महत्त्वपूर्ण भुक्तानीको प्रणालीगत नियमनमा जुट्यो राष्ट्र बैंक

महत्त्वपूर्ण भुक्तानीको प्रणालीगत नियमनमा जुट्यो राष्ट्र बैंक

एसआईपीएसले डिजिटल बैंकिङ्गमा कस्तो पर्छ प्रभाव ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले महत्त्वपूर्ण भुक्तानीको प्रणालीगतरुपमा छुट्टै नियमन गर्ने तयारी सुरु गरेको छ । केन्द्रीय बैंकले यसका लागि मस्यौदा समेत तयार गरिसकेको छ । राष्ट्र बैंकले प्रणालीगतरूपमा महत्त्वपूर्ण भुक्तानी प्रणालीहरू ‘फ्रेमवर्क फर आइडेन्टिफाइङ्ग सिस्टमेटिकल्ली इम्पोटेन्ट पेमेन्ट सिस्टम’ (एसआईपीएस)का लागि राय सुझावको माग समेत गरेको छ ।

राष्ट्र बैंकले प्रणालीगतरूपमा महत्त्वपूर्ण भुक्तानी प्रणालीहरू वित्तीय प्रणालीका अत्यावश्यक अङ्ग रहेको जसले उच्च मूल्य र संवेदनशील कारोबारहरू प्रशोधन गर्ने बताएको छ । साथै, राष्ट्र बैंकले लचिलो भुक्तानी प्रणालीहरू मौद्रिक नीतिको कार्यान्वयनका लागि पनि अति आवश्यक रहेको बताएको छ । राष्ट्र बैंककाअनुसार सुरक्षित र समयमा हुने भुक्तानीहरू मार्फत जोखिम न्यूनीकरण, कारोबार खर्चमा कमी र आर्थिक विश्वासको प्रवर्द्धन सम्भव हुन्छ ।

‘नेपाल राष्ट्र बैंकले ऐन, २०५८’ अन्तर्गत प्राप्त नियामक तथा उत्प्रेरक भूमिकामार्फत नेपालको भुक्तानी पूर्वाधारलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ । राष्ट्र बैंकले वित्तीय स्थायित्व कायम गर्नका लागि पनि प्रणालीगत रुपमा महत्त्वपूर्ण भुक्तानी प्रणाली छुट्टै नियमन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएको छ । केन्द्रीय बैंककाअनुसार यस फ्रेमवर्कको मुख्य उद्देश्य नेपालमा प्रणालीगत रूपमा महत्त्वपूर्ण भुक्तानी प्रणालीहरू पहिचान गर्ने मापदण्ड निर्धारण गर्नु रहेको छ ।

यसले सम्पूर्ण वित्तीय प्रणालीमा असर पार्न सक्ने खतरा पत्ता लगाउने, संकटमा पनि वित्तीय कारोबारलाई निरन्तरता दिने, प्रणालीमा उत्पन्न हुने जोखिमहरू पहिचान गरी नियमन गर्न प्रभावकारी उपायहरूको खोजी गर्ने लक्ष्य लिएको छ । राष्ट्र बैंकले तयार गरेको मस्यौदामा ठुला प्रकृतिका भुक्तानी प्रणाली र खुद्रा भुक्तानी प्रणाली छुट्टाएकाे छ । इलेक्ट्रोनिक चेक क्लियरिङ, अन्तरबैंक भुक्तानी प्रणाली, द्रुत भुक्तानी प्रणाली र कार्डमार्फत हुने भुक्तानीहरू खुद्रा भुक्तानी प्रणालीअन्तर्गत रहने गरी फ्रेमवर्क बनाइएको राष्ट्र बैंकले जनाएको छ ।

एसआईपीएस के हो ?

कुनैपनि देशको भुक्तानी प्रणालीमा विभिन्न प्रणालीहरू समावेश भएका हुन्छन् । भुक्तानी प्रणालीलाई नियामकले हेर्ने नजर कस्तो हुनुपर्ने भनेर विभिन्न अन्तर्राष्ट्रिय अभ्यास हेरेर राष्ट्र बैंकले महत्त्वपूर्ण भुक्तानी प्रणाली (एसआईपीएस) का लागि मस्यौदा तयार गरेको छ । केन्द्रीय बैंकले महत्त्वपूर्ण प्रणाली पत्ता लगाई त्यस्ता प्रणालीलाई नियमन गर्ने हिसाबले यस्तो मस्यौदा तयार गरेको हो।


डिजिटल बैंकिङ्गमा कस्तो पर्छ प्रभाव ?

डिजिटल बैंकिङ्गमा प्रयोग हुने प्रणाली नै प्रणालीगतरूपमा महत्त्वपूर्ण भुक्तानी प्रणाली भित्र पर्ने प्रणाली हो । डिजिटल भुक्तानी कै पूर्वाधार एसआईपीएस भएको कारण यसले डिजिटल बैंकिङ्गमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने गरेको पाइन्छ । एसआईपीएस प्रणालीमा समस्या आयो भने यसले वित्तीय क्षेत्रमा अस्थिरता समेत निम्त्याउन सक्छ जसले गर्दा यसलाई केन्द्रीय बैंकले कडा नियमन गर्ने गर्छ ।

केन्द्रीय बैंकले महत्त्वपूर्ण प्रणाली पत्ता लगाएपछि फरक ढंगबाट नियमन गर्ने राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक किरण पण्डित बताउँछन् । ‘केन्द्रीय बैंकले महत्त्वपूर्ण मानेका भुक्तानी प्रणालीलाई फरक ढंगबाट नियमन गर्छ’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘यस्ता प्रणालीमा नियमन गर्ने मापदण्ड पनि फरक हुन्छ ।’