गृह मन्त्रालयमै सेलायो आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरो स्थापनाको गुरुयोजना

गृह मन्त्रालयमै सेलायो आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरो स्थापनाको गुरुयोजना


काठमाडौं – आर्थिक क्षेत्रमा घट्ने आपराधिक घटना अनुसन्धानका लागि स्थापना गर्ने भनिएको वित्तीय अनुसन्धान ब्युरोको गुरुयोजना गृह मन्त्रालयमै सेलाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) जस्तै आर्थिक अपराधका घटना अनुसन्धान गर्ने लक्ष्यसहित आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरो स्थापनाको प्रक्रिया अघि बढाइएको थियो ।

तर, त्यो प्रक्रिया गृह मन्त्रालयमै हराएको छ । प्रविधिको क्षेत्रमा भएको विकास सँगसँगै बढ्दो वित्तीय अपराधका घटना पनि क्रमशः बढ्दो छन् । यस क्षेत्रमा हुने गरेका अपराधहरूलाई नियन्त्रण गर्न नेपाल प्रहरी मातहत राखेर छुट्टै ब्युरो स्थापनाको योजना अघि बढेको थियो ।

बढ्दो आर्थिक अपराधहरूका घटनालाई एउटै क्षेत्रबाट अनुसन्धान गर्ने उद्देश्य यसमा राखिएको थियो । यस बहस गृह मन्त्रालयमा धेरै पहिला नै गई सकेता पनि ब्युरो स्थापनामा लागी मन्त्रालयले फाइल अघि बढाएको छैन । यस ब्युरोको स्थापनाले वित्तीय अपराध नियन्त्रण घटाउने लक्ष्य लिइएको थियो ।

कहाँ पुग्यो ब्युरो स्थापनाको फाइल ?
गृह मन्त्रलयका प्रवक्ता रामचनद्र तिवारीका अनुसार आर्थिक तथा वित्तीय ब्युरोको स्थापनाको बहस अन्तिम चरणमा पुगेको छ। उनले अहिले वित्तीय अपराधलाई नेपाल प्रहरीले विस्तृतरुपमा अनुसन्धान गरिरहेको उनको भनाई छ । यस क्षेत्रमा हुने गरेका अपराधिक घटनालाई विशिष्टिकृत रुपमा अनुसन्धान तथा अभियोजन गर्ने उद्देश्यसहित छुट्टै ब्युरो स्थापनको लक्ष्य राखिएको उनले बताए ।

‘यस्ता घटनालाई अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको क्षेत्रहरूमध्ये एक क्षेत्रको रूपमा विकास गरी आर्थिक अपराधहरू हर्ने काम भइरहेको र नेपाल प्रहरीले यस क्षेत्रमा काम समेत सुरु पनि गरी सकेको छ’, उनले भने, ‘आर्थिक तथा वित्तीय ब्युरो स्थापना गर्ने भनेर मन्त्रालयले निर्णय समेत गरेर नेपाल प्रहरीलाई बताइ सकेको छ । त्यो निर्णय अनुसार प्रहरीले आन्तरिक रूपमा तयारी पनि गरी रहेको छ।’

संगठन संरचना बनाउनु पर्ने, दरबन्दी थप्नुपर्ने भएकाले वित्तीय अनुसन्धान ब्युरो स्थापनामा ढिलाइ भएको तिवारी बताउँछन् । उनका अनुसार छुट्टै ब्युरो स्थापनाको प्रक्रिया अघि नबढे पनि वित्तीय अपराधका घटनामा अनुसन्धान व्यापक भइरहेको छ । सरकारले आवश्यकताअनुसार राज्यसँग भएको स्रोत र साधन सीमा भित्र रहेर यस ब्युरोको स्थापनाको काम अगि बढाउने तयारीमा रहेको उनले बताएका छन् ।

वित्तिय आपराधमा कस्ता अपराधहरु पर्छन् ?
आर्थिक तथा वित्तीय अपराध भित्र राजश्व तथा कर छली, बैंकिङ्ग कसुर, मोबाइल बैंकिङ्ग ह्याक, हुन्डी, क्रिप्टो कारोबार, बीमा ठगी, सहकारी अपचलन, गैर कानुनी लगानी लगायत पर्छन् । यस्तै, ओटिपी नम्बरको दुरुपयोग, सट्टे बाजी, विदेशी मुद्राको अवैध कारोबार लगायत पर्छन्।