ईएमआईको माध्यमबाट दैनिक प्रिमियम तिर्न सकिने सेवा उपलब्ध गराउँदै ‘बीमा दोकान’

ईएमआईको माध्यमबाट दैनिक प्रिमियम तिर्न सकिने सेवा उपलब्ध गराउँदै ‘बीमा दोकान’


काठमाडौं – समयको मागअनुसार हरेक क्षेत्रले परिवर्तन खोजिरहेको हुन्छ । नयाँ – नयाँ व्यवस्था र नीतिको प्रयोग गर्दै उक्त क्षेत्रको विकास प्रवर्धनको उपाय खोजिन्छ । यस्तै, बीमा क्षेत्रमा पनि समयको मागअनुसार नयाँ व्यवस्था, नीति,योजनाको आवश्यकता भएको देखिन्छ। अन्य क्षेत्रहरूमा जस्तै बीमा क्षेत्रमा पनि विभिन्न किसिमका चुनौतीहरू विद्यमान छन्। नेपालको बीमा क्षेत्रले वित्तीय साक्षरताको कमी, बीमा पोलिसी सरेण्डर, दाबी भुक्तानी लगायतका धेरै समस्याहरू झेलिरहेको छ।

यस्तै, बीमा बजारको समस्यालाई व्यवस्थापन गर्ने हेतुले खुलेको कम्पनी हो ‘बीमा दोकान’ । अभिकर्ता र बीमा कम्पनीहरूले मात्र पोलिसी बेचिरहेको अवस्थामा बीमा दोकानले पनि बीमाको पहुँच बढाउन एक नँया किसिमले काम गरिरहेको छ भन्न सकिन्छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईश्वर श्रेष्ठले बीमा बजारलाई नजिकबाट नियालेका छन् । उनले ठूलो रकममा प्रिमियम तिर्नु पर्नेमा बीमितहरुले सरेण्डर गरेको समस्यालाई औँल्याउँदै दैनिक रूपमा थोरै-थाेरै प्रिमियम तिर्न सकिने व्यवस्थासहित बीमा दाेकान खोलेका हुन्।

सन २०१९ जनवरी २ देखि सञ्चालनमा आएको यो कम्पनीले अनलाइनका साथै भौतिक रूपमै पनि जनशक्ति परिचालन गरेर पोलिसी बेच्ने र बीमा सम्बन्धी चेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ । यसलाई यसरी पनि भन्न सकिन्छ बीमाको पहुँच वृद्धिमा बीमा दोकानको पनि विशेष योगदान छ । यस्तै, विषयहरूलाई समेटेर बीमा दोकानका सीईओ श्रेष्ठसँग बैकिङ्ग समाचारले गरेको कुराकानीको सम्पादित अंश:

बीमा दोकान कस्तो संस्था हो ?
बीमा दोकान एग्रिगेटरको धारणामा खोलिएको संस्था हो । नेपालमा एग्रिगेटरको प्रावधान नभएको कारण हामी संस्थाको रूपमा काम गर्दै छौँ । नियमनकारी निकायबाट चाडै एग्रिगेटरको प्रावधान ल्याउने कुरा छ । त्यसपछाडि हाम्राे कम्पनीलाई एग्रिगेटर भनेर बुझ्न सकिन्छ । यसलाई ब्रोकर कम्पनी पनि भन्न सकिन्छ ।

बीमा दोकानले कसरी काम गर्छ ?
बीमा दोकानको मुख्य उद्देश्य बीमा पोलिसी बेच्ने नै हो । हाम्रो आफ्नै पोलिसी छैन् बीमा कम्पनीहरूको नै पोलिसी बेच्ने हो । साथै, हामीले बीमाको पहुँच बढाउन सहयोग गरिरहेका छाैँ । कुनैपनि कम्पनीको पोलिसी कतिको प्रयोगशील छ भन्ने कुराको मूल्याङ्कन गरेर हामी बीमा गराउने गर्छौँ । हाम्रो लक्षित वर्ग व्यापारीहरू जसले दैनिक कारोबार गरिरहेका हुन्छन् । दैनिक रूपमा पनि बीमाको प्रिमियम तिर्न मिल्ने पनि हाम्रो व्यवस्था हो । जस्तै, कुनैपनि व्यापारीको दैनिक व्यापारबाट १ सय/ २ सय जतिको बीमा गरिएको हुन्छ । त्यसको, प्रिमियम ठुलो रकम नदिए पनि दैनिक रूपमा थोरै-थाेरै प्रिमियम तिर्न सकिने व्यवस्था बीमा दोकानमा गर्न सकिन्छ ।

