राष्ट्र बैंकलाई नटेर्ने तीन विकास बैंक र दुई फाइनान्स कम्पनी कारबाहीमा

राष्ट्र बैंकलाई नटेर्ने तीन विकास बैंक र दुई फाइनान्स कम्पनी कारबाहीमा


काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा राष्ट्र बैंकको नियम उल्लघंन गर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकको कारबाहीमा पर्ने विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक रहेको छन् भने फाइनान्स कम्पनीहरुमा पोखरा र जानकी फाइनान्स रहेका छन् ।

विकास बैंक र फाइनान्स कम्पनीका अध्यक्ष, सञ्चालक र सीईओहरुले नेपाल राष्ट्र बैंकलाई अटेरी गरेको समेत पाइएकाे छ । नेपाल राष्ट्र बैंकले विकास बैंक तथा फाइनान्स कम्पनीहरुका लागि जारी गरेको नियमविपरित काम गर्दै राष्ट्र बैंकलाई अटेरी गरेको पाइएको हो ।

नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकका सञ्चालक समिति अध्यक्ष भरतराज ढकाललाई संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका हैसियतले सहभागी भएको पाइएको सम्बन्धमा राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनमा भएको “सञ्चालक समितिका अध्यक्ष सञ्चालक समिति बाहेक अन्य कुनै पनि आन्तरिक समिति वा उप–समितिमा समावेश हुन पाउने छैन” भन्ने व्यवस्था उल्लङ्घन गरेकोले सचेत गराएको बताएको छ ।

त्यस्तै, राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई नियामकीय निर्देशन उल्लंघन गर्ने कार्य तत्काल अन्त्य गर्न संस्थाको सञ्चालक समितिलाई लिखित आदेश जारी गरेको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले सञ्चालक समिति निर्देशन दिएको बताएको छ ।

राष्ट्र बैंकले मिति २०७७/०४/२१ मा समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा चुक्तापुँजी पुर्याउन र प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्मको सीमा भित्र एकल ग्राहक कर्जा सीमा कायम गर्न शर्त तोकिदिएको थियो । त्यो शर्त कायम गर्न बैंक चुकेको भन्दै राष्ट्र बैंकले तोकेको न्यूततम चुक्ता पूँजी तथा पूँजीकोष अनुपात २०८२ असार मसान्तसम्म अनिवार्य रुपमा कायम गर्न आदेश दिएको हो ।

त्यसैगरी, सालपा विकास बैंकले राष्ट्र बैंकले दिएका विभिन्न निर्देशनहरुको पालना नगरेको भन्दै विकास बैंकलाई वित्तीय संस्था सुपरिवेक्षण विभागले कारबाही गरेको हो । नेपाल राष्ट्र बैंकले ख वर्गको वित्तीय संस्थालाई तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउन पटक– पटक निर्देशन दिएको थियो । तर विकास बैंकले राष्ट्र बैंकले दिएको निर्देशन पुरा नगरेको र पूर्व निर्देशनहरुको कार्यान्वयन नगरी राष्ट्र बैंकको नियामकीय व्यवस्थाहरु पालना नगरेकोले संस्थाको सञ्चालक समितिलाई नसिहत दिएको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले पोखरा र जानकी फाइनान्सलाई पनि कारबाही गरेको छ । राष्ट्र बैंकले गरेको समष्टिगत स्थलगत निरीक्षणको प्रतिवेदनबाट औंल्याइएका कैफियतहरुका सन्दर्भमा पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत पुर्व सीईओ रविचन्द्र गुरुङ्गले आफ्नो जिम्मेवारी पूरा नगरेको देखिएको बताएको छ । राष्ट्र बैंकले सीईओलाई स्पष्टिकरण लिँदा पनि उनले पेश गरेको स्पष्टिकरण चित्तबुझ्दो नरहेको भन्दै सीईओ गुरुङ्गलाई राष्ट्र बैंक ऐनअनुसार ५ लाख जरिवाना समेत गरेको छ ।

त्यस्तै, राष्ट्र बैंकले २०८१ पुस मसान्तमा संस्थाको निष्कृय कर्जा ३३/४४ प्रतिशत रहेको तथा न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थाको वित्तीय परिसूचकहरु ६ महिना भित्र राष्ट्र बैंकको निर्देशन बमोजिम कायम गर्नुपर्ने शर्त सहित संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिमका शीघ्र सुधारात्मक सम्बन्धी कारबाही गरेको छ ।

राष्ट्र बैंकले जानकी फाइनान्स लिमिटेडलाई न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको भन्दै कारबाही गरेको छ। राष्ट्र बैंकले न्यूनतम पुँजीकोष अनुपात मापदण्डअनुसार नरहेकोले संस्थालाई शिघ्र सुधारात्मक सम्बन्धी कारबाही गरेको हो ।