काठमाडौं – आपत्कालीन स्थितिमा आर्थिक सुरक्षा गर्ने औजारकारुपमा बीमालाई लिइन्छ । यसबाहेक भविष्य र जोखिमका लागि लगानी तथा आउने समस्याबाट पर्ने आर्थिक भार न्यूनीकरण गर्ने बीमाको मुख्य लक्ष्य हुन्छ । तर, नेपालमा बीमाको महत्वबारे सर्वसाधारणमा अझै पनि उल्लेख्य चेतनाको अभाव रहेको पाइएको छ ।
अधिकांशले बीमा भनेको के हो भन्ने नसुनेको र बीमा नगरेको जवाफ दिएका छन् । ग्रामीण क्षेत्रमा त झन् यो अवस्था प्रस्ट छ । तर, शहरमा बसोबास गर्ने सर्वसाधारणले समेत बीमाको विषयमा नबुझकेको अवस्था छ । अझै पनि बीमालाई अनावश्यक वा जटिल विषय ठान्ने गरिएको पाइएको छ ।
देशको कूल गार्हस्थ्य उत्पादन जीडीपीमा उल्लेख्य योगदान गरिरहेको नेपालको बीमा क्षेत्रले १२ हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बीमा क्षेत्रले १२ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका हुन् । यसले नेपालको बीमा क्षेत्रले फड्को मार्दै हजारौँलाई रोजगारी दिने उद्योगकारुपमा विकास भएको देखिन्छ ।
यो क्षेत्रले आफ्नो क्षमता र दायरा विस्तारमा रचनात्मक भूमिका खेल्न सकेको छैन । नेपालमा बीमाको पहुँच ४४ प्रतिशत जनसंख्यामा मात्रै पुगेको छ । जबकि, नेपाल सरकारले नै कम्तीमा आधा जनसंख्यामा बीमाको पहुँच र्पुयाउने लक्ष्य राखेको छ । लक्ष्यभन्दा न्यून बिन्दुमा रहेको यो क्षेत्रमा थप विस्तारको पर्याप्त सम्भावना देखिन्छ ।
कम्पनीहरुले सर्वसाधारणलाई बीमाको पहुँच र्पुयाउनु अघि सबैलाई बीमाको महत्त्व लगायतका विषयमा जानकारी दिनुपर्छ । यसो हुन सकेमा मात्रै बीमाले फड्को मार्नेछ । ४४ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुग्दा नै १२ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको यो क्षेत्र शतप्रतिशत जनसंख्यामा पहुँच पुगेमा वा ५० प्रतिशतभन्दा माथिको जनसंख्यामा पहुँच पुगेमा थप कयौँले रोजगारी पाउने र बीमाको विषयमा सचेत पनि हुने देखिन्छ ।
बीमा जोखिम व्यवस्थापनको एक महत्त्वपूर्ण माध्यम हो, जसले जीवन, सम्पत्ति वा अन्य सम्भावित हानिको आर्थिक भार कम गर्छ। तर, नेपालमा बीमाको पहुँच र साक्षरता अझै पनि सीमित छ । कतिपय ठाउँमा बीमाको बारेमा कुरा गर्दा सुनेको छैन वा गरिएको छैन भन्ने जवाफ आउनु अहिलेको समयमा अस्वाभाविक देखिन्छ । धेरै बीमा कम्पनीहरुले सचेतना कार्यक्रम गरेका छौ भनेता पनि अझै पनि बीमाको विषयमा नसुन्ने संख्या समेत उल्लेख्य छ ।
यस्तो अवस्थामा कसरी र कहिलेसम्म बीमाप्रतिको विश्वासमा परिवर्तन आउँछ भनेर कसलाई प्रश्न गर्ने अझै स्पष्ट छैन् । यस्तो अवस्था सुधार्न बीमा कम्पनीहरू, सरकार र सम्बन्धित निकायहरूले जनचेतना फैलाउने कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ । साथै, सरल भाषामा बीमाको फाइदा र प्रक्रिया बुझाउने प्रयासले सर्वसाधारणलाई यसतर्फ आकर्षित गर्न सकिन्छ ।
अझै पनि सर्वसाधारण बीमाको दायरा नआउनुको कारण आर्थिक अवस्था कमजोर नभएर होइन बीमाको विषय नसुनेर वा बीमाको ज्ञान नभएर हो भन्ने कुरा सर्वसाधारणसँगको कुराकानीले प्रष्ट भएको छ । बीमाको महत्वलाई बुझेकाहरूबाट बीमा गर्नुपर्छ, जविनमा आवश्यक छ भन्ने प्रतिक्रिया पाउन सक्छौ । र, अझै पनि बीमाको विषयमा नसुनेका र बीमाको बुझाइबाट बञ्चित सर्वसाधारण बीमा कम्पनीहरु लुटतन्त्र मच्चाउँछन् भन्ने विश्वास गर्छन् । सबै बीमा सम्वन्धित निकायले यस विषयमा ध्यानकर्षण दिनुपर्ने देखिएको छ ।
सर्वसाधारणहरु सँगको कुराकानीमा बीमासम्वन्धी जनचेतना अत्यन्त कमजोर अवस्थामा रहेको देखिन्छ । सर्वसाधारणले पैसाको अभावले भन्दा पनि बीमा कस्तो हो ? कहाँ गर्ने ? कसरी गर्ने ? झुट पो होकि जस्तो जिज्ञासाको कारणले पनि अझैपनि सर्वसाधारणहरुले बीमा गरेका छैनन् । तसर्थ बीमा कम्पनीहरुले सर्वसाधारण,नागरिक समाज, विधालय, विश्वविधालय, स्थानीय निकाय, वित्तिय क्षेत्र, व्यवसाय,समग्र जनतामा बीमाको बारेमा साक्षरता प्रदान गर्न ढिला भैसकेको छ । आर्थिक सामाजिक वा अन्य कारणबाट हुने जोखिमलाई बीमाको दायरामा ल्याउनुपर्ने र जोखिम न्युनिकरण गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया