काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न लगानी बोर्डको ६१औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने संगठन संरचनाको खाका स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले विभिन्न निर्देशनालयसहितको संगठन संरचना खाका पारित गरेको हो ।
पाँच वर्षे रणनीतिअनुसार बोर्डले ४२ परियोजनाको सम्झौता गर्ने, अधिकतम १४ परियोजनाको निर्माण कार्य अघि बढाउने, ११ परियोजनालाई सञ्चालनमा ल्याउने र ९२ वटा निजी लगानी परियोजनाको स्वीकृति दिने लक्ष्य लिएको छ ।
बैठकमा बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँगै उपाध्यक्ष उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का, मुख्यसचिव एकनारायण अर्याललगायत वरिष्ठ सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया