सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा नेपाल आयल निगम 

सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा नेपाल आयल निगम 


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औँ वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औँ पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताएका हुन् । 

उनले कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणको लागि आईपीओ जारी गर्न प्रतिबद्ध रहेको बताए । उनले सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताए । उनले व्यवसायीहरूलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आईपीओ दिने तयारी रहेको बताए । विभिन्न प्राविधिक पक्षहरु रहेकाले केही समय लाग्ने बताए । उनले ग्यास व्यवसायीहरूप्रति आयल निगम निर्मम हुने सोचमा नभएको उनको भनाई थियो । 

\"\"

उनले भने, ‘ग्यास व्यवसायीहरूप्रति आयल निगम निर्मम हुने सोचमा छैन । सरकारले व्यवसायीहरूका मागहरू समय सापेक्ष रूपमा सम्बोधन गर्दै जान्छ । केही मागहरू सम्बोधन गर्नुपर्ने छ । मागहरू सञ्चालक समितिमा अड्किएर बसेका पनि छन् । व्यवसायीहरूमा मागहरू चाँडै सम्बोधन गर्नेछौँ । नेपाल आयल निगमले वि.स.२०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको अवस्था छ । मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउने हिसाबले आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको अवस्था छ । जनता,व्यवसायी र अन्य सबै क्षेत्रले स्वीकार गरेर अर्थतन्त्रमा टेवा पुर्‍याउनुपर्ने आवश्यकता छ । आयल निगम गएको आर्थिक वर्ष नाफामा रह्यो । स्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भए पनि नाफामा रहन्छौँ । सधैँभरि नेपाल आयल निगम घाटामा रह्यो भन्ने अवस्था पनि होइन ।’

नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले डिजेल पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू गर्न माग गरे । उनले एलपी ग्याँसको मूल्य अचानक बढ्दा व्यवसायीहरूलाई समस्या भइरहेको बताए।  उनले व्यवसायमा लागत अनुसारको मुनाफा आवश्यक हुने भन्दै आयात गर्ने र निर्यात गर्ने मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्याँस उद्योगले विभिन्न समस्या भोग्नुपरेको गुनासो गरे ।

उनले ग्याँस उद्योगीहरूको नाफा १० वर्ष अगाडिको ३२ रुपैयाँ अहिलेसम्म कायम रहेको बताउँदै निगमले पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू नगरेर ग्याँस उद्योगीहरूलाई पाखा लगाएको आरोप लगाए ।