एन्डी चोङ
दूरसञ्चार सम्भवतः नेपालमा राष्ट्रव्यापी पहुँच पुगेको एक मात्र सार्वजनिक सेवा हो । सरकारी तथ्यांकले मोबाइल सेवामा पहुँच दर १४० प्रतिशत नाघेको देखाएको छ । त्यसले ताररहित सेलुलर मोबाइल सञ्चार सेवाको पहुँचमा उल्लेख्य परिवर्तन भएको संकेत गर्छ । भ्वाइसका अलावा, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेलले नेपालमा मोबाइल ब्रोडब्यान्ड तथा डाटा सेवाको विस्तार गर्न र पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलेका छन् । इन्टरनेट सेवा प्रदायकहरू (आईएसपी) हरु पनि दूरदराजका गाउँहरूमा पुगेका छन् । यो राम्रो प्रगति हो ।
मोबाइल ब्रोडब्यान्डले देशको लगभग सबै भाग समेटेको छ र यस्तो विस्तारको दर लगभग शतप्रतिशत पुगेको देखिन्छ । जबकि फिक्स्ड ब्रोडब्यान्ड सेवा पँहुच ३० प्रतिशत नाघेको देखिएको छ । सरकारले अवलम्बन गरेको खुला बजार नीति र दूरसञ्चार उद्योगमा निजी क्षेत्रको प्रवेशको यो सम्भवतः उत्कृष्ट नतिजा हो । यसले करिब ३ करोड जनसंख्याको बजारमा दूरसञ्चार सेवामा प्रतिस्पर्धा सृजना गरेको छ । गुणस्तर, मूल्य र उत्पादन तथा सेवाको दृष्टिकोणबाट उपभोक्तालाई दूरसञ्चार सेवामा विविध विकल्पहरू उपलब्ध गराउने दुई अपरेटर एनसेल र नेपाल टेलिकमबीच मूल्यमा खासै अन्तर छैन । र, यदि छ भने पनि त्यो ज्यादै न्यून छ ।
नेपालको सेलुलर मोबाइल प्रविधिको कुरा गर्दा, तत्कालीन जीपीआरएस डाटा अहिले उन्नत प्रकारको फोरजी÷एलटीईमा रुपान्तरित भएको छ । बजारले फाइभजी डाटा, वा फाइभजी रोल आउटको लागि तयारी गरिरहेको छ । गत पाँच वर्षको अवधिमा फोरजीको सुरुवातले यस क्षेत्रमा उल्लेख्य विकास भएको मात्र छैन, यसले प्रदान गर्ने अवसरहरूबाट उपभोक्ताले लाभ उठाउन पाएका छन् । अहिले धेरैभन्दा धेरै मानिस डिजिटल जीवनशैली अपनाउँदै छन्, धेरै स्टार्ट–अपहरू नवीन विचारमा आधारित व्यवसायमा प्रवेश गरिरहेका छन् । डिजिटल प्लेटफर्महरूमार्फत् सेवा प्रवाह बढ्दै गएको छ र धेरैका लागि यो सामान्य बन्दै गएको छ । परिणाम स्वरूप, डाटा सेवाहरूको उपभोगमा उल्लेखनीय वृद्धि भएको छ । फाइभजी सुरु भएपछि त्यसलाई कसरी व्यावसायिक वा व्यापारिक प्रयोगमा लगाउँदै उत्पादकत्व वृद्धि र विकासमा टेवा पु¥याउन सकिन्छ भन्ने पक्ष मूल कुरा हो ।
