काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान अयोगले काठमाडौंको उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरी घाटमा कार्यरत अमिनविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेकाे छ । अमिन पदमा कार्यरत दिनेश प्रसाद यादवले गैर कानुनी सम्पत्ति आर्जन गरेको ठहर भएसँगै अयोगले मुद्दा दर्ता गरेकाे हाे । २०६३ भदौ देखि २०८१ असारसम्मको अवधिमा आय–व्ययको अनुसन्धान गर्दा उनले वैध आम्दानीको तुलनामा ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ २१ पैसाको गैर कानुनी सम्पत्ति आर्जन गरेको ठहर भएको छ ।
यादवले आय आर्जन गरेको वैध आयमा तलबी पारिश्रमिक आय, भत्ता, नागरिक लगानी कोषबाट फिर्ता आएको रकम, आवास कर्जा, कृषि आय, गाडी बिक्री, घर बिक्री, जग्गा बिक्रीबाट प्राप्त रकम, सापटी लिएको तथा उनी र उनको श्रीमतीले प्राप्त गरेको बैंकको ब्याज रकम गरी जम्मा दुई करोड ४२ लाख २० हजार वैध आर्जन गरेको खुलेको छ ।
उक्त अवधिमा उनले लगानी गरेको व्ययमा आवास कर्जा तिरेको रकम, गरगहना खरिद, घर निर्माण, जग्गा खरिद, बैंक मौज्दात, शेयर खरिद, शैक्षिक खर्च, सवारी साधन खरिद, ऋण सापटी तिरेको, सापटी दिएको, सामाजिक खर्च र पुँजीगत लाभकर तिरेको रकम ५करोड ७१ लाख ६६ हजार खुल्न आएको देखिन्छ ।
उनले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भएकाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको सजाय माग गरिएको छ । साथै, उनले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र सोबाट बढेको सम्पत्ति श्रीमती अमृता कुमारी यादवको नाममा राखेको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनको लागि उनकी श्रीमतीलाई प्रतिवादी कायम गरी विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको छ।
प्रतिक्रिया