काठमाडौं – बीमा कम्पनीहरूले आफ्नो ८० प्रतिशत हाराहारी लगानीयोग्य रकम बैंकको मुद्दतीमा थुपारिरहँदा रिलायबल लाइफले नयाँ अभ्यास सुरु गरेको छ । बैंक ब्याजदर घट्दा बीमा कम्पनीहरूको आम्दानी समेत घट्दो अवस्थामा छ । यहीकारण बीमा कम्पनीहरू यतिबेला लगानीका विभिन्न स्रोत खोज्न व्यस्त छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म ५ वटा कम्पनीले सहायक कम्पनीकारुपमा लगानी कम्पनी स्थापना गरिसकेका छन् । यसबाहेक अन्य कम्पनीले समेत यस्तै योजना प्राधिकरण समक्ष बुझाइसकेका प्राधिकरणका सीए विरोध वाग्लेले बताए।
आफ्नो लगानीलाई विविधीकरण गर्ने नीति बीमा कम्पनीहरूले अघि बढाउँदै गर्दा रिलायबल लाइफले भने सामूहिक लगानी कोषको ‘कन्सेप्ट’ अघि बढाएको हो । कम्पनीले लगानी विविधीकरण गर्नका लागि ‘रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्ट’ नामक सहायक कम्पनी स्थापना गरिसकेको छ ।
कम्पनीले २०८२ वैशाख ३ गतेदेखि नयाँ सामूहिक लगानी कोष रिलायबल समृद्धि योजनाको इकाई बिक्री वितरणमा ल्याउने भएको छ । यस योजनाको इकाई प्रतिमूल्य १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्रीमा ल्याउन लागिएको कम्पनीका सहायक महाप्रबन्धक दिपेन्द्र कडारियाले बैंकिङ्ग समाचारलाई बताए ।
फन्डको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ भने यो समग्र बीमा क्षेत्रमा नै पहिलो अभ्यास हो । कम्पनीले यस योजनामा प्रतिक्रिया पनि राम्रो पाइरहेको कडारियाको भनाइ छ । उनै कडरियासँग बैंकिङ्ग समाचारले गरेको कुराकानीको सम्पादित अशंः–
रिलायबल लाइफले लगानी विविधीकरणका लागि सामूहिक लगानी कोषको अवधारणा अघि बढाएको छ । तपाईँहरूले सुरु गरेको ‘रिलायबल समृद्धि योजना’ के हो ?
रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले नयाँ सामूहिक लगानी कोष रिलायबल समृद्धि योजनाको इकाई सार्वजनिक गरेको हो । क्यापिटलले २०८२ वैशाख ३ गतेदेखि सो इकाई सार्वजनिक निष्कासनमा ल्याउँदैछ । क्यापिटलले प्रति इकाई १० रुपैयाँ अङ्कित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । रिलायबल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।
सो योजनामा १५ प्रतिशत इकाई अर्थात् १ करोड १५ लाख इकाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र १ प्रतिशत इकाई अर्थात् १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागिएको छ ।
यो योजनाले कसरी काम गर्छ ?
वैशाख ३ गतेबाट हामीले ईकाइहरू बिक्रीमा राख्छौँ । जून ‘मेरो शेयर’बाट नै ‘अप्लाई’ गर्न सकिन्छ । जसमा सब्सक्राइबर भइसकेपछि लगानी कहाँ गर्ने भन्ने कुरा हुन्छ । ‘लिस्टिङ सेक्युरिटिज’ जस्तै दोस्रो बजारमा ६० प्रतिशत लगानी गर्छौ भने बाँकी ‘बन्ड डिभेन्चर’हरुमा लगानी गर्छौँ । बाँकी केही प्रतिशत बैंकमा राखिन्छ ।
‘रिलायबल समृद्धि योजना’ सुरुवात गर्नुको उद्देश्य के हो ?
म्युचुअल फन्डको एउटा तोकिएको ‘गाइडलाइन’ हुन्छ । जसको लगानी गर्ने क्षेत्रहरू पनि तोकिदिएको हुनाले सोही ‘गाइडलाइन’ अनुसार हिँड्नुपर्छ । सोहीअनुरुप पनि रिलायबलले बीमा क्षेत्रमा नै पहिलो पटक प्रयास गरेको हो । यो प्रयास बीमा बजारमा नै पहिलो र ऐतिहासिक हो ।
यो योजनाको लक्षित वर्ग को हुन् ? कस्तो लाभ पाउँछन् ?
जुनसुकै अवस्थामा साना लगानीकर्ताहरूसँग जानकारी कम हुन सक्छ । उनीहरूसँग प्रविधि, सूचना, अनुसन्धानको कमी हुन सक्छ । यस्तो अवस्थामा ठूला लगानीकर्ताहरूको लागि मात्र नभएर सबै साना लगानीकर्ताहरूको लागि पनि यो योजना उत्कृष्ट हुन् सक्छ । यसमा कुनैपनि जोखिम हुँदैन । यो धितोपत्र बोर्डबाट नियमन भएर कामहरू हुन्छ । काम गर्नको लागि पनि विभिन्न निर्देशिकाहरू पूरा गर्नुपर्छ ।
लगानीको लागि पनि सीमित क्षेत्र तोकिदिएको हुन्छ र फन्ड सुपरभाइजरहरु पनि हुनुहुन्छ, जसले यो फण्डलाई मूल्यांकन गर्नुहुन्छ । यो फन्ड व्यवस्थित तरिकाले काम गर्ने गरी बनाइएको छ । बजारको अवस्था, माग र व्यवस्थापन गर्न सकिने हिसाबले बनाइएको भएर लगानीकर्ताहरूले ढुक्क भएर गर्न सकिने सुविधा पाउनुहुन्छ ।
यो योजनाले समग्र बीमा क्षेत्रमा कस्तो प्रभाव पर्छ ?
हामीले यस सामूहिक लगानी कोषमार्फत बीमा क्षेत्रमा सबैलाई लगानीको अवसर जुटाउने प्रयास गरेका हौँ । यसको अर्थ बीमा क्षेत्रमा सामूहिक लगानी कोष खडा गरेर सर्वसाधारणलाई जोड्ने प्रयास गरिएको हो । बीमा क्षेत्र पनि म्युचुअल फन्डमा जानुपर्छ भन्ने हिसाबले पहिलो प्रयास हो । यसमा सबैको प्रतिक्रिया पनि राम्रो आएको छ । यो रिलायबल लाइफ इनस्योरेन्सको सहायक कम्पनी हो । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्ट जसले फन्ड व्यवस्थापन गरिदिएको बापत केही तोकिएको फी लिन्छ ।
प्रतिक्रिया