किफायती मूल्यमा उच्च गतिको कनेक्टिभिटी, स्मार्टफोनमा स्वामित्व र डिजिटल साक्षरताले सरकारले डिजिटल नेपाल फ्रेमवर्कमा परिकल्पना गरेको देशलाई डिजिटलाइज गर्ने मार्गप्रशस्त गर्न महत्वपूर्ण भूमिका खेल्छ । सन् २०१७ मा फोरजी सेवा सञ्चालन सुरु गरेपछि इन्टरनेटको मूल्य स्वात्तै घटेको छ भने उपभोग कयौं गुणाले बढेको छ । डाटाको दर लगभग राष्ट्रिय ब्रोडब्यान्ड नीतिमा लक्षित गरेको स्तरमा आएको छ । नेपालमा पछिल्लो समय डाटामा सहज पहुँच, सुलभ दरमा उपलब्ध डिभाइसहरु र डिजिटल जीवनको विकासले गर्दा थुप्रै नवीन स्टार्टअपको जन्म भएको छ । डिजिटल बैंकिङ र अनलाइन करोबार समेत उत्साहजनक रुपमा बढेको छ । यी कुराले हामी डिजिटल अर्थतन्त्रको विकासमा अघि बढिरहेको तथ्य स्पष्ट पार्दछ ।
दूरसञ्चार क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नेपालको अर्थतन्त्रका सबै क्षेत्रलाई एकआपसमा जोड्नमा महत्वपूर्ण योगदान गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा एनसेलको योगदान १.४ प्रतिशत रहेको छ र हाम्रो कर योगदान कुल कर राजस्वको २.५ प्रतिशत रहेको छ । सञ्चालन मुनाफामा कमी र मोबाइल सेवामा पहुँच दरको वृद्धिमा देखिएको सुस्तताका कारण अर्थतन्त्रमा योगदान २०७६÷७७ को ३ प्रतिशतको तुलनामा घटेको हो । एनसेल र नेपाल टेलिकम देशका दुई शीर्ष कर योगदानकर्ता हुन्, जसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विभिन्न व्यवसाय सञ्चालन र पुँजी लगानीमार्फत् रोजगारी सिर्जनामा पनि योगदान पु¥याएका छन् ।
देश डिजिटल नेपालको परिकल्पनाका साथ अगाडि बढिरहेको र सबै क्षेत्र डिजिटल हुनैपर्ने आवश्यकता देखिएकोले नेपालमा यस क्षेत्रमा अपार सम्भावना रहेको कुरामा कुनै शंका छैन । साथै, हाम्रो बजारमा ठूलो मात्रामा युवा उपभोक्ता छन् । यद्यपि, समग्र मोबाइल दूरसञ्चार क्षेत्रको वृद्धिको सन्दर्भमा, आशा गर्ने ठाउँ भने सीमित छ । विगत तीन आर्थिक वर्षको मोबाइल टेलिकमको विकासलाई हेर्दा सन् २०१९ मा वार्षिक १०० अर्ब रुपैयाँको बजार आकारबाट २०२२ को अन्त्यमा यो ७५ अर्ब रुपैयाँमा झरेको छ । कोरोना भाइरस महामारीपछि मोबाइलको भ्वाइस तथा डाटा सेवाको राजस्वमा परेको दबाबका कारण यस्तो भएको हो । घरायसी तहमा तार र फिक्स्ड इन्टरनेटको द्रुत वृद्धिले दूरसञ्चार कम्पनीहरूले उपलब्ध गराउँदै आएको वायरलेस ब्रोडब्यान्डलाई थप प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
सेवाको उपभोगमा वृद्धि भए पनि फिक्स्ड लाइन अर्थात् आईएसपी डाटाको प्रयोग र उपभोगमा भएको वृद्धिसँग सामाञ्जस्यता कायम गर्न मोबाइल डाटाको मूल्य घटाउनै पर्ने अवस्थाका कारण दूरसञ्चार कम्पनीहरूको राजस्वमा त्यस्तो वृद्धिको प्रभाव प्रतिबिम्बित हुन सकेको छैन । हाल बजारमा इन्टरनेटको पहुँचमा कुनै समस्या र अभाव छैन, जसले गर्दा सेवा प्रदायकहरुले थप नवीन र मोबिलिटीमा आधारित सेवाहरू ल्याउन सक्ने स्थिति बनेको छ । कोभिड–१९ महामारीले सकेसम्म धेरै सेवालाई डिजिटलमा लैजानुपर्ने आवश्यकतामा थप जोड दिएको छ । यो डिजिटलाइजेसनको यात्रालाई गति दिनको लागि प्रस्थानबिन्दु पनि बनेको छ ।
