एक करोड १५ लाख लिटर दूध प्रशोधन

एक करोड १५ लाख लिटर दूध प्रशोधन


भरतपुर – चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ । किसानबाट सङ्कलन भएको दूधबाट गत सालको चैत मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो ।

भरतपुर महानगरपालिका-१ ठिमुरामा रहेको उद्योगले फागुन महिनासम्म दैनिक ४५ हजार लिटर दूध प्रशोधन गरेको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले जानकारी दिए । गर्मी बढ्न थालेपछि दूध सङ्कलन घटेको छ ।

गत चैतमा दैनिक २५ हजार लिटरसम्म दूध सङ्कलन भएको उनले बताए । ‘गर्मी बढ्न थालेपछि दहीको खपत बढी हुन्छ’, उनले भने, ‘पाउडर र बटर उत्पादनका लागि सङ्कलन हुने दूध पनि घट्छ ।’

पाउडर र बटर बनाउनका लागि मेचीदेखि महाकालीसम्मका डेरीबाट दूध सङ्कलन हुने गरेको छ । ‘जसले दूध ल्याउँछ उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्’, उनले भने, ‘दश दिनसम्म यही ‘कोल्डस्टोर’मा राखिदिने गरेका छौँ ।’

पाउडर दूधे आइसक्रिम र बिस्कुट उद्योगमा खपत हुने गरेको छ । विसं २०७२ को भूकम्पपछि तीन वर्ष बन्द उद्योग पुनःसञ्चालन भएपछि उत्पादन भएको दूध बिक्री नहुने अवस्थाको अन्त्य भएको छ । जिल्ला दूध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूध प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा किसान लाभान्वित भएका बताए ।