सिटिजन्स बैंकका नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण, फरार रहेका थप ४ कर्मचारीको विवरण पत्ता लाग्यो

सिटिजन्स बैंकका नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण, फरार रहेका थप ४ कर्मचारीको विवरण पत्ता लाग्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।

नक्कली शैक्षिक प्रमाणपत्रमा फरार रहेका सिटिजन्स बैंकका ४ कर्मचारीको विवरण पत्ता लागेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गर्न लागेको सूचना थाहा पाए पछि फरार रहेका थिए । प्रहरीको उच्च स्रोतले दिएको जानकारी अनुसार यसरी भागेका कर्मचारीहरुमा दिपककुमार झा, सुशान्त शर्मा, सुनिता भुसाल र चेतबहादुर थापा छन् । उनीहरु सिटिजन्स बैंकले प्राप्ति गरेको तिनाउ मिसन डेभलपमेन्ट बैंकमा काम गर्दे आएका थिए। प्रमोसनका बेला सर्टिफिकेट छानविनका क्रममा उनीहरुले नक्कली सर्टिफिकेटका आधारमा जागिर खाएको आशंकामा बैंकले त्रिभुवन विश्वविद्याललाई समकक्षता प्रमाणीकरणका लागि पठाएको थियो ।

त्रिभुवन विश्वविद्यालयले पनि आफ्नो विश्वविद्यालयका नाममा जारी भएको समकक्षता सर्टिफिकेट नक्कली भएको पाएपछि प्रहरीलाई पत्राचार गरेको थियो । त्यसपछि ६ जना पक्राउ परेका थिए भने ४ जना फरार रहेका थिए । नक्कली प्रमाणपत्रधारी धेरैजसो सोर्सफोर्समा भर्ना भएका बैंक स्रोत बताउँछ ।

उनीहरूले भारतका कलेजमा अध्ययन गरेको भनेर नक्कली प्रमाणपत्र पेस गरेका थिए । यही साउन २९ गते नकल्ली शैक्षिक प्रमाणपत्रमा सिटिजन बैंकका ६ जना कर्मचारी पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सिटिजन्स बैंकमा सेवा प्रवेश गरेका ६ जना कर्मचारीलाई  नियन्त्रणमा लिएको थियो । 

पक्राउ पर्नेहरूमा बैंकको बुटलवस्थित ड्राइभरटोल ब्रान्चमा कार्यरत मनीषा मास्के, मनिग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालिकानगर ब्रान्चमा कार्यरत कल्पना खत्री, सोही ब्रान्चमा कार्यरत प्रतीक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खिमानन्द गौतम र दीपक विष्ट रहेका छन् ।