कोभिड–१९ महामारीले हामीलाई डिजिटलाइजेसनका लागि एउटा महत्वपूर्ण पाठ सिकाएको छ । व्यावसायिक वातावरण सधैं गतिशील हुन्छ, तर यसका लागि केही अनुकूलन पनि आवश्यक छ । महामारीले संकटको अवस्थामा एनसेलको कार्यक्षमता र गतिशीलतालाई थप परीक्षण र प्रमाणित गरेको छ ।
डिजिटलाइजेसनको प्रक्रियाले दूरसञ्चार क्षेत्रमा सामेल हुन खोजिरहेका युवाका लागि समेत धेरै अवसर सिर्जना गर्दछ । स्थानीय र अन्तरराष्ट्रिय बजारमा आईसीटी क्षेत्रका लागि दक्ष जनशक्तिको माग उल्लेखनीय रूपमा बढेको छ । त्यहाँ दूरसञ्चार, आईटी कम्पनीहरू, ई–कमर्स, आईटी–बीपीओलगायत धेरै क्षेत्र छन्, जहाँ दक्ष जनशक्तिले आफ्नो व्यावसायिक यात्रालाई अगाडि बढाउन सक्छ । साथै, नेपालमा अवसरहरू सीमित भएकाले धेरै आईटी स्नातक उत्पादन गर्ने, ब्रेन ड्रेनलाई निरुत्साहित गर्ने र देशभित्रै दक्ष जनशक्तिका लागि अवसरहरु सिर्जना गर्ने खालका नीति हुनुपर्छ । हाल नेपालमा अन्य क्षेत्रको तुलनामा प्राविधिक क्षेत्रबाट स्नातकको प्रतिशत अपेक्षाकृत कम रहेको अवस्था छ ।
अहिलेको युगमा डाटाको उपयोगलाई डिजिटल र विविधीकरण गर्नुको विकल्प छैन । दूरसञ्चार क्षेत्रको राजस्व जुन मुख्यतया भ्वाइस सेग्मेन्टको अन्तरराष्ट्रिय सेवाबाट आउने ठूलो योगदानबाट सञ्चालित छ, त्यो आगामी दिनमा क्रमशः कम हुँदै जानेछ । भ्वाइस कलहरूका लागि ओभर–द–टप प्लेटफर्महरू प्रयोग गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ । उपभोक्तालाई डाटाको बानी बसिसकेको र आगामी दिनमा त्यसको प्रयोग उच्च रुपमा बढ्ने देखिएकोले मोबाइल अपरेटरहरूले सकेसम्म भ्वाइस ट्राफिकलाई लामो समयसम्म कम हुन नदिनेतर्फ ध्यान केन्द्रित गरिरहेका छन् । साथै, देशको डिजिटल विकासलाई गति दिनका लागि डाटा अपनाउन प्रोत्साहित गर्ने र सक्षम बनाउने अभियानमा पनि लागेका छन् ।
हाल सबै कम्पनीले मूलतः डाटा सेवा विस्तार वा यसको स्पिड बढाउनका निमित्त बर्सेनि ठूलो लगानी गरिरहेका छन् । सबैभन्दा ठूलो लगानीकर्ताका रूपमा एनसेलले पुँजीगत र सञ्चालन खर्चअन्तर्गत वार्षिक ३२ अर्बदेखि ३५ अर्ब रुपैयाँ लगानी गर्दै आएको छ । नेपाल टेलिकमको पनि वार्षिक लगानी ठूलै रहने गरेको छ । एनसेलले विगत पाँच वर्षमा ४६ अर्ब ३९ करोड रुपैयाँ पुँजी लगानी गरेको छ । पुँजी लगानीले कम्पनीको प्रतिस्पर्धात्मक क्षमता बढाउन र देशको अर्थतन्त्रमा योगदान पु¥याउन