जनकपुरधामका व्यवसायीहरू बैंकले ब्याजदर बढाएपछि प्रदर्शनमा

जनकपुरधामका व्यवसायीहरू बैंकले ब्याजदर बढाएपछि प्रदर्शनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, जनकपुर ।

अर्थतन्त्र मन्दीमा गइरहेका बेला बैंकहरुले नीतिगत दरमार्फत ब्याजदर बढाएपछि जनकपुरधामका व्यवसायीहरू समेत आन्दोलित भएका छन् । वर्ष दिनमै ब्याज दर दोब्बरले उक्लिएपछि धान्नै नसक्ने अवस्था आएको भन्दै यहाँका व्यवसायीहरू आन्दोलित भएका हुन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा बिहीबार बैंक तथा वितिय समस्या समाधानार्थ व्यवसायीहरूले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । उनीहरूले ब्याजसँगै चालु पुँजी कर्जा नीतिको पनि चर्को विरोध गरेका हुन् । 

ब्याजदर वृद्धिको विरोध गर्दै संघका पदाधिकारीहरू सार्वजनिक रूपमा प्रदर्शनमा उत्रिएका छन् । व्यापार व्यवसाय छाडेर व्यवसायीहरू पर्चारपम्प्लेट बोकेर जनकपुरधाममा विरोध प्रदर्शन गरेका हुन् ।

पम्प्लेटमा ‘बैंकिङ आतंक बन्द गर’ ‘ब्याजदरमा स्थिरता कायम गर’, ‘चालु पुँजी निर्देशिका स्थगित गर’, ‘ब्याजदर एक अंकमा कायम गर’, ‘कर्जा ब्याजदर घटाउ’ लगायतका मागहरू लेखिएको थियो ।
व्यवसायीहरूले व्यापार गर्ने भएकाले बैंकहरुविरुद्ध ढुंगामुडा गर्न नसकिने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । उनले भने, ‘हामी व्यवसायी व्यापार गर्ने हौं, बैंकविरुद्ध ढुंगामुढा गर्न सकिँदैन । त्यसैले शान्तिपूर्ण आन्दोलन गरेका हौं ।’

ब्याजदर वृद्धिले व्यवसायीहरूलाई व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आएको अध्यक्ष महासेठले बताए । जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयमा ज्ञापन पत्रसमेत बुझाइएको छ ।