बैंकिङ्ग समाचार, काठमाडौं– पछिल्लो दुई वर्षयता लघुवित्त क्षेत्र ठूलो आर्थिक संकटको चपेटामा फसेकाे छ । ग्रामिण क्षेत्रमा गरिबी न्युनीकरण र वित्तीय पहुँच विस्तारको उद्देश्यले ३० वर्षको छोटो समयमा नेपालभर फैलिएको लघुवित्त क्षेत्र आफैँ चरम समस्यामा पुगेकाे हाे । चरम मुनाफाखोर भएर महिला तथा गरिबलाई ऋणको पासोमा पारेको आरोप लघुवित्त क्षेत्रलाई लाग्दै आएको छ ।
लघुवित्त खारेजीका लागि आन्दोलनसमेत हुँदै आएको छ । तर के पछिल्लो समय लाग्दै आएको आरोप यथार्थ हो ? ‘यस्तो आरोपमा सत्यता छैन, बरु लघुवित्तले वित्तीय साक्षरता बढाउन सहयोग गरेका छन्, चुलोचौकोमा सीमित महिलालाई आफैँ उद्यमी बनाउन लघुवित्तले सहयोग गरेको छ,’ नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव बताउँछन् । केही लघुवित्तले गल्ती गरे भन्दैमा सबैलाई एउटै डालोमा हाल्न नमिल्ने उनको भनाइ छ । उनले गल्ती गर्नेलाई कारबाही गनुपर्ने तर समग्र लघुवित्त क्षेत्रलाई निरुत्साहित गर्न नहुने उनले बताए ।
बरु ऋण असुली गर्नै हम्मेहम्मे भएर ठूलो चुनौतीको सामना गर्नुपरेको लघुवित्तकर्मीहरूको भनाइ छ । ‘लघुवित्त ग्रामिण क्षेत्रका लागि निकै प्रभावकारी बनेको छ । स्वालम्बन बन्न सिकाएको छ । आफैँ उद्यमी बनेर आत्मनिर्भर हुन सिकाएको छ,’ महिला लघुवित्तका सीईओ कृष्णप्रसाद न्यौपानले भने, ‘आफू हाइलाइटमा आउन केही अराजक मान्छेहरूले आफ्नो राजनीतिक यात्रालाई सहयोग हुने उद्देश्यले भ्रामक प्रचार गरे ।’
२८ लाखलाई ४ खर्ब ३२ अर्ब लगानी
लघुवित्तको विकास बंगलादेशबाट सुरु भएको हो । प्रोफेसर मोहम्मद युनिसको अवधारणमा सन् १९७० को दशकमा ‘ग्रामिण विकास’बाट सुरु भएको लघुवित्त त्यसको २० वर्षपछि नेपाल छिर्याे । पाँच सरकारी ग्रामिण र दुई गैरसरकारी संस्थाबाट सुरु भएको लघुवित्तको विकासका क्रममा नेपालमा ९१ वटासम्म लघुवित्त पुगे । पछिल्लो समय मर्जरका क्रममा उक्त संख्या ५७ मा सीमित भएको छ । जसमध्ये ५१ वटा संस्था नेपाल लघुवित्त बैंकर्स संघमा आबद्ध छन् ।
संघका अध्यक्ष यादवका अनुसार नेपालमा हाल लघुवित्तमा ५९ लाख ८० हजार सदस्य रहेका छन् । जसमध्ये २८ लाखले ४ खर्ब ३२ अर्ब ऋण लिएका छन् । उक्त ऋणबाट विभिन्न उद्यम गरेर ग्रामिण क्षेत्रकाे उत्पादन निर्यात समेत भइरहेको उनले बताए । यसले केही वर्षमै ग्रामिण क्षेत्रका महिला, विपन्न, असहाय, पीडित, दलित, शोषितहरू वित्तीय रूपमा साक्षर भइ आत्मनिर्भर समेत भएको उनको भनाइ छ ।
ऋण लिनेमध्ये ९५ प्रतिशत महिला रहेका छन्, अर्थात् २६ लाख ६० हजारभन्दा बढी महिलाले लघुत्तिबाट ऋण लिएर उद्यम गरेका छन् । लघुवित्तबाट ऋण लिँदा धितो आवश्यक नपर्ने भएकाले पनि विपन्न वर्गको आकर्षण बढेको उनी बताउँछन् ।
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई ‘घ’ वर्गमा समावेश गरेको छ । लघुवित्तलाई नेपाल राष्ट्र बैंकले नै नियमन गर्ने गर्दछ । लघुवित्तले बचतसँगै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकबाट ऋण लिएर लगानी गर्ने गरेका छन् । हाल लघुवित्तको त्यस्तो ऋण २ खर्ब १६ अर्ब र निक्षेप भने १ खर्ब ६५ अर्ब रहेको छ ।
यसैगरी लघुवित्त क्षेत्रले प्रत्यक्ष २२ हजार रोजगारी सिर्जना गरेको यादव बताउँछन् । यद्यपि, पछिल्लो समय यस क्षेत्रका कर्मचारी भने घटिरहेको उनको भनाइ छ । उनले भने, ‘केही समयअघिसम्म लघुवित्त क्षेत्रमा २४ हजार ३०३ कर्मचारी थियो, त्यो संख्या घटेर अहिले २१ हजार ९२३ मा सीमित भएको छ ।
किन देखियो समस्या ?
लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष वसन्तराज लम्साल आर्थिक मन्दीको असर सबै क्षेत्रमा परेकाले लघुवित्त क्षेत्र पनि त्यसैको शिकार भएको बताउँछन् । लघुवित्तमा धेरै मानिस जोडिएकाले पहिले यस क्षेत्रको समस्या सतहमा देखिए पनि बैंकहरूमा पनि विस्तारै यस्तो समस्या देखिने बताए ।
यद्यपि, पछिल्लो समय लघुवित्त क्षेत्र नै खारेज हुने अवस्था आएको जस्तो भ्रामक हल्ला फैलिएकोमा त्यो सम्भावना नररहेको उनी बताउँछन् । ऋण मिनाहको माग गरी केही मानिस सडकमा उत्रिएको र उनीहरूले नै यस्तो हल्ला फैलाएको उनको बुझाइ छ । उनी भन्छन्, ‘निजी संस्थाले ऋण मिनाहा गर्दैन । सरकारले ऋण मिनाह गरिदिन्छु भनेर संस्थालाई पैसा दिन्छ भने त्यो अर्काे कुरा हो ।’ तर अहिले ऋण मिनाह गरिदिने अवस्थामा सरकार पनि नरहेको उनले बताए ।
प्रतिक्रिया