महत्वपूर्ण भूमिका खेल्छ । दूरसञ्चारजस्ता पूर्वाधारको विकास, गरिबी निवारण र वातावरणीय दिगोपनसँग बलियो सम्बन्ध छ । प्रविधि एकदमै परिवर्तनशील हुने हुँदा सम्बन्धित नीति, नियम तथा कानुन अन्तरराष्ट्रिय मापदण्डअनुरूप थप सान्दर्भिक बनाउँदै संशोधन गर्न आवश्यक हुन्छ । यसले लगानीकर्तालाई प्रोत्साहन गर्दछ र दिगो व्यवसायलाई बढावा दिन्छ ।
कुनै पनि बजारमा लगानीकर्ताहरूले प्रतिफलको ग्यारेन्टी भएमा मात्र लगानी खन्याउँछन् । एनसेलजस्ता निजी कम्पनीहरूलाई उपभोक्ताका लागि सुपथ मूल्यमा गुणस्तरीय सेवा सुनिश्चित गर्न पारदर्शी, स्थिर र लेभल प्लेइङ फिल्ड आवश्यक छ । कम्पनीहरूलाई कुनै पनि योजना छिटो कार्यान्वयन गर्न तथा नयाँ प्रविधि अवलम्बन गर्न सरकारको सहयोग चाहिन्छ । नीति, फ्रेमवर्क र प्रणालीहरू सही हुने हो भने विश्वव्यापी मापदण्ड तथा उत्कृष्ट अभ्यास अनुरूप सुधार गर्न सकिने प्रशस्त ठाउँ छ ।
विदेशी लगानीमा स्थापित कम्पनीहरूलाई नेपालमा व्यवसायको समग्र चक्रमा सरकारले सहयोग उपलब्ध गराउनुपर्छ । देशभित्र व्यवसाय गर्न सहज वातावरण हुनुपर्छ र राजनीतिक स्थायित्व, पूर्वाधारको विकास एवम् सरकार, कर्मचारीतन्त्रबाट सहज सेवा पाउने अवस्था बन्नुपर्छ । कुनै पनि अर्थतन्त्र वा बजारका लागि विदेशी लगानी कत्तिको महत्वपूर्ण हुन्छ भनेर यहाँ भनिरहनु पर्दैन । त्यसैले लगानीमैत्री नीतिका साथ उनीहरुको लगानीमा प्रतिफल सुनिश्चित गर्नुपर्छ ।
नेपाल लगभग मलेसिया जस्तै छ । यद्यपि, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र विकासको अवस्था भने फरक छ । नेपालमा करिब ३ करोड मानिस छन् जसको अर्थ, नेपाल सानो देश होइन । त्यसैले पनि यहाँ प्रशस्त सम्भावना छ । कुनै पनि देशको जीडीपी समयसँगै बढ्छ भन्ने कुरा हामीले स्पष्ट रूपमा बुझ्नुपर्छ र टेलिकमको वृद्धि जीडीपी वृद्धिसँग केही हदसम्म समानुपातिक हुन्छ भन्न सकिन्छ । यी दुईको विकास सँगसँगै हुने देखिन्छ ।
कनेक्टिभिटीको उपलब्धता र सेवाको गुणस्तर सुनिश्चित गर्न तथा नयाँ प्रविधि एवम् इन्नोभेटिभ सेवाहरू ल्याउनको लागि, नियमन, सहजीकरण र करको कुरा आउँदा समान प्रतिस्पर्धाको वातावरण बनाउनका लागि सरकारको निरन्तर सहयोगको आवश्यकता छ । यसले हामीलाई आफ्ना ग्राहलाई महत्वपूर्ण कनेक्टिभिटी र नयाँ प्रविधि वा सेवाहरू प्रवाह गर्न र दूरसञ्चार बजारलाई बलियो रूपमा विकास गर्न सहयोग पुग्नेछ । दूरसञ्चार क्षेत्रको कर तथा शुल्क हेर्ने हो भने, यो सम्भवत सबैभन्दा बढी कर लाग्ने सेवा हो । र, पाँच–पाँच वर्षमा तिर्न पर्ने २० अर्बको मोबाइल लाइसेन्स नविकरण शुल्क पनि व्यावहारिक छैन ।
