बैंकहरुले लिनै छाडे राष्ट्र बैंकसँग अल्पकालीन सापटी

बैंकहरुले लिनै छाडे राष्ट्र बैंकसँग अल्पकालीन सापटी


बैंकिङ्ग समाचार, काठमाडौं ।

बैंक तथा वित्तीय संस्थाले २०८० साल लागेसँगै नेपाल राष्ट्र बैंकसँग स्थायी तरलता सुविधा (एसएलएफ) लिन छाडेका छन् । चरम तरलता अभावमा रहेको बेला बैंकले अल्पकालिन सापटी भनेर चिनिने स्थायी तरलता सुविधा ज्यादा प्रयोग गर्ने गर्छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुले अन्तिम पटक चैत ३० गते सापटी लिएका थिए । उक्त दिन ६ करोडमात्र एसएलएफ लिएका छन् । चैतभित्र ११ पटकमा ७ अर्ब ९१ करोड रुपैयाँ सापटी लिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकका अनुसार साउनदेखि चैतसम्म २७ खर्ब २६ अर्ब ८१ करोड रुपैयाँ अल्पकालीन सापटी लिएका छन् । पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकम बढेसँगै बैंकहरुले अल्पकालीन सापटीमा चासो दिएका छैनन् । अहिले बैंकहरुमा २ खर्बभन्दा बढी लगानीयोग्य रकम रहेको बैंकर्सहरु बताउँछन् ।

तर, लगानीयोग्य रकम भए पनि ऋण नउठ्ने समस्या बढेपछि बैंकहरु थप लगानी गर्न डराइरहेको देखिन्छ । चैतसम्म बैंकहरुको कर्जाको ब्याज तथा किस्ता असुलीमा समस्या हुँदा खराब कर्जा ह्वात्तै बढेको छ । बैंकहरुलाई कर्जा असुली अहिले टाउको दुखाइको विषय बनेको छ ।

राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधाका रूपमा सात दिनका लागि अल्पकालीन सापटी दिँदै आएको छ । बैंक तथा वित्तीय संस्थाको अनुरोधमा तरलता व्यवस्थापन गर्न सरकारी ऋणपत्रको धितोमा राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो ।