वित्तीय स्थायित्व प्रतिवेदनः विकास बैंकहरूकाे कोर क्यापिटल ३.९६ प्रतिशतले बढ्दा, अन्य सूचक कस्ता ?

वित्तीय स्थायित्व प्रतिवेदनः विकास बैंकहरूकाे कोर क्यापिटल ३.९६ प्रतिशतले बढ्दा, अन्य सूचक कस्ता ?

'३ वटा बाहेक अन्य विकास बैंकहरूले पूँजी कोषको मापदण्ड पूरा'


काठमाडाैं – नेपाल राष्ट्र बैंककाअनुसार हाल सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूकाे कुल निक्षेप ६.६८ प्रतिशतले वृद्धि हुँदै ६ खर्ब ९ अर्ब ७७ कराेड रुपैयाँ पुगेको छ। केन्द्रीय बैंकले वित्तीय स्थायित्व २०२३/२४ को प्रतिवेदन सार्वजनिक गर्दै समिक्षा वर्षको अवधिमा विकास बैंकहरूको कुल निक्षेप ६.६८ प्रतिशतकाे वृद्धि देखाएकाे हाे।

अघिल्लो वर्षको सोही अवधिमा यो रकम ५ खर्ब ७१ अर्ब ५७ कराेड रुपैयाँ रहेको थियो । यस्तै, साे अवधिमा कर्जा ६.३७ प्रतिशतले बढेर ५ खर्ब १.४३ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ४ खर्ब ७१ अर्ब ३८ कराेड रुपैयाँ थियो। समीक्षा अवधिमा कर्जा–निक्षेप अनुपात ८२.५२ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ८४.३७ प्रतिशत थियो ।

प्रतिवेदनले विकास बैंकहरूको बेसरेट घट्दाे क्रममा रहेकाे देखाएकाे छ । अघिल्लो वर्ष ११.७७ प्रतिशत रहेको बेसरेट चालू वर्षमा घटेर ९.०३ प्रतिशतमा खुम्चिएकाे छ । बेसरेट घट्नुको प्रमुख कारण कर्जाको मागमा र ब्याजदरमा आएको गिरावट रहेकाे प्रतिवेदनले उल्लेख गरेकाे छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल सम्पत्ति–दायित्वमा विकास बैंकहरूको हिस्सा घटेर ८ दशमलव ८२ प्रतिशतमा झरेको छ । जुन अघिल्लो वर्ष ९ दशमलव १९ प्रतिशत थियो । यद्यपि, विकास बैंकहरूको कुल सम्पत्ति–दायित्व भने ७ दशमलव ०८ प्रतिशतले वृद्धि हुँदै ७ खर्ब १७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा ६ खर्ब ६९ अर्ब ८८ करोड रुपैयाँ थियो।

२०८१ असारसम्म विकास बैंकहरूको मुख्य पूँजी (कोर क्यापिटल) ३ दशमलव ९६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ३ दशमलव ९३ प्रतिशत थियो। जोखिम भारित सम्पत्तिमा आधारित कोर क्यापिटल अनुपात १० दशमलव २६ प्रतिशतबाट बढेर १० दशमलव ६.८ प्रतिशत पुगेको छ। त्यस्तै, कुल पूँजी कोषको अनुपात पनि बढेर १३ दशमलव ३५ प्रतिशत पुगेको छ।

बैंक तथा वित्तीय संस्था नियामक निकायको प्रावधानअनुसार विकास बैंकहरूले कम्तीमा ८ दशमलव ५ प्रतिशत कोर क्यापिटल अनुपात र ११ प्रतिशत पूँजी पर्याप्तता अनुपात कायम गर्नुपर्छ । त्यस्तै, राष्ट्रियस्तरका विकास बैंकहरूले ६ प्रतिशत टियर–वान पूँजी अनुपात र १० प्रतिशत कुल पूँजी पर्याप्तता अनुपात कायम गर्नुपर्ने प्रावधान छ । समीक्षा अवधिमा तीनवटा बैंकबाहेक सबै विकास बैंकहरूले नियामक निकायद्वारा तोकिएको न्यूनतम पूँजी कोषको मापदण्ड पूरा गरेका छन् ।

विकास बैंकहरूको नाफा १२.६५ प्रतिशतले वृद्धि, ब्याजदर र स्प्रेडमा सामान्य गिरावट
प्रतिवेदनले विकास बैंकहरूको ब्याजदर स्प्रेड (कर्जा र निक्षेपबीचको ब्याज अन्तर) चार दशमलव पाँच ९ प्रतिशतबाट घटेर ४ दशमलव ५५ प्रतिशतमा झरेको देखाएकाे छ । यद्यपि, ब्याजदरमा सामान्य गिरावट भएपनि विकास बैंकहरूको कुल खुद नाफा भने १२ दशमलव ६५ प्रतिशतले बढ्दै ४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा नाफा ४ अर्ब १९ करोड रुपैयाँ रहेको थियो । विकास बैंकहरूको लगानीमा प्रतिफल (ROE) ८ प्रतिशत र सम्पत्तिमा प्रतिफल (ROA) ० दशमलव ६६ प्रतिशतमा पुगेको छ।