सर्वोत्तम सिमेन्टको आइपिओ बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल, कति निर्धारण होला मूल्य?

सर्वोत्तम सिमेन्टको आइपिओ बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल, कति निर्धारण होला मूल्य?


बैकिङ्ग समाचार । 

सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकका रुपमा नियुक्त गरेको छ। सह बिक्री प्रवन्धकका रुपमा एनआइबिएल एस क्यापिटल र प्रभु क्यापिटल नियुक्त भएका छन्।  हाल ३ अर्ब ४० करोड चुक्ता पुँजी रहेको कम्पनीले ६० लाख कित्ता सेयर सर्वसाधारण समूहलाई जारी गरेर ४ अर्ब पुर्याउने भएको हो। सो सेयर संख्यामध्ये संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता दिइनेछ।

त्यस्तै स्थानीय जिल्लाबासीलाई ८ लाख र कम्पनीका कर्मचारी तथा सर्वसाधारणलाई २८ लाख कित्ता सेयर वितरण गरिनेछ। बुक बिल्डिङबाट कम्पनीले सेयरको मूल्य निर्धारण गर्नेछ।  सर्वोत्तमको दैनिक क्लिंकर उत्पादन क्षमता ३ हजार मेट्रिक टन छ भने वार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन हुने दावी गरेको छ। 

वार्षिक १ अर्बभन्दा बढी नाफा कमाउँदै आएको कम्पनीले जनाएको छ। विगत तीन वर्षको औसत प्रतिसेयर आम्दानी ५२ रुपैयाँ रहेको र आगामी ३ वर्षको औसत प्रतिसेयर आम्दानी ४५ रुपैयाँभन्दा बढी हुने कम्पनीको प्रक्षेपण छ।  कम्पनीको जगेडा कोष गत माघ मसान्तसम्म २ अर्ब ३१ करोडको छ। हाल २० अर्ब रुपैयाँ बराबरको सम्पत्ति रहेको कम्पनीको दावी छ। 

आइपिओबाट प्राप्त रकममध्ये ४० प्रतिशत रकम ऋण भुक्तानी गरी बाँकी ६० प्रतिशत रकमले उत्पादन क्षमता दोब्बर पार्ने योजना रहेको कम्पनीले जनाएको छ।  आइपिओ जारी भएपश्चात पहिलो ३ महिनाभित्रै १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने योजना रहेको कम्पनीको दावी छ। इक्रा बाट कम्पनीले बीबीबी प्लस रेटिङ पाएको छ। 

कति निर्धारण होला मूल्य?

सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७५० रुपैयाँमा प्राथमिक सेयर (आइपिओ) जारी गर्नका लागि प्रस्ताव गरेको छ। कम्पनीले सो मूल्य प्रस्ताव गरे पनि बुक बिल्डिङबाट तय हुने मूल्यपछि मात्रै आइपिओको मूल्य निर्धारण हुनेछ।  धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त बुक बिल्डिङ कम्पनीहरुले अब सर्वोत्तम सिमेन्ट उद्योगको वित्तीय स्थितिबारे गहन अध्ययन गर्नेछन्। 

सर्वोत्तम सिमेन्टका हकमा कुल ६० लाख कित्तामध्ये २४ लाख कित्ता सेयर बुक बिल्डिङ कम्पनीहरुले किन्ने छन्। ती कम्पनीहरुले आफूले तिर्न तयार रहेको मूल्य र खरिद गर्न चाहेको सेयर संख्या तोकेर आशय प्रस्ताव गर्छन्। २४ लाख कित्ता नै लिनेगरी आशय प्रस्ताव गर्ने कम्पनीको संख्या कम्तीमा १० हुनुपर्नेछ। 

तिनै आशयपत्रमा उल्लेखित मूल्यबाट कम्पनीले आधार दर तय गर्दछ। यदी कम्पनीको आधार दर ७६० रुपैयाँ रहेमा सोको २० प्रतिशत न्यूनतमसम्म अर्थात ६०८ रुपैयाँ र २० प्रतिशत अधिकतमसम्म अर्थात ९१२ रुपैयाँसम्म मूल्यको सीमा तय हुन्छ।  अब बुक बिल्डिङ कम्पनीहरुले मूल्य बढाबढका आधारमा न्यूनतम ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म तोक्न सक्नेछन्। सोही सीमामा रहेको मूल्यमध्ये धेरै प्रस्ताव गर्नेलाई प्राथमिकता दिई बोलकबोलका आधारमा २४ लाख कित्ता सेयर बिक्री गरिनेछ। 

बोलकबोलमा अन्तिम मूल्य (कट अफ प्राइस) जति निर्धारण हुन्छ, सोको १० प्रतिशत छुट दिएर सर्वसाधारणलाई मूल्य तोकिन्छ। यदी कटअफ प्राइस ८ सय रुपैयाँ भएमा ७२० रुपैयाँमा सर्वसाधारणलाई बिक्री गर्नका लागि धितोपत्र बोर्डमा प्रस्ताव हुनेछ। बोर्डले सोही मूल्यमा स्वीकृति दिएमा कम्पनीको आइपिओ मूल्य ७२० रुपैयाँ कायम हुनेछ।