घट्दै वाणिज्य बैंकको प्रतिशेयर आम्दानी, १५ बैंकको २० रुपैयाँभन्दा तल

घट्दै वाणिज्य बैंकको प्रतिशेयर आम्दानी, १५ बैंकको २० रुपैयाँभन्दा तल


काठमाडौं – चालू आर्थिक वर्ष (आव) तेस्रो त्रैमास (चैत मसान्त)सम्मको तथ्यांकअनुसार १० वटा वाणिज्य बैंकको प्रतिशेयर आम्दानी घटेको छ । बैंकहरुले सार्वजनिक गरेको यस अवधिसम्मको वित्तीय विवरणअनुसार १० वटा बैंकको प्रतिशेयर आम्दानी गत वर्षको यही अवधिको तुलनामा घटेको हो । 

तथ्यांकअनुसार यस अवधिमा गत आवको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको ईपीएस ०.०८ पैसाले घटेको छ । त्यस्तै सिद्धार्थको ०.२१ रुपैयाँ, स्ट्यान्डर्ड चार्टडको ५.७५ रुपैयाँ, लक्ष्मी सनराइजको ०.२४ रुपैयाँ, कुमारीको ३.९ रुपैयाँ, सिटिजसको २.६७ रुपैयाँले घटेको छ। त्यस्तै, कृषि विकासको ६.३१ रुपैयाँ, प्राइम कमर्सियलको ४.४६ रुपैयाँले प्रतिशेयर आम्दानी घटेको छ ।

गत आवको तुलनामा सबैभन्दा बढी इपीएस घट्ने बैंकमा एनआईसी एशिया र हिमालयन बैंक रहेका छन् । एनआईशी एशियाको गत वर्षको सोही अवधिको तुलनामा यस त्रैमाससम्मको अवधिमा १५.८८ रुपैयाँले घटेको छ । यस्तै, हिमालयनको ८.९१ रुपैयाँले घटेको छ । यी बैंकहरुको गत वर्षको यही अवधिसम्मको अवधिमा एनआईसी एशियाको १७.२ रुपैयाँ र हिमालयनको ११.९९ रुपैयाँ ईपीएस थियो । त्यस्तै, गत वर्षको यही अवधिमा स्ट्याण्डर्ड चार्टडको ३४.६ रुपैयाँ प्रतिशेयर आम्दानी थियो । जुन, वाणिज्य बैंकहरुमध्येको सबैभन्दा धेरै हो ।

यस्तै, यस अवधिमा १० बैंकको भने मूल्य प्रतिशेयर आम्दानीमा भने वृद्धि देखिएको छ । ईपीएस बढ्ने बैंकहरुमा एनएमबि, नेपाल बैंक, नबिल, ग्लोबल आईएमई, नेपाल एसबिआई, प्रभु, एभरेष्ट, माछापुच्छ्रे र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् । यी बैंकहरुमध्ये सबैभन्दा नेपाल बैंकको ईपीएस सबैभन्दा धेरैले बढेको तथ्यांकमा देखिन्छ ।

गत आवको तुलनामा यस बैंकको एपीएसमा २४ रुपैयाँभन्दा बढीको वृद्धि आएको हो । यस्तै, बैंकहरुले सार्वजनिक गरेको २०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ५ वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी २० रुपैयाँभन्दा बढी छ । अन्य १५ वटा बैंकहरुको प्रतिशेयर आम्दानी भने क्रमशः घट्दो अवस्थामा रहेको हो ।

दोस्रो बजारमा लगानी गर्नुभन्दा पहिले लगानी गर्न लागेको कम्पनीको प्रतिशेयर आम्दानीको अवस्था बारे बुझ्न जरुरी छ ।  अनुभवी लगानीकर्ताले शेयर बजारमा लगानी गर्नुभन्दा पहिले कम्पनीको कुल नाफाभन्दा पनि कम्पनीको प्रतिशेयर नाफा हेर्ने गर्छन् । कुनै पनि कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँभन्दा माथि भएको कम्पनीलाई राम्रो मान्न सकिन्छ । तर, सो कम्पनीको प्रतिशेयर आम्दानी लगातार बढेको भने हुनुपर्छ । 

कुन बैंकको कति ?
२० वाणिज्य बैंकहरु मध्ये हाल नेप्सेमा १९ वटा वाणिज्य बैंकहरुको कारोबार हुँदै आएको छ । जसमध्ये ५ वटा वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी २० रुपैयाँ भन्दा बढी रहेको छ । २० रुपैयाँभन्दा माथि प्रतिशेयर आम्दानी भएका वाणिज्य बैंकहरुमा एभरेष्ट, स्ट्याण्डर्ड चार्टड, नेपाल बैक, नबिल, र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । यसमध्ये राष्ट्रिय वाणिज्य बैंकको शेयर नेप्सेमा कारोबार छैन ।

चालू वर्षको यो अवधिमा सबैभन्दा बढी प्रतिशेयर आम्दानी हुनेमा एभरेष्ट बैंक रहेको छ । यस बैंकको प्रतिशेयर आम्दानी ३५.६१ रुपैयाँ छ । गत वर्षको यही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २९.५५ रुपैयाँ थियो । यस वर्ष बैकको प्रतिशेयर आम्दानीमा ६ रुपैयाँ ६ पैसाको वृद्धि देखिएको हो ।

त्यसैगरी स्ट्याण्डर्ड चार्टडको २८ रुपैयाँ ८६ पैसा प्रतिशेयर आम्दानी रहेको छ । गत आव यही अवधिको तुलनामा यस वर्षको प्रतिशेयर आम्दानी ५.७४ रुपैयाँको गिरावट देखिएको हो । त्यस्तै, नेपाल बैंकको २५.२६ रुपैयाँ, नबिलको २५.५ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २०.१७ रुपैयाँ प्रतिशेयर आम्दानी छ । कुमारीको १ रुपैयाँ ४५ पैसा प्रतिशेयर आम्दानी रहेको छ । तथ्यांकअनुसार एनआईसीको ईपीएस सबैभन्दा न्यून छ ।