प्रहरीमा दान बहादुर कार्कीको तीन दशक, प्रहरी निरीक्षकदेखि अतिरिक्त महानिरीक्षकसम्मको यात्रा

प्रहरीमा दान बहादुर कार्कीको तीन दशक, प्रहरी निरीक्षकदेखि अतिरिक्त महानिरीक्षकसम्मको यात्रा


काठमाडौं – प्रहरीले सम्पूर्ण सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखेर कानुनको कार्यान्वयन गर्ने गरेको हुन्छ । जसले व्यक्तिगत जीवनलाई भुलेर जनता र देशको शान्ति सुरक्षाको लागी आफ्नो जीवन नै समर्पण गर्ने गर्छन् । नेपाल प्रहरीले सर्वसाधारण जनता र देशका लागि दिएको योगदान अतुलनीय हुन्छ भन्दा फरक नपर्ला ।

देश र जनताका लागि अहाेरात्र खटिने प्रहरीको सूचीमा आउने एउटा नाम दान बहादुर कार्की समेत हो । यतिबेला कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षकको भूमिकामा छन् । उनी यही वैशाख ४ गते प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस भइसकेका छन् । अबको केही दिनमा फुली नै लाउनेछन् । उनी २७ वर्षदेखि प्रहरीका विभिन्न तहमा रहेर काम गर्दै आएका छन् ।

गुल्मीमा बित्यो बाल्यकाल

कार्कीकाे जन्म गुल्मी जिल्लाको मालिका गाँउपालिका वडा नम्बर ७ मा भएको थियो । उनकाे बाल्यकाल परिवारको अत्यन्तै माया र स्नेहम बित्याे । कार्की सानो छँदा आमा घर परिवारको काममा सघाउने, भाडा माझ्ने, कुचो लगाउने लगायतका सबै काम गर्थे कार्की । 

स्कुले जीवनमा जेहनदार छात्राको सूचीमा अग्रस्थानमै पर्ने गरेका कार्की वक्तृत्वकला, हाजिरी जवाफ, फुटबल, सांस्कृतिक कार्यक्रमहरू र विभिन्न अतिरिक्त क्रियाकलाप कुनै पनि छुटाउँदैनथे । स्कुल पढ्दा कक्षामा पढाई राम्रो भएको विद्यार्थीले कक्षा ‘टप’ गर्ने परिपाटी पछ्याउँदै उनी ३ कक्षाबाट सिधै ५ कक्षामा पुगेका थिए ।

बाल्यकालमा निकै सहयोगी स्वभावका उनले गुल्मीको खन्जडमा प्राथमिक तहको अध्ययन गरेपछि ललितपुरमा आएर पढेका थिए । उपत्यका छिरेपछि ‘होस्टेल’ बसेर निजी विद्यालयहरूबाट माध्यमिक तहसम्म पढेपछि ल क्याम्पस र आरआर क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका थिए ।

सानैदेखि सरकारी जागिरको मोह

नेपाल सरकारको सेवामा काम गर्नुपर्छ भन्ने मान्यता भएको समाजबाट आएकाले पहिलो जागिर नै नेपाल प्रहरीबाट सुरु गरे । सानैदेखि अग्रजहरूको घरमा गएर पढ्ने र कसरी लोकसेवा तयारी गर्ने विषयमा ध्यान केन्द्रित गर्थे उनी । त्यस बेलामा उनका शिक्षकहरूले पनि सरकारी तहमा नै काम गर्नुपर्छ भनेर मार्गनिर्देश गर्ने गर्थे । 

बाल्यकालमा सरकारी जागिरे बनेर कूटनीतिक सेवातर्फ सेवा गर्ने योजना उनको थियो । तर, कूटनीतिक सेवाभन्दा अघि प्रहरीको परीक्षा खुलेकाले त्यतैतर्फ मोडिएका थिए । ‘साथीलाई साथ दिने लक्ष्यसहित प्रहरीको आवेदन दिएको थिए,’ उनले भने, ‘तर, उर्तिण भइयो ।’ उनले प्रहरीको परीक्षा दिँदा तयारी भने कूटनीतिक सेवाको गरेका थिए । प्रहरीले खोलेको दरबन्दीमा पास भएपछि नेपाल प्रहरीमै काम गर्ने योजना बनाउँदै तीन दशकदेखि देशको सेवा गरिरहेका छन् ।

सुरुवाती तलब ४ हजार, प्रहरी निरीक्षकदेखि अतिरिक्त महानिरीक्षकसम्म

उनी नेपाल प्रहरीमा २०५४ चैत १८ मा नियुक्त भएका थिए । प्रहरी निरीक्षककारुपमा सङ्गठनमा भर्ना भएका कार्कीको सुरुवाती तलब मासिक चार हजार रुपैयाँ थियो । लोकसेवाको परीक्षा दिएर प्रहरी बन्ने पहिलो ब्याज नै उनी हुन् । उनको प्रहरीमा नियुक्तिको समयमा देशमा द्वन्द्वको अवस्था थियो । प्रहरीको आवश्यकता बढी पर्ने भएकाले उक्त समय नै उनको नियुक्ति भएको थियो । साेही कारण, त्यो समयलाई जीवनको महत्त्वपूर्ण क्षणकारुपमा सम्झन्छन् कार्की ।

‘आफूले काम गर्दा सधैँ मुलुकलाई शिरमा राखेर काम गरी रहेको छु,’, उनले भने, ‘प्रहरीको काममा प्रहरीले मात्र गरेर हुँदैन ।’ नागरिक र प्रहरीको बराबरी साथ सहयोगमा मात्र कानुनको कार्यान्वयनमा सहज हुने कार्कीकाे तर्क छ ।

साङ्गीतिक क्षेत्रमा राख्छन् विशेष रुचि

बाल्यकालमा गायन र नृत्य दुवै गर्ने गरेका उनले कलेज जीवनमा भने निरन्तरता दिएनन् । पछिल्लो समयमा उनका तीन चार वटा गीतहरू बजारमा आइसकेका छन् । उनको पछिल्लो समयको गीत प्रहरीसँग नै सम्बन्धित रहेको छ । फुलको वासना सरी गीत सार्वजनिक भएको थियो । यो गीत मार्फत हरेक गाउँ र ठाउँमा प्रहरीको उपस्थिति झल्काउने नागरिकको वरिपरि रहेर प्रहरीले काम गर्ने गरेको सन्देश दिन खोजेका थिए ।

प्रहरीको दायित्व बोधका साथै प्रहरीको गाथा, वीरता, लोक पिडा,  साैन्दर्यता, र प्रहरीको भावना समेटिएको गीत रहेको उनले बताए । कलेज पढ्दा पनि थुप्रै गति लेख्ने गरेको उनले बताए । उनको १ वटा प्रहरी गीत, ३ वटा दसैँ तिहारको गीत रहेको छ । उनको गीत फिल्म हरिबहादुरको जुत्तामा पनि समावेश भएको छ ।

प्रहरीले सधैँ नागरिकसँग नजिक रहेर जनताको इच्छा अनुसार कानुन मानेर काम गर्नुपर्ने हुन्छ । उनले प्रहरीको विभिन्न तहमा रहेर कास्की, कपिलवस्तु, काठमाडौँ, सप्तरी, झापा, लगायतको ठाउँमा काम गरिसकेका छन् ।