नेपाल अर्थतन्त्रः ब्याजदरबारे रस्साकस्सी, के भन्छ राष्ट्र बैंक

नेपाल अर्थतन्त्रः ब्याजदरबारे रस्साकस्सी, के भन्छ राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कर्जाको ब्याजदर अकासिएको भन्दै असन्तुष्ट रहेका उद्योगी व्यवसायीहरूले आन्दोलन थाल्ने चेतावनी दिइरहँदा केन्द्रीय बैंकले कुनै नयाँ हस्तक्षेप गर्नसक्ने अवस्थामा आफु नरहेको बताएको छ।

बैंकहरूको कर्जामा लाग्ने ब्याजदर १५ प्रतिशत भन्दा माथि पुगेको र त्यसले आफुहरूलाई मारमा पारेको भन्दै अघिल्लो हप्ता कर्णालीको सुर्खेतका व्यवसायीहरूले आफ्नो व्यवसाय ठप्प पारेका थिए।

केन्द्रमा नेपाल उद्योग वाणिज्य महासघंको प्रतिनिधिहरूले ब्याजदरलाई स्थिर राख्न सरकार र राष्ट्र बैंकका अधिकारीहरू समक्ष माग गर्दै आएका छन्।

तर अर्थमन्त्रालयले गठन गरेको एउटा सुझाव समितिले अघिल्लो हप्ता प्रतिवेदन बुझाउँदै मुद्रास्फिति वा महँगी दरलाई ७ प्रतिशतभित्रै राख्ने लक्ष्य उपयुक्त भएको भन्दै प्रतिस्पर्धामा आधारित ब्याजदरका विषयमा हस्तक्षेप गर्नु उपयुक्त नहुने सुझाव दिएको थियो।

नेपाल राष्ट्र बैंक के भन्छ ?

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट देशभित्र र बाहिरका परिस्थितिका कारण अर्थतन्त्रले कैयौँ अप्ठेराको सामना खेपीरिरहेको भन्दै अहिले राष्ट्र बैंक कुनै नयाँ नीतिगत व्यवस्था गर्ने अवस्थामा नरहेको बताउँछन्।

उनले भने,अहिले वित्तीय स्थायित्व, बाह्य क्षेत्र स्थायित्व, मुद्रास्फीतिको दबाव लगायतका कारणले आर्थिक परिसूचकहरूमा एक किसिमको अप्ठेरो अवस्था देखापरिरहेको छ। यो बेलामा राष्ट्र बैंकले थप छुट्टै निर्देशन कुनै ल्याएको छैन र ल्याउने अवस्था पनि देखिँदैन ।

उनले आफुहरूले तय गर्ने आधार दर परिवर्तन हुँदा बैंकहरूको ब्याजदर परिवर्तन हुने उल्लेख गर्दै त्यस्तो अवस्थामा प्रिमियम भने परिवर्तन गर्न नपाइने निर्देशन दिइएको बताए।

पछिल्लो समयमा बैंकहरूले निक्षेपकर्तालाई दिने ब्याजमा वृद्धि भएसँगै कर्जामा ऋणीले तिर्नुपर्ने ब्याज पनि बढिरहेको छ।

तर त्यसरी बढिरहेको ब्याजदरले आफूहरूलाई व्यवसायबाट नै विस्थापित गराउनसक्ने जोखिम रहेको नेपाल उद्योग वाणिज्य महासंघका अधिकारीहरूले बताएका छन्।

ब्याजदरका कारण निरिह

नेपाल राष्ट्र बैंकले अरू बैंक र व्यवसायीहरू दुवैलाई बाँच्न नदिने नीति लिएको छ। देशभरकै हामी व्यवसायीहरूले ब्याजमा स्थिरता चाहियो भनेर हामी आन्दोलित भइरहेको अवस्था छ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले भने।

उनले कर्जामा बढेको ब्याजले व्यवसायको लागत बढेको र ब्याजदर बढ्दा देखिएको अनिश्चयले व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको बताए।

उनले थपे, अहिले नै हामी ५० प्रतिशतमात्रै उत्पादन क्षमतामा चलिरहेको अवस्थामा छौँ। कच्चा पदार्थको मूल्य बढिरहेको छ, सञ्चालन पुँजी बढिरहेको छ तर यहाँ पैसा नै छैन। र बैंकहरूले आतकै जस्तो फैलाएर दिएको ऋण फिर्ता ल्याऊ भनिरहेको छ जसले गर्दा व्यवसायीहरू निरीह भएर कराइरहेको अवस्था छ।

उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष श्रेष्ठले ब्याजदर वृद्धि र कर्जामा कडाइले अर्थतन्त्र नउकासिने र आर्थिक वृद्धिको सरकारी लक्ष्य पूरा नहुने धारणा राखे।

सुर्खेतमाबैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर विरुद्ध आन्दोलनरत उद्योग वाणिज्य महासंघका जिल्ला अध्यक्ष लक्ष्मण कँडेलले आफूहरूले एक अङ्कको ब्याजदर कायम गरिनुपर्ने माग राखिरहेको बताए।

उनले भने, ब्याजदर एकल अङ्कमा हुनुपर्छ भन्ने हाम्रो पहिलो माग हो। अहिले बैंकहरूले ऋण प्रवाह गर्न रोकिरहेका छन् त्यो पनि तुरुन्तै खुला गर्नुपर्छ भनेर हामीले माग गरेका छौँ।

शुक्रवार जिल्ला बन्द गरेको सुर्खेत उद्योग वाणिज्य महासंघले आइतबार जिल्लामा रहेका २७ वटा बैंकहरूमा विरोधपत्र बुझाएको थियो।

कर्जामा कडिकडाउ हुँदा व्यापार व्यवसायमा नकारात्मक असर परेको व्यवसायीहरूले बताएका छन्

ब्याजदर के भयो भने घट्नसक्छ ?

नेपाल राष्ट्र बैंकका प्रवक्ता भट्ट यथास्थितिमा ब्याजदरले नयाँ लय समात्ने सम्भावना आफूले नदेखेको बताउँछन्।

ऋण दिने स्रोत अहिले बैंकहरूसँग न्यून भएको अवस्था रहेको भन्दै उनले एक वर्षयता हरेक दिन जस्तो बैंकहरूलाई तीन खर्ब रुपियाँ ऋण दिइरहेको बताए।

उनले भने, तरलताको चक्रका कारण पनि अहिले ब्याजदरमा दबाव देखिएको हो। भोलि तरलतामा केही सुधार भयो, अन्तर्राष्ट्रिय परिस्थितिमा केही सुधार भयो, रेमिट्यान्समा वृद्धि भयो र आयातमा सुधार गर्न जुन हामीले खोजिरहेका छौँ त्यसले परिणाम दियो भने ब्याजदर फेरी घट्न थाल्छ ।

आर्थिक परिसूचकहरूमा देखा परेको दबाबका कारण संसारभरका बैंकहरूले हाल कसिलो मौद्रिक नीति अँगालेको उल्लेख गर्दै उनले बैंकको ब्याजदर घट्न सक्ने अवस्था नदेखिएको बताए।

वीवीसी बाट