वाणिज्य बैंकहरूले ६ महिनामा तिरे १२ अर्ब बढी आयकर, कुन बैंकले कति ?

वाणिज्य बैंकहरूले ६ महिनामा तिरे १२ अर्ब बढी आयकर, कुन बैंकले कति ?


काठमाडाैं – चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा वाणिज्य बैंकहरूले १२ अर्ब बराबरको आयकर सरकारलाई तिरेका छन् । वाणिज्य बैंकहरूले पुस मसान्तसम्म १२ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ आयकर बुझाएका हुन् । जुन गत आर्थिक वर्षको तुलनामा ०.२४ प्रतिशत कम हो । गत आर्थिक वर्षको पुससम्म बैंकहरूले कुल १२ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ आयकर बुझाएका थिए ।

समीक्षा अवधिमा नबिल बैंकले सबैभन्दा धेरै आयकर तिरेको देखिन्छ । सो अवधिमा बैंकले एक अर्ब ३९ करोड २१ लाख ४५ हजार रुपैयाँ कर तिरेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब २१ करोड ७६ लाख ७२ हजार रुपैयाँ, प्रभु बैंकले एक अर्ब १८ करोड ७४ लाख ३५ हजार रुपैयाँ आयकर तिरेको छ ।

यसैगरी, ग्लोबल आईएमई बैंकले एक अर्ब १५ करोड २२ लाख रुपैयाँ, एभरेष्ट बैंकले एक अर्ब तीन करोड २० लाख ४१ हजार रुपैयाँ, एनएमबी बैंकले ८३ करोड ५५ लाख रुपैयाँ, प्राइम कर्मशियल बैंकले ७९ करोड २३ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७० करोड ३१ लाख रुपैयाँ, हिमालयन बैंकले ६५ करोड २८ लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंकले ५० करोड ७५ लाख रुपैयाँ आयकर तिरेका छन् ।

यस्तै, सानिमा बैंकले ४५ करोड ७१ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ४४ करोड ३० लाख रुपैयाँ, कुमारी बैंकले ४१ करोड ४६ लाख रुपैयाँ, कृषि विकास बैंकले ३९ करोड पाँच लाख ६३ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकले ३४ लाख ५९ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३२ करोड ७० लाख रुपैयाँ, सिटिजन्स बैंकले २६ करोड ८४ हजार रुपैयाँ, सिद्धार्थ बैंकले २३ करोड २४ लाख ५४ हजार रुपैयाँ र एनआईसी एशिया बैंकले छ करोड ५० लाख २७ हजार रुपैयाँ आयकर तिरेका छन् । नेपाल बैंकको भने आयकर बापत तिर्नुपर्ने रकम चार करोड २५ लाख ४४ हजार रुपैयाँ ऋणात्मक छ ।

तथ्यांकअनुसार एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अर्बमाथिको कर तिरेका छन् । यी बाहेकका १५ वटा बैंकले भने करोडमा कर तिरेका छन् । यस्तै, सिटिजन्स बैंक, हिमालयन बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, सानिमा र स्ट्यान्डर्ड चार्टर्ड गरी ११ वटा बैंकले गत वर्षको तुलनामा चालू आवको पुस मसान्तमा कम कर तिरेका छन् ।

बाँकी ८ वटा बैंकले भने गत वर्षको तुलनामा चालू आवको सोही अवधिमा बढी कर तिरेका छन् । चालु आवमा गत वर्षकाे साेही अवधिकाे तुलनामा एनआईसी एशिया बैंकले ९० प्रतिशत र नेपाल बैंकले १२४ प्रतिशत कर तिरेका छन् । यस्तै, नबिल बैंकले पुस मसान्तसम्म गत वर्षकाे तुलनामा ५.५७ प्रतिशत कर तिरेको छ । यसैगरी, गत वर्षको सोही अवधिकाे तुलनामा ग्लोबल आईएमई बैंकले ४७.४५ प्रतिशत, एभरेष्ट बैंकले ४०.५७ प्रतिशत, लक्ष्मी सनराइजले २८.८१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५६.२८ प्रतिशत, नेपाल एसबीआई बैंकले १४.९२ प्रतिशत, एनएमबी बैंकले ४८.०२ प्रतिशत, प्राइम कमर्सियल बैंकले २४.४९ प्रतिशत र प्रभु बैंकले ६३.३८ प्रतिशत बढीले आयकर तिरेका छन् ।