ब्याज आम्दानी खुम्चिन थालेपछि ब्युँझिए बीमा कम्पनी, धमाधम खोल्न थाले ‘इन्भेस्टमेन्ट कम्पनी’

ब्याज आम्दानी खुम्चिन थालेपछि ब्युँझिए बीमा कम्पनी, धमाधम खोल्न थाले ‘इन्भेस्टमेन्ट कम्पनी’


काठमाडौं – ब्याज आम्दानी खुम्चिन थालेपछि पछिल्ला वर्षहरूमा नेपालमा बीमा कम्पनीहरूले धमाधम इन्भेस्टमेन्ट कम्पनी खोल्न थालेका छन् । बीमा कम्पनीहरूले आफ्नो लगानीयोग्य रकमको ८० प्रतिशतसम्म रकम मुद्दती खातामा राख्दै आएका छन् । ब्याजदर घटेसँगै बीमा कम्पनीहरूको ब्याज आम्दानी समेत घट्न थालेपछि लगानीको नयाँ स्रोत खोज्नेक्रममा कम्पनीहरूले ‘इन्भेष्टमेन्ट कम्पनी’ खोल्न थालेका हुन् ।

यो कदमको मुख्य कारण बीमा कम्पनीहरूले आफ्नो कोष व्यवस्थापनलाई थप प्रभावकारी बनाउन र लगानीबाट उच्च प्रतिफल प्राप्त गर्नु हो । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरूले ठुलो परिमाणमा बीमाशुल्क सङ्कलन गर्छन्, जुन कोषलाई विभिन्न क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ । यही कोषको व्यवस्थापन र विविधीकरणका लागि इन्भेष्टमेन्ट कम्पनीहरू स्थापना गर्न थालेका हुन् ।

नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ संशोधन गरेर सहायक कम्पनी खोल्न पाउने व्यवस्था गरेको छ । जसको अनुरुप विभिन्न कम्पनीहरूले धमाधम इन्भेस्टमेन्ट कम्पनी खोल्ने निर्णय सहित प्राधिकरणबाट स्वीकृति मागेका थिए । यीमध्ये केही कम्पनीले स्वीकृति पाइसकेका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक शुसीलदव सुवेदीले कुनै पनि कम्पनीले लगानी कम्पनी खोल्न पाउने व्यवस्थामा आम्दानीको पाँच प्रतिशत मात्र लगानी कम्पनी खोल्न मिल्ने व्यवस्था रहेको जानकारी दिएका छन् । कुनै पनि कम्पनीले लगानी कम्पनी खोल्न चाहेमा मिल्ने तर यसमा पनि विभिन्न सर्तहरू समावेश हुन्छन् । बीमा कम्पनीहरूले नीति नियममा बसेर काम गर्न सक्छन् । र, सात दिनभित्र ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न बीमकहरूलाई प्राधिकरणले निर्देशन समेत दिइएको सुवेदी बताउँछन् ।

ब्याज आम्दानी खुम्चिएपछि नयाँ उपाय खोज्दै
बैकहरूमा ब्याजदर निरन्तर घट्दै जाँदा जीवन बीमा कम्पनीहरूले आफ्नो कोष व्यवस्थापन र उच्च प्रतिफलको खोजीमा धमाधम लगानी कम्पनीहरू इन्भेस्टमेन्ट कम्पनी खोल्ने क्रम बढाएका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूले सङ्कलन गरेको ठूलो परिमाणको कोषलाई परम्परागत रूपमा बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने प्रचलन थियो । तर, ब्याजदर कम हुँदा यो विकल्प अब आकर्षक नरहेको सरोकारवालाहरूको भनाइ छ ।

हाल नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीहरूमध्ये धेरैले आफ्नै लगानी कम्पनी स्थापना गरेर सेयर बजार, जलविद्युत, रियल स्टेट र पूर्वाधार जस्ता क्षेत्रमा लगानी विस्तार गर्न थालेका छन् । उदाहरणका लागि, प्रभु लाइफ इन्स्योरेन्सले प्रभु क्यापिटलमार्फत लगानी रणनीति बलियो बनाएको छ। यस्तै, नेपाल लाइफले पनि आफ्नो समूहभित्र यस्तै संरचना बनाएको छ । बैंकको ब्याजदर ६ प्रतिशतमा झर्दा बीमा कम्पनीहरूलाई बीमितको कोषबाट अपेक्षित प्रतिफल दिन कठिन भएको छ । बैंकको ब्याजदर कम हुँदा कोषको प्रतिफल पनि घट्छ, जसले गर्दा लगानीको विविधीकरण र उच्च प्रतिफलका लागि इन्भेस्टमेन्ट कम्पनी अपरिहार्य बनेको छ ।

