काठमाडौं – जीवनमा सुख र दुःखको समय चलिरहन्छ । यी जीवनका दुई पाटा हुन् । दुःख भयो भन्दैमा हार खाने र सुखमा मातिने गर्न हुँदैन । समस्या आउँदैमा सफलताको सपना बुन्न छाड्न हुन्न । तपाईँ हामीले देखिरहेका धेरै मानिसहरू विभिन्न परिस्थितिमा धैर्यता राखेर चुनौतीलाई सफलतामा परिणत गर्नेहरू छन् । यिनै व्यक्तिहरूको सूचीमा सिटिजन लाइफ इन्स्योरेन्सका बालाजु क्षेत्रका क्षेत्रीय प्रमुख विष्णु सापकोटा समेत पर्छन् ।
सापकोटाले विगतको लामो समय जागिरको खोजीमा बिताउनुपर्यो । २०४४ सालमा नुवाकोटको विदुर नगरपालिकामा जन्मेहुर्केका सापकोटाले ग्रामीण विकास विषयमा स्नातक तहसम्मको अध्ययन गाउँमै सके । त्यसपछि भविष्यको खोजीमा काठमाडौं छिरेका सापकोटाका सुरुवाती दिन कठिनाइसाथ बितेपनि यतिबेला बीमा कम्पनीको बालाजु कार्यालयका प्रमुख छन्। उनै सापकोटासँग बीमा क्षेत्रको अनुभवसँग सम्बन्धित विषयमा गरिएको कुराकानीको सम्पादित अंशः–
बीमा क्षेत्रमा कसरी जोडिनु भयो ?
म सानैदेखि पढाइमा अब्बल थिए । विद्यालयस्तरमा हुने प्रत्येक कार्यक्रममा सहभागिता जनाउने, सहयोगी भावना राख्ने गर्थे । जन्मथलोमा रोजगारी पाउन मुस्किल भएपछि भविष्यको खोजीमा राजधानी काठमाडौं छिरे । सुरुवाती दिनमा नातेदारसँग बसियो र रोजगारीको सिलसिलामा धेरै भौँतारिए । धेरै पटक सरकारी अस्पतालको खालि बेडमा रात बिताएका अनुभव पनि छन् । धेरै सङ्घर्षपछि अध्यापनको जागिर पाए पनि रुचि नभएका कारण निरन्तरता दिन कठिनाइ भयो ।

अध्यापन गर्दागर्दै प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारी खुलेको जानकारी पाए र अन्तर्वार्ता दिएर नाम निकाले । २०६६ सालमा साबिक प्राइम लाइफ इन्स्योरेन्समा साढे ३ वर्ष जति शाखा प्रमुख भएर आफ्नो जिम्मेवारी सम्हालेपछि २०६९ सालमा शाखा प्रमुख बन्दै नेपाल लाइफमा सुरु गरेर ८ वर्ष बिताए । त्यसपछि २०७६ सालबाट सिटिजन लाइफमा फरक जिम्मेवारीको भूमिकामा रही काम गर्ने मौका पाए र निरन्तरता दिइरहेको छु ।
बीमा क्षेत्रमा नेतृत्व गर्दा कस्तो अनुभव भइरहेको छ ?
म आफ्नो क्षेत्रका ८ शाखा कार्यालयको निगरानी तथा सुपरिवेक्षण गरिरहेको छु । बीमा क्षेत्रमा लागेपछि उत्कृष्ट अनुभव बटुलिरहेको छु । बीमामा सबैको पहुँच विस्तार गर्न आफ्नो क्षेत्रका विभिन्न ठाउँमा गएर बीमा शिक्षा र बीमा सचेतना वृद्धि हुने खालका अभियान सञ्चालनमा समेत ध्यान दिइरहेको छु । सबै खाले सोच राख्ने व्यक्तिहरूसँग भेट्न पाउने भएकाले यो क्षेत्रले सन्तुष्टि दिइरहेको छ ।
तपाईँको डेढ दशकको अनुभवअनुसार जीवन बीमा कसका लागि आवश्यक छ ?
