्त गर्ने कमिशनको कुनै पनि अंश दिन वा दिन्छु भनी फकाउन नपाउने ।
६ बीमालेख बापत प्राप्त हुने रकमको कुनै पनि अंश बीमित वा बीमितको हकवालाबाट लिन नहुने ।
७. बीमा अभिकर्ताले (संस्थाको भए सो को सञ्चालक)ले कुनै पनि बीमकको तलबी कर्मचारी भै काम गर्न नपाउने ।
८. कुनै बीमकको बीमा अभिकर्ता भै कार्यरत व्यक्ति वा संस्था वा सो संस्थाका सञ्चालक वा निजको नजिकको नातेदारले कुनै पनि बीमकको संस्थापक वा सञ्चालक हुन वा कुनै पनि बीमकको १० प्रतिशत वा सो भन्दा बढी शेयर लिन नपाउने ।
९. कुनैपनि गैरकानुकी काममा संलग्न हुन् नपाइने ।
बीमा अभिकर्ता बन्न शैक्षिक योग्यता कति हुनुपर्छ ?
बीमा अभिकर्ताको काम गर्न धेरै मानिसहरुको जिज्ञासा एउटै हुने गरेको पाइन्छ, कति शैक्षिक योग्यता चाहिन्छ वा के पढेको हुनु पर्दछ । बीमा अभिकर्ता बन्न वा हुनका लागि यो पढेको वा यति नै शैक्षिक उपाधि हासिल गरेको हुनु पर्छ भन्ने छैन । तर, पनि बीमा अभिकर्ता बन्नका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको पढाई उर्तीण गरेको हुनुपर्छ । योग्यता पुगेका जो कोहीले पनि अभिकर्ता बन्न सक्नेछन् । सामाजिक कार्यमा संलग्न भई बीमा पोलिसी आफू पनि र अरूलाई पनि बुझाउन सक्ने भएमा उचित हुन्छ ।
प्रतिक्रिया