सरकार÷नियामक हाम्रो दूरसञ्चार इकोसिस्टमका प्रमुख चालकहरू हुन् र जब ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने कुरा आउँछ, तिनको भूमिका महत्वपूर्ण रहन्छ । डिजिटल नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न एनसेलले महत्वपूर्ण भूमिका
निर्वाह गरिरहेको छ । डिजिटल क्षेत्रमा सफलता भनेको प्रविधिभन्दा पनि त्यसलाई मानिसले कसरी आफ्नो हितका लागि प्रयोग गरी फाइदा लिएका छन् भन्नेमा भर पर्दछ । नेपाललाई समयसँगै डिजिटलाइज गर्नका लागि भूमिका खेल्ने धेरै कारक छन् । यहाँ प्रविधिभन्दा उपभोक्ता महत्वपूर्ण हुन्छन् । यो प्रविधि अपनाउने मानिसको कुरा हो । सही मूल्यमा प्रविधिमा पहुँच हुनुपर्छ र त्यो किफायती हुनुपर्छ ।
प्रविधिलाई सहज, अझै सुलभ बनाउँदै यसले दिने प्रतिफलसँग आमउपभोक्तालाई जोड्ने अभियानमा लागिरहँदा यसका लागि चाहिने आवश्यक सहयोगका पाटोमा हेर्दा इक्वेल लेभल प्लेइङ नभएको देखिन्छ । यसका लागि आवश्यक नेतृत्वदायी भूमिका, पारदर्शिता, विकास योजना र नीतिको कार्यान्वयन हुनुपर्छ । एनसेल नेपालमा सफल विदेशी लगानीको एक उदाहरण हो । नेपाल एक्लैले त्यो हासिल गर्न नसक्ने क्षेत्रमा विदेशी साझेदार र लगानीको खाँचो छ । सबै विकासोन्मुख देशहरू यही चरणबाट गुज्रिरहेका छन् । सही मोडेल, नीति र उपयुक्त वातावरणले विदेशी लगानी आकर्षित गर्छ । नेपालमा विदेशी लगानीका लागि निकै मजबुत वातावरण रहेको विश्वलाई देखाउन सकेमा लगानीकर्ताले यहाँ अर्बौं डलर लगानी गर्न सक्छन् ।
ठूलो लगानीका साथ देशभरि आफ्नो आधारभूत दूरसञ्चार सेवा पु¥याइसकेका सेवा प्रदायकहरुले दिगो व्यवसायका लागि अब नयाँ ढंगबाट सोच्नुपर्छ । सरकारले पनि यसै अनुसार आफ्नो नीति लिनुपर्छ किनकी, यो सेवा अन्य क्षेत्रका लागि पनि परिपूरक साबित भइसकेको छ । र, लगानीकर्ताले पनि प्रतिफलको ग्यारेन्टीबिना लगानी गर्दैनन् । नेपालमा दूरसञ्चारको इतिहास शताब्दी पुरानो भए पनि विकास गतिको हिसाबले यो क्षेत्र छोटो समयमा धेरै विकास भएको क्षेत्र हो । यसले आफूमात्रै अघि बढ्ने भन्दा अन्य विभिन्न क्षेत्रलाई चलायमान बनाउन योगदान गर्ने हुँदा अबको विकास भनेकै सूचना प्रविधिको प्रयोगमा आधारित हुने निश्चित छ । इन्नोभसन, आर्टिफिसियल इन्टेलिजेन्स्, मसिन–टु–मसिन, बिग डेटा र ब्लक चेन जस्ता नयाँ प्रविधिलाई अंगीकार गर्दै कसरी सूचना प्रविधिको समग्र इकोसिस्टमको विकासमा सरकाले नीति लिन्छ, यिनै कुराहरुले हाम्रो विकासको अबको गति तयार गर्नेछ ।
(चोङ एनसेलको सिइओ हुन् । नाफिजको अर्थचित्र बाट)
प्रतिक्रिया