नेपाल बैंकबाट बैंक छिरेका पन्थीको राष्ट्रिय जीवन बीमा कम्पनी प्रमुखसम्मको यात्रा

नेपाल बैंकबाट बैंक छिरेका पन्थीको राष्ट्रिय जीवन बीमा कम्पनी प्रमुखसम्मको यात्रा

नमुना के. सी.

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भनिन्छ, सानै उमेरबाट सोचेको सपना कमै व्यक्तिको पूरा हुन्छ । सानोमा के बन्न मन छ भन्दा हामी जो कोहीले पनि डाक्टर, इन्जिनियर, नर्स वा अन्य पेसाको नाम पक्कै लिएका हुन्छौँ । तर, परिस्थिति अनुसार सोचेको र सानोको सपना भने पूरा गर्न सकिरहेका हुँदैनौ । तर, सुन्दर पन्थीको जीवनमा यो कुरा लागू भयो उनले बैंकर बन्ने सपना बोकेर त्यही अनुरूप हिँडिरहे ।

उनले जुन पेशामा लाग्ने योजना बुनेका थिए, अन्ततः त्यही बने । पन्थीको बुझाइमा लक्ष्य पुरा गर्नका लागि लगन र गन्तव्य निर्धारित हुनुपर्छ । ‘जीवनको मोडले जे जस्तो अवस्थामा पुर्याएपनि सोचेको कुरामा इमानदारिता छ भने भाग्यले पनि डोर्‍याउने रहेछ,’ पन्थी भन्छन् । हालसालै समय अघि मात्रै राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका पन्थी आफ्नो अनुभव सँगालेको क्षेत्र छाडेर अर्को क्षेत्र रोज्नु पनि निकै जोखिम रहेको बताउँछन् ।

अर्घाखाँचीमा जन्मिएमा पन्थीले गृह जिल्लामा नै रहेको एक सरकारी विद्यालयबाट स्कुल लेभल पूरा गरेका हुन् । त्यसपछि उनले १२ कक्षासम्मको पढाई भैरहवाबाट र स्नातकसम्मको पढाई पोखराबाट पुरा गरे । पोखराको पीएनसी क्याम्पसबाट बीबीएसको अध्ययन पुरा गरेर उनी एमबीएस अध्ययनका लागि काठमाडौं छिरेका हुन् । काठमाडौं प्रवेश गरेपछि विभिन्न सङ्घर्षहरू पार गर्दै त्रिभुवन विश्वविद्यालयबाट पन्थीले एमबीएस उर्तीण गरे ।

पन्थीसँग वित्तीय क्षेत्रको राम्रो ज्ञान छ । हाल वित्तीय क्षेत्रको सेवामा लागेका पन्थीले जागिरे जीवनको सुरुवात भने होटेल क्षेत्रबाट गरेका हुन् । उनले एक होटेलमा राम्रो तलबबाट काम सुरु गरेका थिए । पन्थीको जागिरे जीवनकै कुरा गर्ने हो भने उनले विद्यालयमा शिक्षकको रूपमा समेत कार्य गरिसकेका छन् । सरकारी विद्यालयबाट पढाई सुरुवात गरे पनि अङ्ग्रेजीमा पोख्त पन्थीले केही समय विभिन्न संस्थामा आबद्ध भएर अङ्ग्रेजी भाषा अध्यापन गराए ।

उनकै भाषामा भन्दा पन्थी सानैदेखि विभिन्न क्षेत्रमा अनुभव बटुल्न रुचाउने स्वभावका थिए । उनलाई जोखिम मोल्न निकै मन पर्थो । यसैक्रममा नेपालको बैंकिङ्ग क्षेत्रमा पनि चुनौती थुप्रै थिए । सो समयमा नेपालको बैंकिङ्ग क्षेत्रको समस्या छुट्टै रहेता पनि नेपाल बैंकलाई क्यापिटल कै पनि चुनौती थियो । उनले नेपाल बैंक प्रवेश गर्दा नेपाल बैंकको रिफर्म हुँदै थियो । सो सम्बन्धी प्रोजेक्टमा पनि पन्थी सहभागी भएका थिए ।

