माघ मसान्तसम्म बैंकहरूको नाफा करिब ४५ अर्ब पुग्यो, कुन बैंकले कति कमाए ?

माघ मसान्तसम्म बैंकहरूको नाफा करिब ४५ अर्ब पुग्यो, कुन बैंकले कति कमाए ?


बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को सात महिने अवधिमा बैंक तथा वित्तीय संस्थाले ४४ अर्ब ८५ करोड नाफा कमाएको विवरण सार्वजनिक गरेको छ। माघ मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले करिब ४५ अर्ब नाफा कमाएका हुन्। राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म ३६ अर्ब ८८ करोड रहेको बैंकहरुको कुल नाफा एक महिनामै करिब ८ अर्बले वृद्धि भएको छ। माघ मसान्तसम्म बैंकहरुको कुल पुँजीकोष ६ खर्ब ७१ अर्ब २७ करोड रहेकामा चुक्ता पुँजी ४ खर्ब २४ अर्ब ८३ करोड, जगेडा कोषमा १ खर्ब ३५ अर्ब १९ करोड र सञ्चित कोषमा ११ अर्ब १५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

माघ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल नाफा ४१ अर्ब ९ करोड, विकास बैंकहरुको ३ अर्ब २० करोड र फाइनान्स कम्पनीहरुको ६२ करोड रहेको छ। माघ मसान्तसम्म नबिल बैंकको नाफा ४ अर्ब नाघेको छ। बैंकले सर्वाधिक ४ अर्ब १३ करोड नाफा आर्जन गरेको देखिएको छ। 

राष्ट्र बैंकका अनुसार सात महिने अवधिमा ३ वटा बैंकको नाफा ३ अर्ब नाघेको छ। एनआईसी एसिया बैंकले ३ अर्ब ६८ करोड, ग्लोबल आईएमई बैंकले ३ अर्ब ५५ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ७ करोड रुपैयाँ नाफा आर्जन गरेका हुन्।

पुस मसान्तसम्म ३६ अर्ब ८८ करोड रहेको बैंकहरुको कुल नाफा एक महिनामै करिब ८ अर्बले वृद्धि भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ७० करोड, एनएमबी बैंकले २ अर्ब २४ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब २ करोड नाफा कमाएका छन्।

प्राइम कमर्सिलय बैंकले २ अर्ब, एभरेष्ट बैंकले १ अर्ब ८८ करोड, नेपाल बैंकले १ अर्ब ७१ करोड, प्रभु बैंकले १ अर्ब ६६ करोड, सानिमा बैंकले १ अर्ब ५३ करोड र कुमारी बैंकले १ अर्ब ५० करोड रुपैयाँ नाफा आर्जन राष्ट्र बैंकको विवरणमा उल्लेख छ।

सिद्धार्थ बैंकले १ अर्ब ४५ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड, हिमालयन बैंकले १ अर्ब ३० करोड, लक्ष्मी बैंकले १ अर्ब २८ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब १८ करोड र सिटिजन्स बैंकले १ अर्ब २ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।
माघ मसान्तसम्म आर्जित नाफा १ अर्ब नपुग हुनेमा ३ वटा बैंक रहेका छ। सन्राइज बैंकले ८६ करोड, सिभिल बैंकले ७८ करोड र कृषि विकास बैंकले १० करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले बताएको छ।

राष्ट्रिय स्तरका विकास बैंकमा गरिमा विकास बैंकले ५८ करोड ७३ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले २१ करोड ९७ लाख, ज्योति विकास बैंकले ११ करोड १४ लाख, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ४९ करोड २ लाख, महालक्ष्मी विकास बैंकले ३६ करोड ४२ लाख, लुम्बिनी विकास बैंकले ३० करोड ५६ लाख, कामना सेवा विकास बैंकले २६ करोड २१ लाख नाफा आर्जन गरेका छन्।

विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक ७३ करोड ७९ लाख नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।