काठमाडौं – सरकारले निर्माण व्यवसायी र कृषि बीमाको बक्यौता दिएपनि कोरोना बीमालाई प्राथमिकतामा नराखेको देखिएको छ । कोरोना महामारीका कारण सरकारको आम्दानीको हिसाबकिताब बिग्रँदा बक्यौता रकम बढ्दै गइरहेको थियो । जसमध्ये निर्माण व्यवसायीको अर्बौँ रुपैयाँ र कृषि बीमाबापतको रकम भुक्तानी भइसकेको सरकारको दाबी छ । तर, कोरोना बीमाको बक्यौता रकम भने भुक्तानी गरेको छैन । यसले कोरोना बीमाको बक्यौता रकम भुक्तानीका लागि सरकारको प्राथमिकतामा नपरेको पुष्टि हुन्छ ।
२०७६ सालदेखि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीको नेपालमा बीमा सुरु गरिएकाे थियाे । प्रायजसो: विश्वमा महामारी, प्राकृतिक विपत्ति (भूकम्प, बाढी र पहिरो)को बीमा गरिँदैन । तर, नेपालमा नियामकीय निकाय र बीमा कम्पनीहरूको केटाकेटीपनका कारण कोरोनाको बीमा गरियो । नेपालमा पशुपतिनाथले जोगाउने र कोरोनाबाट धेरै सङ्क्रमण नहुने अपेक्षासहित बीमा प्राधिकरण (तत्कालीन समिति) र बीमा कम्पनीहरूले कोरोना बीमा सुरु गरेका थिए।
प्रतिव्यक्ती ६०० रुपैयाँ तिरेर बीमा गरेपछि एक लाख रुपैयाँसम्मको भुक्तानी दिने नीति कम्पनीहरूले लिएका थिए । सुरुमा नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत र बीमा कम्पनीहरूले ८० प्रतिशत बीमाको आम्दानी र जोखिम बहन गर्ने सम्झौता गरेका थिए । तर, पछि संक्रमितको संख्या बढ्दै गएपछि बीमा प्राधिकरण र नेपाल सरकारले समेत भुक्तानी गर्ने भनियो ।
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालयमा बीमा प्राधिकरण र बीमा कम्पनीलाई बोलाएर सरकार ग्यारेन्टी बस्ने बताएका थिए । एउटा तहसम्म प्राधिकरण र त्यसपछि सरकार नै ग्यारेन्टी बसेपछि कम्पनीहरूले बीमा नीति निरन्तर गरे । तर, सङ्क्रमितको संख्या बढ्दै गएर १३ अर्ब रुपैयाँसम्मको दाबी परेपछि भने कम्पनीहरूले हात उठाए ।
निर्माण व्यवसायी र कृषि बीमाको भुक्तानी
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि बाली तथा पशुधन किसानको बीमा रकम भुक्तानी भइसकेको बताएका छन् । उनले प्रतिनिधिसभामा बोल्ने क्रममा कृषि बीमा बापतको ८० करोड रुपैयाँ भुक्तानीका लागि बीमा प्राधिकरणको खातामा राज्य कोषबाट पैसा पठाइसकेको बताएका हुन् । उनकाअनुसार यससँगै कृषि बीमाको बक्यौता दिइएको छ । ‘३५ जिल्लाका कृषकलाई सरकारले एक सय दिनभित्रै भुक्तानी गरेका छौँ । ती जिल्लाका १५ लाखभन्दा बढी दुग्ध किसानलाई सरकारले भुक्तानी दिइसकेको छ,’ प्रधानमन्त्री ओलीले भने ।
यस्तै, सरकारले निर्माण व्यवसायीको ४० अर्ब रुपैयाँभन्दा बढी बक्यौता समेत तिरिसकेको छ । निर्माण व्यवसायीले राज्यबाट आउनुपर्ने अर्बौँ रुपैयाँ नआउँदा समस्या भएको बताउँदै आएका थिए । उनीहरूका अनुसार निर्माण सम्पन्न भइसकेका आयोजनाको बक्यौता बाँकी हुँदा समस्या परेको थियो । यही कारण, सरकारविरुद्ध चरणबद्ध आन्दोलन समेत घोषणा गरेका थिए । आन्दोलनको घोषणा नै गरेपछि सरकारले उनीहरूको अर्बौँ रुपैयाँभन्दा बढीको भुक्तानी दिइसकेको छ ।
कोरोना बीमाको भुक्तानी खै ?
तत्कालीन बीमा समिति (हालको प्राधिकरण)ले जारी गरेको निर्देशनअनुसार २०७७ वैशाख ७ देखि कम्पनीहरूले कोरोना बीमालेख बिक्री थालेका थिए । अहिले कोरोना बीमा बापत कम्पनीहरूले १० अर्ब ५२ करोड ३२ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बीमा प्राधिकरणको तथ्याङ्क छ । संख्याका आधारमा हेर्दा अहिले करिब १ लाख ११ हजार ९ सय बिमितले भुक्तानी पाउन बाँकी छ ।
भुक्तानी गर्न बाँकी दाबीमध्ये धेरैजसो प्रतिव्यक्ति १ लाख रुपैयाँका बीमा छन् । प्रतिव्यक्ति ५० हजार र उपचार खर्चका आधारमा भुक्तानी हुने दाबी निकै थोरै रहेको जनाइएको छ । २०७७ जेठमा तत्कालीन बीमा समिति, बीमा कम्पनी, पुनर्बिमा कम्पनी र सरकारबीच भएको सहमतिअनुसार कोरोना बीमामा परेको कुल दाबीमध्ये १ अर्ब रुपैयाँसम्मको बीमा कम्पनीहरूले नै भुक्तानी गरे ।
साढे २ अर्बदेखि साढे ३ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी बीमा प्राधिकरण र साढे ३ अर्ब रुपैयाँभन्दा माथिको दाबी भुक्तानी सरकारले बेहोर्ने सहमति थियो । यो सहमतिअनुसार बीमा समिति, पुनर्बिमा कम्पनी र बीमा कम्पनीहरूले तिर्नुपर्ने दायित्व करिब साढे ३ अर्ब रुपैयाँ मात्र हो । मापदण्डअनुसार बीमा समिति, कम्पनी र पुनर्बिमा कम्पनीले भुक्तानी गर्नुपर्ने दायित्व सबै तिरिसकेका छन् । अब भुक्तानी गर्न बाँकी करिब साढे ११ अर्ब रुपैयाँ सरकारको दायित्वअन्तर्गतको मात्रै हो ।
‘कोरोना बीमाको जबाफदेहिता सरकार हो’
नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक शुशील देव सुवेदीले कोरोना बीमाको विषयमा अब सरकारले नै जवाफ दिनुपर्ने बताएका छन् । उनले भने ‘सरकारले कोरोना बीमाको सबै जिम्मेवारी लिइसकेको छ । प्राधिकरणले आफ्नो तर्फबाट सबै गरिसकेको छ । ’उनले भने हामीले कोरोना बीमाको सुरुवात गरेपछि केही समय पछि सही नलागेपछि हामीले रोकेका हौँ। यसमा सरकारले स्वयम् कार्यक्रम नै बनाएर कोरोना बीमाको जिम्मा हामी लिन्छौँ भनेपछि हामीले मानेका हौँ। यसमा सरकारले नै जवाफ दिन्छ ।’
यो पनि
प्रतिक्रिया