शेयर बजारबाट बेपत्ता फ्ल्योर हिमालयन लिमिटेडले ५००% हकप्रद जारी गर्ने

शेयर बजारबाट बेपत्ता फ्ल्योर हिमालयन लिमिटेडले ५००% हकप्रद जारी गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शेयर बजारमा उत्पादनमुलक समुह अन्तर्गत सूचीकृत भई बेपत्ता भएको फ्ल्योेर हिमालयन लिमिटेडले आगामी कात्तिक १६ गते २६ औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले सभा अगेनो रेष्टुरेण्ट कन्फरेन्स हल धोबीघाट, ललितपुरमा अपरान्ह २ बजे साधारण सभा बोलाएको हो ।  फ्ल्योर हिमालयन लिमिटेडको २५ औं वार्षिक साधारण सभाबाट पारित १ः५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय पुनः पारित गर्ने प्रस्ताव पारित गर्ने भएको हो ।

सभाले हकप्रद शेयर नबिकेको खण्डमा सञ्चालक समितिको निर्णय बमोजिम बिक्री गर्न सञ्चालक समितिलाई पूर्ण अख्यितारी दिने तथा हकप्रद निष्काशनसँग सम्बन्धीत कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने साधारण सभामा विशेष प्रस्ताव राखेको छ ।

यस्तै सभामा लक्ष्मी बैंक मार्फत सञ्चालक समितिको निर्णय अनुसार ११ करोड रुपैयाँ ऋण लिनका लागि कम्पनीका प्रबन्ध सञ्चालक अजय बहादूर प्रधानाङ्गको नाममा रहेको कामपा वडा नम्बर २५ मा रहेको कित्ता नम्बर ३४० को ०(२(०(२ क्षेत्रफलको जग्गा धितोमा दिने निर्णय समेत साधारण सभाबाट विशेष प्रस्तावको रुपमा अनुमोदन गराउने भएको छ ।

कम्पनीले यसअघिको सभाबाट पनि सोही जग्गा धितोमा राखेर ८ करोड ऋण लिने निर्णय गरेपनि सो कार्यान्वयनमा जान नसकेपछि पुनः आगामी साधारण सभाबाट अनुमोदन गर्न लागेको हो ।

साथै सभाले आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज २४ गतेदेखि कात्तिक १५ गतेसम्म शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।

शेयर बजारमा पुनः फर्कने तयारीमा

करिब डेढ दशक वर्षअघि सर्वसाधारणमा प्रतिकित्ता ७५ रुपैयाँ अंकित दरमा जारी पूँजीको दश प्रतिशत शेयर सर्वसाधारणमा जारी गरेको फ्ल्योर हिमालयन लिमिटेड हाल शेयर बजारबाट वेपत्ता रहेको छ ।

दशक अघिदेखि शेयर बजारबाट बेपत्ता भएको योकम्पनी शेयर बजारमा फर्कने तयारी गरेको हो । कम्पनीले नेप्सेलाई तिर्नुपर्ने बाँकी रकम भुक्तानी गरेर नियमित कारोबारमा आउने प्रकृयामा अगाडि बढाएको जनाएको छ ।

फ्ल्योर हिमालयन लिमिटेडले विभिन्न पशुका लागि आयुर्वेदिक मेडिसिनहरु (डर्मेक्स ओइन्टमेन्ट, एकेएफ सिरप, कफनिल सिरप, फ्ल्योर अश्वागन्धा क्याप्सुल, माना न्यूट्रेसन, मास्टि केयर) लगायतका प्रोडक्टहरु उत्पादन गर्दै आएको छ ।

कम्पनीले लक्ष्मी बैंकबाट ११ करोड ऋण लिएर व्यवस्था विस्तार गर्ने तथा पुनः चुक्ता पूँजीको ५०० प्रतिशत हकप्रदबाट पूँजी वृद्धि गरी शेयर बजारमा फर्कने तरखर गरेको हो । फ्ल्यूर हिमालयन लिमिटेडको दुई लाख ६२ हजार १०२ कित्ता शेयर स्टकमा सूचीकृत छ ।

डेढ दशकअघि थोरै चुक्ता पूँजी रहेकाले आगामी दिनमा कम्पनी सञ्चालनका लागि पनि पूँजी वृद्धि आवश्यक रहेकाले फ्ल्योर हिमालय लिमिटेडले हकप्रदको बाटो रोजेको हो । हकप्रद निष्काशनसँग कार्य गर्न र सबै हकप्रद शेयर बिक्री नभएको खण्डमा सञ्चालक समितिको निर्णय बमोजिम बिक्री गर्न समेत पूर्ण अख्तियारी समेत अगामी साधारण सभाबाट दिने भएको छ ।

फ्ल्योर हिमालयलाई हालसम्म नेप्सेले डि लिस्टेड गरिसकेको छैन । सूचीकृत शुल्क नबुझाउँदा कम्पनीको शेयर कारोबार भने दशक अघिदेखि निलम्बित छ । यस कारण नियमित कारोबारमा छैन । शुल्क र आवश्यक पर्ने नेप्सेले माग गरेको कागजात बुझाए कम्पनीको शेयर कारोबार निलम्बनको फुकुवा हुनसक्ने नेप्सेका एक अधिकारीले बताए ।

सरकारले बजेट मार्फत नै कर छुट सहित वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजीबजारमा भित्र्याएर बैंक तथा वित्तीय संस्थाहरुको हिस्सा घटाउन लागेको अवस्था छ । तर नेप्सेमा सूचीकृत भई करिब दशक अघिदेखि लगानीकर्ताको रकम डुबाएर करिब एक दर्जन कम्पनी अझै बेपत्ता छन् । ख कम्पनी शेयर बजारमा पुनः कमब्याक हुनु सम्बन्धीत कम्पनीका लगानीकर्ताका लागि पनि खुशीकोे कुरा हो ।

उत्पादनमुलक समुहमा सूचीकृत युनिलिभरले ६५० प्रतिशत लाभांश दिइरहेको छ भने शेयरबजारमा सबैभन्दा धेरै मूल्य प्रतिकित्ता (१९ हजार ७५० रुपैयाँ) छ ।

बोटलर्स नेपाल तराईको १० हजार ३००रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ हजार ६९० रुपैयाँ, बोटलर्स नेपाल बालाजुको १ हजार ९०३ रुपैयाँ, शिवम् सिमेन्टस् १ हजार ३३२ रुपैयाँ र नेपाल ल्यूब आयलको प्रतिकित्ता ३१६ रुपैयाँमा कारोबार भइरहेको छ । स्टकमा कूल १९ वटा उत्पादनमूलक कम्पनीको शेयर सूचीकृत भए पनि ६ कम्पनीका मात्रै कारोबार हुने गरेका छन् । तेह्र कम्पनीको नियमित कारोबार छैन ।

कारोबार बन्द रहेको कम्पनीहरुमा श्रीराम सुगर मिल, अरुण वनस्पती उद्योग लिमिटेड, विराट सुज लिमिटेड, बुटवल स्पिनिङ मिल्स लिमिटेड, गोरखकाली रबर उद्योग लिमिटेड, हरिसिद्धी इँटा तथा टायल उद्योग, ज्योति स्पिनिङ मिल्स, नेपाल विटुमिन एण्ड ब्यारेल उद्योग, नेपाल वनस्पति घ्यू उद्योग, भृकुटी कागज कारखाना, नेपाल खाद्य उद्योग, रघुपति जुट मिल नियमित कारोबारमा छैनन् ।