जीवन बीमा कुनै वर्ग वा समुदायलाई मात्र नभएर सबैलाई आवश्यक विषय हो । बीमाको लाभ तत्काल नदेखिने भए पनि गरेको लगानीबाट पैसा, लाभांश र जोखिम ‘कभर’ पनि हुन्छ । मैले बटुलेको अनुभवअनुसार न्यून मध्यम वर्गीय, मध्यम वर्गीय र उच्च आय भएका गरी सबै मानिसहरूलाई बीमा सचेतना फैलाउँदै प्राथमिकतामा राख्नुपर्छ ।
तपाईँले चाहिँ बीमाबाट के लाभ–हानी वा उपलब्धि पाउनुभयो ?
बीमाले धेरैको जीवनमा आर्थिक जोखिमको सुरक्षाको काम गर्दै आइरहेको छ । सबैलाई जोखिमको समयमा साथ दिने गर्छ । बीमामा लागेपछि आर्थिकसँगै सामाजिक लाभ समेत पाएको अनुभव गर्छु । यस्तै, परिवारले समेत यो क्षेत्रमा लागेपछि राम्रो साथ दिइरहेको छ । कम्पनीबाट २०७९/८० मा उत्कृष्ट क्षेत्रीय प्रमुखको सम्मान पाएको थिए । यसबाहेक, विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय तालिममा सहभागितासँगै पुरस्कृत हुने मौका समेत पाइयो । जसबाट, आफ्नो क्षमता अभिवृद्धिमा थप सहज बनेको भान हुन्छ ।
साक्षर जनसङ्ख्याले समेत बीमालाई ध्यान दिन छाडेका छन् ।
न्यून साक्षरहरूले त ध्यान दिने कुरै भएन । साक्षर जनसङ्ख्यालाई समेत बीमाको चेतना फैलाउन नसकेको जस्तो देखिन्छ, हैन?
यसमा मलाई के लाग्छ भने हाम्रो शिक्षा प्रणालीमा नै सुधारको खाँचो छ । डिग्री सकेका व्यक्तिहरूले नै बैंकको कागजात विवरण भर्न जान्दैनन् र सुरक्षाकर्मीलाई सोधेको देख्न सकिन्छ । न्यून शिक्षा हासिल गरेका सुरक्षाकर्मीले विवरण भर्ने र डिग्री सकेकाले नसक्ने स्थिति छ । यसको अर्थ नेपालको शिक्षा प्रणालीमा सुधारको आवश्यक छ । यस्तो अवस्थामा पढेकाहरूले बीमा बुझ्छन् भन्ने श गर्नु मूर्खता नै हो । तर, कोही बुझेन पनि छन् जसले जीवमा जरुरतको हिसाबले गरेका पनि छन् । बीमा बुझाउन पनि हामीले मिहिनेत गरिरहेका हुन्छौ । यस्तो अवस्थामा बुझेन वर्गले पनि चासो नदेखाएको पाएका छौँ ।
अभिकर्ताले ‘मिससेलिङ्ग’ गरिरहेका छन् । जस कारण, ‘सरेण्डर’ बढ्दो अवस्थामा छ । यसबाट दक्ष अभिकर्तासँगै कम्पनीमाथि नै प्रश्न उठेको छैन र ?
बीमा गरेपछि दोब्बर फिर्ता आउँछ भन्ने भ्रम अभिकर्ताले फैलाइरहेका छन् । तर, यो काम न्यून चेतना भएका अभिकर्ताले गरिरहेका छन् । यो गम्भीर विषय हो । बीमाका जानकारले सर्वसाधारणलाई दिने ज्ञानअनुसार उनीहरूको बुझाई बन्ने हो । त्यसैले सुरुमा बीमा गरेपछि लाभांश न्यून आएको लगायतका गुनासा सुन्न पाइन्छ । अभिकर्ताले बीमा गर्दा भ्रमको खेती गर्नुको साटो बीमालेखबारे सर्वसाधारणले बुझ्ने गरी काम गर्नुपर्छ । केही अभिकर्ताका कारण बीमा क्षेत्रले बदनामी खेप्नुपरेको कुरा सत्य हो ।

चुनौतीलाई स्वीकार गर्न सक्ने अभिकर्ता कसरी हुन् सकिन्छ ?
