दिन प्रतिदिन कमजोर नेपाली रुपैंया, आजको मुल्य १ डलरको १३0.९० 

दिन प्रतिदिन कमजोर नेपाली रुपैंया, आजको मुल्य १ डलरको १३0.९० 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं 

नेपाली बजारमा डलरको मूल्य १३० रुपैयाँ नाघेको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपया कमजोर भएसँगै नेपाली रुपैयाँ कमजोर भएको हो । 

नेपाली रुपैयाँको भारतीय रुपयासँग स्थिर विनिमय दर रहेका कारण भारतीय रुपया बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुन्छ, कमजोर हुँदा कमजोर हुन्छ ।
नेपाल राष्ट्र बैंकले मंगलवारका लागि एक अमेरिकी डलरको विक्री मूल्य १३० रुपैयाँ ९० पैसा तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि गत शनिवारदेखि  डलरको मूल्य १२९ रुपैयाँ ८९ पैसा कायम भएको थियो । 

मंगलवारका लागि डलरको खरीद मूल्य पनि १३० रुपैयाँ ३० पैसा कायम भएको छ । यसअघि डलरको खरीद मूल्य १२९ रुपैयाँ २९ पैसा कायम भएको थियो । 
भारतीय रुपया (भारू) पनि हालसम्मकै कमजोर भएको छ । सोमवार भारतीय रुपयाको विनिमय दर प्रतिडलर ८१ रुपया ६२ पैसा कायम भएको छ । 

रुस र युक्रेनबीच शुरू भएको द्वन्द्वका कारण विश्वबजारमा डलर बलियो बनिरहेको छ । अन्तरराष्ट्रिय बजारमा डलर, सुन, पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको छ । त्यसकारण भारू तथा नेपाली रुपैयाँ कमजोर बन्दै नयाँनयाँ रेकर्ड कायम भएका छन् । पछिल्लो समय अमेरिकी केन्द्रीय बैंकले ब्याजदर वृद्धि गरेपछि डलर थप बलियो भइरहेको छ । 

डलर महँगो भएपछि नेपालको विदेशी मुद्रा सञ्चितिमा थप दबाब पर्ने देखिएको छ । डलरको महँगो हुँदा वस्तु तथा सेवा आयातका लागि बढी रकम खर्च गर्नुपर्ने भएकाले विदेशी मुद्राको खर्च बढ्नेछ । यसैगरी विदेशबाट आयात हुने सामान महँगो हुन गई नेपाली बजारमा मूल्य बढ्नेछ । डलरको भाउ बढ्दा विप्रेषणलगायत डलर आम्दानी गर्ने निर्यात र पर्यटन क्षेत्रको भने आम्दानी बढ्छ ।