कम्पनीको मुख्य उद्देश्य के हो ?
हाम्रो मुख्य उद्देश्य भनेको प्रिमियम रकमभन्दा पनि बिक्री पोलिसीको संख्या वृद्धि हो । बीमाको पहुँचमा नभएका व्यक्ति, परिवार र समुदायलाई बीमासँग जोड्नका लागि कम्पनीले ईएमआई मार्फत पनि बीमा गर्न सकिने सुविधा ल्याएको हो । बीमाको बारेमा ग्राहकहरूलाई सहज र सरल ढङ्गले जानकारी दिने उद्देश्य बीमा दोकानको हो । यसका साथै थोरै मात्र आम्दानी भएका व्यक्तिहरूलाई पनि बीमा क्षेत्रमा वा बीमाको पहुँचमा ल्याउन र बीमा सरेन्डरको अनुपातलाई पनि कम गर्दै अगाडी बढिरहेको छ ।


अहिलेसम्म बीमा दोकानले कति ग्राहकहरूलाई बीमामा जोडेको छ ?  कस्तो  प्रतिक्रिया पाउनु भएको छ ?
अहिलेसम्म हामीले १ हजारभन्दा बढी पोलिसीहरु बेचिसकेका छौँ। सबै जनाको प्रतिक्रिया पनि राम्रो छ । सबै कुराको जानकारी गराएर दावी रकम पाउने समयसम्म बीमा दोकानले सहयोग गर्छ । हामीले सकभर रिटनभन्दा पनि कभरेजलाई बढी प्राथमिकता दिन्छौ । जसलाई एकमुष्ट प्रिमियम तिर्न गाह्रो हुन्छ उनीहरूले दैनिक रुपमापनि आफ्नो प्रिमियम तिर्न सक्छन् । यो व्यवस्था सहज भएको धेरेले प्रतिक्रिया दिएका छन्।

तपाईँहरूकाे र अभिकर्ताहरूको काम उस्तै-उस्तै छ । बीमा दोकान र अभिकर्ताहरू बीच फरक के छ ?
अभिकर्ताहरू र बीमा दोकानबीच पहिलो भिन्नता नै संस्था र व्यक्तिगत हिसाबले हेर्न सकिन्छ । बीमा दोकान एउटा संस्था हो जून सधैँभरि रहिरहन्छ । बजारमा सबै जना अभिकर्ताहरूमा निर्भर भएको देखेको छु । बीमितले अभिकर्ताहरू नभएको खण्डमा पोलिसीको बारेमा के गर्ने भन्ने थाहा नहुन् सक्छ ।

संस्था भएर काम गर्दा व्यक्ति नरहे पनि संस्था रहिरहन्छ । अधिकांश अभिकर्ताहरूले बेच्ने पोलिसीहरु भनेको रिलेसनको कारणले बेच्ने गरेको र बीमा पोलिसि रिलेसनको कारणले मात्र नभई बुझेर गर्नुपर्ने भएकोले हामी रिलेसनहरूभन्दा थोरै माथि उठेर ग्राहकहरूलाई उनीहरूको आवश्यकता र आम्दानी अनुसारका बीमा पोलिसीहरु प्रदान गराउँछौ ।

जसको कारण पोलिसि सरेण्डरको अनुपात घटाउन सहयोग पुर्‍याउने विश्वास लिएका छौँ। अर्को कुरा पछिल्लो समय धेरै पोलिसी सरेण्डर भइरहेको छ । यसमा कसरी पोलिसी सरेण्डर कम गर्न सकिन्छ भन्ने कुराको समाधान निकाल्नु बीमा दोकानको काम हो । धेरै प्रिमियम भएको कारण पनि बिमितहरुले बीचमा नै सरेण्डर गरिरहेका छन् । हामीले प्रिमियमको कुरालाई सहज बनाउने हो।

एग्रिगेटर व्यवस्थामा अन्तर्राष्ट्रिय अभ्यास कस्तो पाउनु भयो ?
अन्तर्राष्ट्रियस्तरमा यस्तो व्यवस्था एकदमै धेरै मात्रामा छ । नेपालमा पनि सुरुवात गरेका छौँ । यसमा नियामकहरुले राम्रो प्रतिक्रिया दिनुभएको छ । यसलाई अझै प्रभावकारी रूपमा वृद्धि गर्ने हाम्रो सोच रहेको छ । बीमाको बजारलाई प्रभावकारी बनाउने हो भने यस्तो सूक्ष्म किसिमको समस्यालाई निराकरण गर्ने व्यवस्था लागू गर्नुपर्छ ।