जीवन बीमा क्षेत्रमा अभिकर्ताहरूको चर्चा भइराख्ने गरेको छ । अभिकर्ताहरू पनि जिम्मेवारी र यस विषयमा गम्भीर भयो भने क्रसैले पनि प्रश्न उठाउन सक्दैनन् । अभिकर्ता सबल र सक्षम भएर मात्र बजारमा जानुपर्छ । अभिकर्तालाई कम्पनीले पनि समय–समयमा क्षमता अभिवृद्धि तालिम दिनुपर्छ । अभिकर्ताहरू बीमा क्षेत्रको प्रमुख पात्र हुन् । त्यसैले अभिकर्तामा धेरै ज्ञान हुनुपर्छ र क्षमता बनाएर बीमा बजारमा बीमा बेच्न जानुपर्ने हुन्छ । व्यावसायिक रूपमा सबै अभिकर्ताहरूले काम गर्नुपर्ने हुन्छ । गलत प्रचार गर्नु भएन तब मात्र बीमाको पहुँच पनि बढ्छ ।
देशमा केही सम्भावना छैन भन्नेहरूको जमात बढ्दो छ । यही कारण, बिदेसिने युवाहरूको संख्या बढ्दो छ । बिदेसिन चाहने थप युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
कुनै एउटा काममा सोचेअनुरुपको नतिजा नआउनसाथ बिदेसिने चाहना युवाहरूमा बढ्दो छ । विदेशमा आर्थिक उपार्जन र भविष्य छ भन्ने भाष्य बढिरहेको छ । तर, नेपालबाहिर अन्य देशमा विशेष क्षमताविना आर्थिक उन्नति सहज छैन । नेपाली युवा जनशक्तिमा पढेलेखेको छु, विदेशमा सहजै काम पाइन्छ भन्ने सोच छ । अरूलाई गाली गर्ने र गुनासो गर्ने प्रथा हाबी भइरहेको छ। युवाहरूले आफ्नो रुचिअनुसारको पेसामा लागेमा बिदेसिने चाहनाबाट मुक्त हुन सक्छन् ।
तपाईँकाअनुसार बीमामा युवाहरूको भविष्य कस्तो छ ?
हामी डक्टर, इन्जिनियर लगायतलाई मात्रै प्राविधिक काम भन्छौँ । । तर, बीमा पनि उच्च प्राविधिक क्षेत्र हो । यसमा धेरै युवाहरूको लागि अवसर छ । बीमामा निरन्तरता दिँदा मान सम्मान र आर्थिक उर्पाजन समेत राम्रो हुन्छ । यसको लागि धैर्यता र निरन्तरता आवश्यक छ । बीम क्षेत्रमा १५ वर्ष काम गरेको म सिक्दै छु । यो सिक्ने क्रम वर्षौँ चल्छ । बीमाले सबैलाई लाभ हुन्छ र बीमा पेसामा लागेपछि जीवन सहज हुन्छ ।

अन्त्यमा, बीमाको पहुँच बढाउन के गर्न सकिन्छ ?
सबै पालिका र वडा तहसम्म र स्थानीय क्लब, टोल सुधार समिति, महिला समूह, कृषि समूहहरूमा बिमाबारे चेतना फैलाउनुपर्छ। जीवन बीमाको साक्षरता नियामक निकाय र बीमा कम्पनीहरूले पढाउनपर्छ। ग्राहकले जीवन, निर्जीवन र स्वास्थ्य बीमाबाट पाउने सुविधा पाएन भने सबै बीमा एउटै हो भनेर बुझ्दछन्।
शिक्षित समाजले पनि जीवन, निर्जीवन, स्वास्थ्य बीमा एउटै हो भन्ने बुझ्दै आएका छन्। संघीय सरकारको स्वास्थ्य बीमामा देखिएका केही असहजताले पनि बीमालाई प्रभावित बनाउँछ। यसबाहेक, कोरोना बीमाको भुक्तानी नपाउँदा जीवन बीमाको विश्वसनीयता घटेको छ। यो कुरामा राज्य गम्भीर बन्नुपर्छ ।
प्रतिक्रिया