काठमाडौं – लगानीकर्ताले कुनै पनि कम्पनीमा लगानी गर्नुभन्दा अगाडी सो कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्रै आफ्नो पैसा लगानी गर्छन् । कतिपय कम्पनीको सम्पूर्ण वित्तीय विवरणबारे अध्ययन गरेर मात्रै लगानी गर्छन् भने कतिपयले बिना अध्ययन लगानी गर्छन् ।
यही कारण कतिपय लगानीकर्ता भने फस्ने गर्छन् । तर, लगानीकर्ताले अध्ययन गरेर नै लगानी गरे पनि वाणिज्य बैंकहरुको प्रतिफल भने खुम्चिँदै गएको छ । वाणिज्य बैंकहरुको लगानीको तुलनामा पाउने प्रतिफल पछिल्लो समय निरन्तर घट्दै आएको हो । कुनै समय सबैभन्दा बढी प्रतिफल दिने कम्पनीहरूको सूचीमा उत्कृष्ट १० मा वाणिज्य बैंक पर्थे ।
तर, पछिल्लो समय पुँजीकोष ठुलो भएका कारणले र लगानीकर्तालाई नगद लाभांशको तुलनामा विगतमा बोनश शेयर दिएका कारणले यस प्रकारको समस्या आउन थालेको हो । गत आर्थिक वर्षको २०८०/८१ को लाभांश दरलाई हेर्दा वाणिज्य बैंकहरुको लाभांश क्षमता खुम्चिँदो अवस्थामा छ ।
जसकारण वाणिज्य बैंकहरुमा लागानीकर्ताको आकर्षण समेत न्यून भएको देखिन्छ । नेपाल स्टक एक्चेञ्जमा कारोबार हुँदै आएका १९ वटा वाणिज्य बैंकहरुमध्ये ८ वटा बैंकले लाभांश घोषणा गरेका छैनन् । जसमध्ये ११ वटा बैंकले लगानीकर्तालाई लाभांश घोषणा गरिसकेका छन् ।
अहिलेसम्म लाभांश घोषणा नगर्ने बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, नेपाल बैंक र एनआईसी एशिया बैंक छन् । यी बैंकहरुको लाभांश क्षमता ऋणात्मक भएकाले लांभाश घोषणा नगर्ने भएका हुन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक ‘नम्बर वान’
वाणिज्य बैंकहरुको समूहमा सबैभन्दा बढी लाभांश स्ट्याण्डर्ड चार्टर्ड बैंकले दिएको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १९ प्रतिशत नगद लाभांश र ६.५ प्रतिशत बोनश शेयर गरी २५.५ प्रतिशतका दरले आफ्ना लगानीकर्ताहरूलाई लाभांश घोषणा गरेको हो ।
त्यस्तै, एभरेष्ट बैंकका लगानीकर्ताले ५.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनश शेयर गरी १५.५३ प्रतिशतका दरले लाभांश प्राप्त गरेका छन् । अन्य बैंकहरुको लाभांश भने क्रमशः घट्दै गएको देखिन्छ । साथै, घोषणा गरेका ११ वटा वाणिज्य बैंकमध्ये ६ वटा बैंकहरुको लाभांश दर ५ प्रतिशतको आसपासमा कायम छ ।

प्रतिक्रिया