आफ्नो ‘बेडरुम’सम्म विचौलियाको पहुँच छ भन्नेहरूलाई आरोप प्रमाणित गर्न प्रधानमन्त्रीको चुनौती

आफ्नो ‘बेडरुम’सम्म विचौलियाको पहुँच छ भन्नेहरूलाई आरोप प्रमाणित गर्न प्रधानमन्त्रीको चुनौती


काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म विचौलियाको पहुँच छ भनेर लाञ्छित गर्नेहरू आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीले लाज—सरम  पचाएर यस्ता आरोप लगाउँछन् भने ।

देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उनले राजनीतिक स्थायित्व, विकास र सुशासनले गति लिन लागेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए ।

‘झुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ  कि मानौँ, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौँ?, हामीले कुनै अपराध गरिरहेका छौँ ? प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने,’आजकाल नीलो रङका स्यालहरु निकै हाउभाउ गरिरहेका छन् । तिनीहरुको वास्तविक रुप लामो समय टिक्ने छैन । एमालेले आफूूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्ने लक्ष्यमा छौँ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौँ ।’