काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षी दलहरूले सदन अवरुद्ध गरेको आरोप लगाएका छन् । महिला उद्यमी महासंघको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैरविषयलाई विषय बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए ।
उनले १८ चैतभित्र अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने स्थितिमा त्यसलाई प्रभावित पार्न सदन अवरुद्ध गरिएकोमा चिन्ता व्यक्त गरे । ‘वर्षौंसम्म त्यही निकायमा काम गरेको मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्ने त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुटा प्रशंसा गरिएको छ । गाली नगर्नुपर्नेलाई झुटा गाली गरिएको छ,’ उनले भने, ‘आन्दोलनका नाममा के के हुँदै छ भनेर आतंक सिर्जना गर्न खोजिएको छ । १५ चैतमा काठमाडौंका दुई स्थानमा जुलुस र सभा हुन्छ । सकिन्छ । हुने त्यत्ति हो । यसलाई तिललाई पहाड बनाउनुपर्ने केही छैन ।’
प्रधानमन्त्री ओलीले औपनिवेशिक र सामन्तवादी स्थितिले सिंगै नेपाली समाज पछाडि परेको र त्यसमा पनि महिलालाई झन् पछाडि पारिएको स्थितिमा संघर्ष र बलिदानको परिणामबाट समाज परिवर्तन र विकासको यात्रामा अघि बढेको बताए । उनले पञ्चायतकालमा निकै पछाडि परेको मुलुक अहिले चौतर्फी विकासको क्रममा अघि बढेको र खासगरी आफूले सरकारको नेतृत्व गरेको समयमा ठूला र रणनीतिक महत्त्वका आयोजना अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको बताए ।
प्रतिक्रिया