काठमाडौं – देशको कूल गार्हस्थ्य उत्पादन (जीडीप)मा उल्लेख्य योगदान गरिरहेको नेपालको बीमा क्षेत्रले १२ हजारलाई प्रत्यक्ष रोजगारी दिएको पाइएको छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बीमा क्षेत्रले १२ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका हुन् । यसले नेपालको बीमा क्षेत्रले फड्को मार्दै हजारौँलाई रोजगारी दिने उद्योगकारुपमा विकास भएको देखिन्छ ।
नेपालमा हाल जीवन, निर्जीवन, पुनर्बीमा र लघुबीमा गरी ३७ वटा बीमा कम्पनी सञ्चालनमा छन् । यी कम्पनीहरूमा १२ हजार ९५ जनाले प्रत्यक्ष रोजगारी पाएको तथ्यांक प्राधिकरणको छ । यो तथ्यांक चालू आर्थिक वर्षको फागुनसम्मको अवधिको हो ।गत वर्षको यही अवधिमा बीमा कम्पनीहरूले ११ हजार ५५५ जनालाई प्रत्यक्ष रोजगारी दिएका थिए । जुन यो वर्षको तुलनामा ५४० जना कम हो । तथ्यांकअनुसार यस अवधिमा जीवन बीमा कम्पनीमा ६ हजार ७४ र निर्जीवन बीमा कम्पनीमा ६ हजार २१ कर्मचारी कार्यरत छन् ।
अघिल्लो वर्ष फागुनसम्म जीवन बीमकमा ५ हजार ८२२ र निर्जीवन बीमकमा ५ हजार ७३३ जना कर्मचारी कार्यरत थिए ।
अघिल्लो वर्षको तुलनामा जीवन बीमकमा ४.३३ प्रतिशत र निर्जीवन बीमकमा ५.०२ प्रतिशतले कर्मचारी संख्या बढेको छ ।यीमध्ये अधिकांशले जीवन बीमा कम्पनीहरू, निर्जीवन बीमा कम्पनीहरू, बीमा एजेन्ट, सर्वेयर, र ब्रोकरका रूपमा काम पाएका छन् । यो संख्याले बीमा क्षेत्रको विस्तार र यसको आर्थिक महत्वलाई प्रस्ट पार्छ । तर, यति हुँदाहुँदै पनि सर्वसाधारणमा बीमाप्रति आकर्षण र विश्वास बढ्न नसकेको तथ्यले भने चिन्ता थपेको छ ।
‘हामीले १२ हजार मानिसलाई रोजगारी दियौँ, यो ठुलो उपलब्धि हो । तर, बीमाको आवश्यकता र फाइदा जनस्तरमा पुर्याउन नसकेसम्म यो क्षेत्रको पूर्ण विकास सम्भव छैन,’ बीमा विज्ञ रविन्द्र घिमिरे भन्छन् । ग्रामीण क्षेत्रमा बीमा सेवाको पहुँच अझै कमजोर रहेको र सहरी क्षेत्रमा समेत बीमालाई प्राथमिकतामा नराख्ने प्रवृत्ति कायमै छ । बीमा प्राधिकरणले विगतमा विभिन्न सचेतना अभियानहरू सञ्चालन गरेको दाबी गरे पनि ती अभियानहरू प्रभावकारी बन्न नसकेको गुनासो बढ्दो छ।
सबै खाले कम्पनीहरू गरी कूल ३७ वटा बीमा कम्पनी सञ्चालनमा छन् । यस क्षेत्रले १२ हजार जनाभन्दा बढीलाई प्रत्यक्ष र थप हजारौँलाई अप्रत्यक्ष रोजगारी समेत दिएको छ । तर, यो क्षेत्रले आफ्नो क्षमता र दायरा विस्तारमा रचनात्मक भूमिका खेल्न सकेको छैन । नेपालमा बीमाको पहुँच ४४ प्रतिशत जनसंख्यामा मात्रै पुगेको छ । जबकि, नेपाल सरकारले नै कम्तीमा आधा जनसंख्यामा बीमाको पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
लक्ष्यभन्दा न्यून बिन्दुमा रहेको यो क्षेत्रमा थप विस्तारको पर्याप्त सम्भावना देखिन्छ । कम्पनीहरुले सर्वसाधारणलाई बीमाको पहुँच पुर्याउनु अघि सबैलाई बीमाको महत्त्व लगायतका विषयमा जानकारी दिनुपर्छ । यसो हुन सकेमा मात्रै बीमाले फड्को मार्नेछ । ४४ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुग्दा नै १२ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको यो क्षेत्र शतप्रतिशत जनसंख्यामा पहुँच पुगेमा वा ५० प्रतिशतभन्दा माथिको जनसंख्यामा पहुँच पुगेमा थप कयौँले रोजगारी पाउने निश्चित छ ।
प्रतिक्रिया