सोहि समयमा पन्थीले नेपाल बैंकमा आवेदन खुलेको जानकारी पाए र आवेदन दिए र छनोट पनि भए । उनी २०६१ सालमा बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका हुन् । ‘करिअर ग्रोथका लागि पनि ग्रोथ भइरहेको क्षेत्र रोज्नुपर्छ भन्ने लागेर बैंक प्रवेश गरेको थिए,’ पन्थी सम्झिन्छन् ।

२०६१ सालमा नेपाल बैङ्कको उपप्रबन्धक पदबाट करिअर सुरु गरेका उनले सोही बैंकमा २० वर्षसम्म काम गरे । त्यस क्रममा उनी उप प्रबन्धक, प्रबन्धक, वरिष्ठ प्रबन्धक हुँदै मुख्य प्रबन्धक भएर काम गरेका थिए । उनले बैंकको विभिन्न विभागमा रहेर समेत काम गरे । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुखकारुपमा नियुक्त भएका पन्थी एक प्रतिष्ठित बैंकरका रुपमा समेत परिचित छन् । उनै पन्थीसँग बैंकिङ्ग समाचारका लागि नमूना केसी गरेको कुराकानीको सम्पादित अंशः


बैकिङ्ग र बीमा आफैँमा अफठ्यारो विषय छ । लामो समय बैकिङ्गमा काम गर्नुभयो अहिले बीमा क्षेत्रमा आउनु भएको छ । अब झनै चुनौती थपिएको महशुस भएको छ ?
बीमा बजारको विकास हुनु भनेको देशको आर्थिक पाटोलाई सहजता हुनु हो । अब बीमा बजारमा भविष्य छ । बीमा बजारमा जनशक्तिको आवश्यकता छ, प्रविधिहरूको प्रयोग बढिरहेको छ । यसमा अब ‘एक्चुरी साइन्स’ बुझेकाहरुको लागि पनि राम्रो अवसर छ । टेक्निकल विषयहरू पनि समावेश भएका हुन्छन् ।

यही कारण, अबको दिनमा अवसरहरू प्रशस्त छन् । अन्य देशमा बीमा बजारमा एकदम राम्रो राम्रो प्रोफेशनल रोजगारी छन् । अब बिस्तारै नेपालको बीमा बजार पनि व्यवस्थित बन्दै जानेछ । बीमाले अनुभवी व्यक्तिहरू खोजिरहेको छ । यही कारण, बैंकिङ्ग क्षेत्रको लामो अनुभव बोकेर म बीमामा आएको हो ।


बैंकिङ्ग र बीमा दुवै देशका मुख्य आर्थिक पाटो हुन् । सुरुमा बैंकिङ्ग र पछि बीमा गरी यी दुई क्षेत्रमा नै काम गर्दा कस्तो अनुभव भइरहेको छ ?
वित्तीय क्षेत्रमा काम गर्दा राम्रो अनुभव भैरहेको छ । बैकिङ्गमा सुरुवाती दिनबाट काम गरिरहेका भएर सिक्दै बुझँदै पोख्त भएको हो । बीमा क्षेत्रको सुरुवातमा बैंकरहरु जसले टेक्निकल कुरा बुझेका हुन्छन् । त्यस्तै व्यक्तिको आवश्यकता पनि थियो । म त्यही अनुरूप प्रवेश भएको हो । सोझो हिसाबले हेर्ने हो भने बैंकर आएर बीमा क्षेत्रमा सहयोग गर्नुपर्ने अवस्था पनि छ । र, म अहिले बैंकमा पनि नेतृत्व तहमा बसेर आएका कारण बीमामा असहज नहुनुपर्ने भन्ने मेरो भनाइ छ।

लामो समय बैंकिङ्ग क्षेत्रमा बसेर बचत गर्नुहोस् भन्दै सर्वसाधारणलाई सिकाउँदै आउनुभयो । बीमालाई लगानी भन्ने या बचत के भन्ने ?
बैंकिङ्ग क्षेत्रमा बचत भनिरहेपनि बीमा र बैकिङ्ग दुवै ग्राहकको लाभ कै लागि भएको भएर दुवै वित्तीय कारोबार नै हुन् । जीवन बीमामा बीमालेख बेच्ने हो । प्रिमियमको हिसाबले यसको आम्दानीको आधार ‘पोलिसी होल्डरर्स’ हुन् । बीमामा बचत वा लगानी भन्दा पनि सुरक्षाको पाटोलाई हेरेर काम गर्ने हो । बीमाले जोखिमको समयमा सहज गराउँछ भन्ने हिसाबले काम गर्ने हो ।