यस प्रवृत्तिले बीमा कम्पनीको आर्थिक र प्रतिस्पर्धात्मक क्षमता बढाए पनि जोखिम पनि उत्तिकै रहेको विश्लेषकहरूको भनाई छ । बजारमा मन्दी वा गलत क्षेत्रमा लगानी भएमा बिमितको कोष जोखिममा पर्न सक्ने खतरा छ । यसै सन्दर्भमा नेपाल बीमा प्राधिकरणले यस्ता गतिविधिलाई नियमन गर्न कडा नीति बनाउनुपर्ने पनि देखिन्छ । यो रणनीतिको सफलता बजारको अवस्था र नियामक संयन्त्रको प्रभावकारितामा निर्भर रहने देखिन्छ । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीकाले अबको समयमा बीमा क्षेत्रको विकास र प्रबद्र्धनको लागि लगानी क्षेत्र विस्तार हुँदै जानु पर्ने बताए ।

यही अनुसार प्राधिकरणबाट सहायक कम्पनीकारुपमा इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गर्ने अनुमतिपछि कम्पनी सञ्चालनमा ल्याएर काम सुरु भइसकेको जानकारी दिएका छन् । ‘बीमा बजारको लागि तोकिदिएको केही लगानी क्षेत्रबाट सही प्रतिफल नभएपछि बीमा कम्पनीहरुले ने इन्भेष्टमेन्ट कम्पनी खोलेर काम गर्नुपरेको हो जून अन्तराष्ट्रिय अभ्यास पनि हो । यसले बीमा कम्पनीहरुको प्रतिफल व्यवसाय बजार वृहत हुने आशा हो,’ उनले भने ।

कुन–कुन कम्पनीले खोले सहायक कम्पनी ?
बीमा प्राधिकरणले २०८० पुसमा जीवन बीमकको लगानी दोस्रो संशोधन निर्देशन २०८० जारी गर्दै १२ वटा क्षेत्रमा लगानीका लागि सीमा तोकेर बाटो खोलिदिएको थियो । तर, सीमा तोकिए पनि सीमाभन्दा बाहिर गएर निक्षेप केन्द्रित देखिएका जीवन बीमकहरु ब्याज घटेपछि भने लगानी विविधीकरणका लागि सक्रिय देखिन थालेका हुन् ।

प्राधिकरणबाट स्वीकृति पाउने कम्पनीहरुमा हिमालयन लाइफ इन्स्योरेन्सलेले १५ करोड चुक्ता पुँजीसहितको हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेड सञ्चालनमा ल्याएको छ । यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सले सन नेपाल इन्भेस्टमेन्ट सञ्चालन गरिरहेको छ । सन नेपालले गत वर्षबाटै १ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजीसहित सन नेपाल क्यापिटल सञ्चालन गरिरहेको थियो भने थप २९ करोड पुँजी वृद्धि गर्न प्राधिकरणमा अनुमति मागेसँगै स्वीकृति पाइसकेको छ ।

त्यस्तै, हिमालयन पुनर्बीमाले २० करोड चुक्ता पुँजीसहित लगानी कम्पनी सञ्चालनका लागि अनुमति पाइसकेको छ । हिमालयन रिले हिमालयन डोल्डङ्स कम्पनी नामक सहायक कम्पनी स्थापना गरेको छ । त्यसैगरी, हिमालयन रि इन्स्योरेन्सले हिमालयन क्यापसर्ब लिमिटेडमार्फत ३२ करोडको चुक्ता पुँजीसहितको नेपाल अपरच्युनिटी फन्ड र १५ करोड एनआईबीएल इक्विटी पार्टनर फन्डका लागि प्राधिकरणसँग अनुमति मागेको थियो । जसले स्वीकृति पाइसकेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले १० करोड चुक्ता पुँजीसहितको नेशनल क्यापिटल सञ्चालन गरिरहेको छ । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट इन्भेस्टमेन्ट कम्पनी सञ्चालनको अनुमति लिइसकेको छ । र, कम्पनीले नेपाल लाइफ क्यापिटल सञ्चालनमा ल्याइसकेको छ । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ५० करोडको चुक्ता पुँजीसहित सुर्यज्योति इन्भेष्टमेन्ट कम्पनी खोलिरहेको छ ।