बैकिङ्ग क्षेत्र र बीमा क्षेत्रलाई हेर्ने हो भने सँगसँगै सुरुवात भएको हो । तर, बैकिङ्ग क्षेत्रभन्दा बीमा क्षेत्र अझै पछाडि परेजस्तो देखिन्छ । यस्तो किन भयो ?

बीमा क्षेत्र बिस्तारै सुधारको संघारमा छ । सबैले यो विषयलाई पनि गम्भीर रूपमा लिन थालेका छन् । छिमेकी देशहरूले पनि भर्खरै बीमामा प्रविधि, प्राविधिक विषयको सुरुवात गरेका छन् । नेपालले छिमेकी देशहरूबाट नै सिक्ने हो । यहाँको बीमा बजार केही समय प्रतिस्पर्धा बिना चलिरहेको थियो । जसले नयाँ- नयाँ योजना र विषय थालनी हुन सकेन । अब बीमा बजारले गति लिनुपर्छ र लिन्छ पनि । जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले ३ अर्ब चुक्ता पुँजी पुर्याउँदै गर्दा बजार स्वभाविकरुपमा बढ्छ नै । लगानीसँगै प्राथमिक शेयर (आईपीओ) माध्यममा जान्छ जसले गर्दा अबको ५ वर्षमा यो क्षेत्र राम्रो हुन्छ ।


बीमा कम्पनीहरूले बीमा दाबी दिदैन् भनेर आफैँमा आरोपित छन् । वित्तीय साक्षरताको कमी भएको हो ?
बीमाबारे सर्वसाधारणमा सही सूचना फैलाउन नसकेको मलाई लाग्छ। बीमा गरेपछि बीमा कति मूल्यको हो ? दाबी भुक्तानी लिन कहाँ जाने भन्ने विषयमा सर्वसाधारण जानकार हुँदैनन् । दाबीको कुरा गर्दा समस्या आएपछि कम्पनीहरूले पछि हट्ने वा दाबी नदिने भन्ने होइन । तर, दाबी गर्दा के कसरी गर्ने थाहा नभएको घटनाहरू बढ्दैछन् । आवश्यक कागजपत्र बारे समेत जानकार छैनन् । बीमा कुन कम्पनीमा गरेको छु भन्ने समेत थाहा नभएको घटनाहरू धेरै भेटिन्छन् । जीवन बीमामा झनै अभिकर्ताबाट काम हुने भएकाले दक्ष अभिकर्ताहरू नहुँदा पनि गलत धारणा बीमितमा परिरहेको हुन्छ। अभिकर्ताहरूबाट बीमा गरेपछि यदि त्यो अभिकर्ताहरूले छोडेको अवस्थामा ‘पोलिसी होल्डर्स’सँग बीमा कम्पनीसँग जोडिने कुनैपनि माध्यम हुँदैन।

नेपाल राष्ट्र बैंकको नियमन र निगरानी कडा भएर बैंकले विकास गरेको र बीमा प्राधिकरणले कढाई गर्न नसकेर बीमा पछाडि परेको भन्न सकिएला ?

बीमा प्राधिकरण बिस्तारै नियमनकारीको भूमिकामा अब्बल हुँदैछ । अन्तर्राष्ट्रिय अभ्यासको तुलनामा कम नै हो । अब बिस्तारै सोचेको अनुसारको नियमन गर्नु हुन्छ भन्ने बुझ्न सकिन्छ। राष्ट्र बैंकको कुरा गर्नुपर्दा अन्तर्राष्ट्रिय अभ्यासलाई प्रयोगमा ल्याएर चुनौतीहरूलाई बुझेर बैकिङ्ग क्षेत्रमा तुलनान्तमकरुपमा सुधार भएको हो । तर, यति नै कारणले प्राधिकरणको नियमन कमजोर भन्न मिल्दैन । बिस्तारै अब बीमा बजार पनि प्रभावकारी बन्दै जान्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।